७ माघ २०८१ सोमबार
image/svg+xml
समाज

चितवनमा युवक कुट्ने असई निलम्बित

चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडक खण्डमा सवारी जाँचका क्रममा युवक कुट्ने प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर भुजेल  निलम्बित भएका छन्।

घटनाको विषयमा छानबिनका लागि भुजेललाई निलम्बित गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिनेशकुमार आर्चायले जानकारी दिए। उनले भने, 'घटना बाहिर आएपछि छानबिनका लागि हामीले उहाँलाई निलम्बित गरेका छौँ।' 

चितवन प्रहरीका अनुसार यो घटना पुस १५ रातिको हो । राति १० बजेतिर त्यहाँ प्रहरी ‘मापसे’ चेकिङमा थियो। कुटपिटमा परेका युवा बसपार्कबाट आँपटारीतर्फ गइरहेका बेला प्रहरीले रोकेर चेकजाँच गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञानकुमार महतोले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

भाइरल कुटपिट: ‘माथिको पावर देखाउँदा’को प्रहरी आक्रोश, घटना पुस १५ गतेको

‘गणेशस्थानमा रहेको अस्थायी प्रहरी पोष्टबाट खटिएको टोलीले राति सवारी साधन चेकजाँच गरिरहेको थियो । त्यही बेला ६ वटा मोटरसाइकल र स्कुटरमा एक टोली आउँदै रहेछन्,’ डिएसपी महतोले भने, ‘अरू भागेछन् । कुटिएका युवाहरूलाई रोक्न सकिए छ। नियन्त्रण लिने क्रममा ड्युटी र ती युवाहरूबिच भनाभन हुँदा त्यो घटना भएको देखिन्छ।’

भाइरल भिडिओमा आक्रमणमा उत्रिएका प्रहरी ती युवकमाथि ‘माथिको पावर देखाएको’ भन्दै आक्रोशित सुनिन्छन् । प्रहरीले युवकलाई लात्तीले हानेर लडाएर फेरि पनि लात्तैलात्ताले हानेका छन् ।

यो पनि पढ्नुहोस्

प्रहरीद्वारा निर्घात कुटपिट भिडिओ: छानबिन समिति गठन गरेर कारबाही प्रक्रिया सुरु

जिल्ला प्रहरी कार्यालयले भिडिओ आएपछि घटना छानबिनका लागि डिएसपी महतोको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

प्रकाशित: ७ माघ २०८१ १३:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App