२३ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

अब विकट रहेन ‘गूर्जा गाउँ’

गूर्जामा सडक पुगे म्याग्दीका ४५ वटै वडामा सडक पुग्ने

धवलागिरि गाउँपालिका–१ गुर्जा र वडा नं २ लुलाङको सिमाना पर्ने देउरालीमा पुगेको सडक । तस्बिर: झकबहादुर छन्त्याल

म्याग्दीमा एउटा पुरानो उखान निकै प्रचलित छ । ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन’ । म्याग्दी जिल्लाको अति विकट धवलागिरि गाउँपालिका–१ गुर्जा गाउँको अवस्था, विवशता र बाध्यतालाई तोड्न अब सडक सञ्जाल गाउँमै पुग्ने भएको छ । प्रकृतिले अनुपम सुन्दरता र सम्पदा खन्याइदिएको सदरमुकाम बेनीबाट करिब २६ कोस पश्चिमा अल्पसंख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गूर्जा यातायातको पहुँचबाट निकै टाढा हिमालको फेदमा अवस्थित छ।

गूर्जा गाउँलाई सडक सञ्जालले जोड्न लुलाङ र गूर्जाको सिमाना देउराली धुरीसम्म ट्रयाक (मार्ग) खुलेको हो। संघीय, गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाको प्राथमिकतामा रहेको सडक खण्ड अन्तरगत लुलाङबाट देउरालीसम्म छ किलोमिटर मार्ग निर्माण भएको धवलागिरि गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताए। ‘गाउँपालिकाको गौरवको योजना हो, सडक सञ्जालले गूर्जाको सम्भावनाहरू उजागर गर्नेछ’ गाउँपालिका अध्यक्ष पुनले भने।

संघीय, प्रदेश र गाउँपालिकाबाट चार करोड बजेट विनियोजन गरेको लुलाङ–गुर्जा सडक योजनाका लागि रारा तेन्जिन कन्ट्रक्सनले तीन करोड ८० लाखमा ठेक्का सम्झौता गरेको थियो।गाउँपालिकाको केन्द्र मुना हुँदै आव २०७९/८० मा गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा लमसुङबाट लुलाङ हुँदै ४ किलोमिटर ४ सय मिटर सडकको मार्ग निर्माण भएकोमा अब छिटै गूर्जाबाटै सवारीसाधनमा चढेर गन्तव्यसम्म पुग्न सकिने गूर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए । ‘गूर्जाबासीको सपना पूरा हुदैछ, अब एकैदिनमा सदरमुकाम बेनीबाट गुर्जा पुगिन्छ, स्थानीय उत्पादनले पनि बजार पाउँछ’ अध्यक्ष छन्त्यालले भने।

गाउँपालिकाको केन्द्र मुनाबाट एक दिनमा पुगिने गूर्जा अब सवारीसाधनमा ३ घण्टामै सहजै पुग्न सकिन्छ भने लुलाङबाट देउरालीसम्म पुग्न उकालोमा चार घण्टा हिँड्नुपर्नेमा अब आधा घण्टामै छोटिएको अध्यक्ष छन्त्यालको भनाई छ। अहिले ट्याक खुलेपछि बोलेरो, ट्याक्टर र मोटरसाइकलमा स्थानीयवासी आवतजावत गर्ने गरेका छन् । 

देउरालीबाट गूर्जातर्फ सडक निर्माणका लागि चालु आवमा संघीय सरकारले दुईवटा शीर्षकमा एक करोड ३५ लाख, प्रदेश सरकारले ५० लाख र गाउँपालिकाले ३५ लाख विनियोजन गरेको छ। गूर्जा जोड्ने सडकमा पर्ने लमसुङस्थित दरखोलामा प्रदेश सरकारले २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको छ। दशकौँदेखि राज्यको सेवा सुविधा र पहुँचबाट टाढा रहेको गूर्जामा सडक सञ्जाल पुगेपछि ग्रामीण पर्यटनको प्रचुर सम्भावना, बहुमूल्य खानी, जडीबुटी र जैविक विविधताको सदुपयोग हुने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताए ।

‘यहाँका सम्भावनामा लगानीको आवश्यकता छ, अब गूर्जामा उत्पादन हुने बस्तुलाई सहज हुनेछ, स्वदेशी पर्यटकको पहुँच समेत बढ्नेछ’ अध्यक्ष श्रेष्ठले भने । ग्रामीण पर्यटन अन्तर्गत रुकुम र बागलुङ जोड्ने बस्तीहरूलाई समेटेर पदमार्ग समेत विस्तार गरिएकाले ग्रामीण क्षेत्रमा पदयात्रा गर्न जिल्लाकै उत्कृष्ट गन्तव्य बन्ने पर्यटन व्यवसायीको भनाई छ । जिल्लामा लुकेको बस्तीको परिचयले समेत चिनिने गूर्जामा २ सय ३० घरधुरीमा रहेको छ । यहाँका बासिन्दा बिरामी हुँदा महँगोमा हेलिकप्टरमा यात्रा गर्नुपर्ने बाध्यता थियो । म्याग्दीको ६ वटा स्थानीय तहका ४५ वडामा सडक सञ्जाल नजोडिएको गूर्जा मात्रै थियो ।

प्रकाशित: १६ पुस २०८१ १८:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App