रौतहट सदरमुकाम गौर नगरपालिका-२ मा रहेको पुरानो बानेश्वरनाथ महादेव मन्दिरपरिसरमा करिब सात सय वर्ष पुरानो संरचना भेटिएको छ। पुरातत्व विभाग र गौर नगरपालिकाको समन्वयमा भइरहेको उत्खनन तथा अध्ययन क्रममा चालीस इन्च चौडा गारो भएको घरको संरचना फेला परेको दाबी गरिएको छ।
पुरातत्व विभागका पुरातत्वविद् देवेन्द्रनाथ तिवारीको नेतृत्वमा गत दुई हप्तादेखि गरिरहेको अध्ययन, अनुसन्धान तथा उत्खननका क्रममा शताब्दीयौं पुरानो संरचना फेला परेको हो। पुरातत्वविद् तिवारीले नेपालमा पहिलोपटक इँटामा मानिसको हातको औंलाको छाप भएको चिन्ह भेटिएको बताएका छन्।
तिवारीले भने, नेपालकै लागि यो एउटा उपलब्धि हो। अहिलेसम्म नेपालमा आफूले कुनै पनि संरचनामा नदेखेको कुरो यहाँ देखिएको छ।’
गौर नगरपालिकाका प्रमुख शम्भु साहले विगत दुई वर्षदेखि पुरातात्विक विभागमा उत्खननका लागि औपचारिक प्रयास गरेका थिए। नगरपालिकाकै लगानीमा पुरातत्व विभागद्वारा अध्ययन तथा उत्खनन भइरहेको छ।
उत्खनन गर्दा सिम्रौनगढकै राजाको समयका इँटाहरू प्राप्त भइरहेको बताइएको छ। स्थानीयले पनि राजा सेवई सिंहको पालाको महादेव मन्दिर रहेको बताउने गरेका छन्। मन्दिरको ऐतिहासिकताको विषयमा ठोस कुरा जान्नुपर्ने माग उठेपछि नगर परिषद्बाट पास गराएर नगर प्रमुख साहले औपचारिक अनुसन्धान थालेका छन्।
पुरातत्वविद् तिवारीले उत्खननमा महत्वपूर्ण उपलब्धि प्राप्त भएको बताए। चार फिट तल उत्खनन गर्दा गारो फेला परेको छ। त्यसमा प्रयोग भएका इँटा अट्ठाईस सेन्टिमिटर लम्बाइ, २० सेन्टिमिटर चौडाइ र ६ सेन्टिमिटर बाक्लो रहेको जानकारी दिँदै यो इँटा सिम्रौनगढको तत्कालीन साम्राज्यका समयका झन्डै सात सय वर्ष पुरानो इँटा रहेको उनले स्पष्ट पारे।
मन्दिरपछाडि विश्वकर्मा मन्दिरको दक्षिणतर्फ उत्खनन गर्दा पाँच दिनसम्म खास केही नभेटिएको तर त्यसपछि महत्वपूर्ण अवशेष भेट्न थालिएको बताए। बाटोछेउमा खन्दा माटोका पुतला प्रशस्त पाइयो र मन्दिरको पूर्वतर्फ अगाडिपट्टि चार फिट खन्दा सात सय वर्ष पुरानो इँटाले बनाइएको गारो भेटिएको बताए। यी सबै गौर नगरका प्रमुख शम्भु साहको प्रयास र मेहनतका कारण परिणाम सबैसमक्ष रहेको बताए।
यस विषयमा नगर प्रमुख साहले गौरमा बाणेश्वर, शिवालय र सोवर्णामाई मन्दिर धेरै पुरानो भएको र उत्खनन गर्दा केही पुराना भग्नावेश प्राप्त हुनेछ। तर निकै प्रयासपश्चात् पुरातत्वविद्हरूको रोहबरमा निरीक्षण भएपछि तीन सदस्यीय टोलीले यहाँ अनवरत उत्खनन गर्दा सफलता पाइएकोमा खुसी व्यक्त गरे। उत्खनन कार्य जारी छ।’
प्रकाशित: २४ पुस २०८१ ०९:१८ बुधबार