हाँस्य कलाकार सागर लम्साल 'बले' माथि अमेरिका बस्दै गरेकी युवतीले जबरजस्ती करनीको आरोप लगाएपछि लम्साल शनिबार पक्राउ परिसकेको अवस्थामा कलाकार दीपकराज गिरीले यस विषयमा प्रतिक्रिया दिँदा संयमता अपनाउन आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गिरीले ब'लात्कार जस्तो गम्भीर र संवेदनशील विषयमा टिप्पणी गर्दा शब्दहरूको छनोटमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरेका छन्।
दीपकराज गिरीले लेखेका छन्, -"ब'लात्कार जस्तो विषयमा हामीले आफ्नो धारणा राख्दा एकदमै होसियार हुनुपर्छ! किनकि एउटा गलत शब्दले पीडित पक्षलाई झन् ठूलो चोट दिन सक्छ।" उनले सार्वजनिक बहसका क्रममा प्रयोग हुने भाषाले पीडितको घाउमा थप चोट पुर्याउन सक्ने तर्फ सचेत गराएका छन्।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको तीव्र प्रतिक्रिया तथा आलोचना बीच उनले न्यायको पक्षमा उभिन तर आफैँ फैसला नसुनाउन आग्रह गरेका छन्। उनले थपे- "न्यायको लागि आवाज उठाऔँ, आफैँ न्यायाधीश नबनौँ,"।
प्रकाशित: २१ चैत्र २०८२ २१:०७ शनिबार





