यति बेला सामाजिक सञ्जालमा एक युवकमाथि प्रहरीले निर्घात कुटपिट गरेको भिडिओ भाइरल छ। आइतबार साँझबाट यो भिडिओ भाइरल भएको हो। घटना चितवनको भरतपुर महानगरपालिका–११ बसेनी चोकमा घटेको प्रहरीले जनाएको छ।
तर, घटना भने हिजो अस्ति वा एक दुई दिन अघिको नभएको प्रहरीले जनाएको छ। चितवन प्रहरीका अनुसार यो घटना पुस १५ रातिको हो । राति १० बजेतिर त्यहाँ प्रहरी ‘मापसे’ चेकिङमा थियो। कुटपिटमा परेका युवा बसपार्कबाट आँपटारीतर्फ गइरहेका बेला प्रहरीले रोकेर चेकजाँच गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञानकुमार महतोले जानकारी दिए ।
‘गणेशस्थानमा रहेको अस्थायी प्रहरी पोष्टबाट खटिएको टोलीले राति सवारी साधन चेकजाँच गरिरहेको थियो । त्यही बेला ६ वटा मोटरसाइकल र स्कुटरमा एक टोली आउँदै रहेछन्,’ डिएसपी महतोले भने, ‘अरू भागेछन् । कुटिएका युवाहरूलाई रोक्न सकिए छ। नियन्त्रण लिने क्रममा ड्युटी र ती युवाहरूबिच भनाभन हुँदा त्यो घटना भएको देखिन्छ।’
कुटिएका व्यक्तिले मापसे सेवन गरेर मोटरसाइकल चलाएको डिएसपी महतोले बताए । उनी को थिए ? भनेर परिचय खुलाउन भने महतोले मानेनन् । तर पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याइ सजाय भुक्तान गराएर पठाएको बताउँछन् ।
‘स्वास्थ्य परीक्षण गर्दा मापसे सेवन गरेको भेटिएको थियो । अरू कुनै चोटपटक देखिएको थिएन,’ उनले भने । यता उनीमाथि कुटपिट भएको विषय जिल्ला प्रहरी कार्यालयले आइतबार साँझ मात्र थाहा पाएको उनले बताए ।
भाइरल भिडिओमा आक्रमणमा उत्रिएका प्रहरी ती युवकमाथि ‘माथिको पावर देखाएको’ भन्दै आक्रोशित सुनिन्छन् । प्रहरीले युवकलाई लात्तीले हानेर लडाएर फेरि पनि लात्तैलात्ताले हानेका छन् ।
जिल्ला प्रहरी कार्यालयले भिडिओ आएपछि घटना छानबिनका लागि डिएसपी महतोको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।
प्रकाशित: ७ माघ २०८१ १२:४१ सोमबार