८ पुस २०८१ सोमबार
image/svg+xml
समाज

नरसिंह गाउँपालिकामा निःशुल्क बोरिङ वितरण

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर वार्षिक बजेट, नीति तथा कार्यक्रम तय गरिरहेको अवस्थामा यस वर्ष निःशुल्क बोरिङ वितरण र ५० प्रतिशत अनुदानमा विद्युतीय मोटर उपलब्ध गराउने भएको छ। यसबाट पाँच सय किसानले प्रत्यक्ष लाभ लिने छन्।

गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले किसानहरूको समस्यालाई प्राथमिकतामा राख्दै सिँचाइको क्षेत्रमा सुधार गर्न निरन्तर काम भइरहेको बताए। अन्न उत्पादनको उर्वर भूमि मानिएको यहाँ सिँचाइ सुविधा उपलब्ध भएपछि किसानहरू स्वाभाविक रुपमा आत्मनिर्भर र उत्पादनमा वृद्धि हुनेछ । गाउँपालिकाका कृषि शाखाका अनुसार किसानहरूले सिँचाइ सुविधाका लागि आवश्यक पर्ने प्रक्रिया पूरा गरेर छिट्टै मोटर र बोरिङको सेवा पाउने छन्। 

भोक्राहा नरसिंह गाउँपालिकाले अघिल्लो आर्थिक वर्ष बाली तथा पशुपन्छी बीमालाई निःशुल्क बनाउने भएको छ। किसानलाई प्रोत्साहनका लागि बाली तथा पशुपन्छीमा बीमा निः शुल्क हुने व्यवस्था मिलाएको प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले बताए। यस गाउँपालिकाका किसानलाई प्रधानमन्त्री कृषि योजनाबाट माछा पालन, मकै पकेट र तरकारीमा अनुदान पनि निरन्तर रुपमा दिइँदै आएको अधिकृत घिमिरेले बताए। गाउँपालिकाले किसानलाई जैविक मल बनाउन पनि सिकाएको छ। यस्तै, किसानलाई विषादी छर्कने उपायबारे आठ वटै वडामा आवश्यक टिप्स दिएको छ । कुन माटोमा कुन बाली राम्रो हुन्छ त्यसबारे पनि किसानलाई आवश्यक ज्ञान दिएको गाउँपालिकाले जनायो।

भोक्राहा नरसिंहसति सुनसरीका १२ वटा स्थानीय तहले प्रत्येक वर्षको नीति–कार्यक्रम र बजेटमा कृषि तथा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्दै आएका छन्। जिल्लामा रहेका दुईवटा उपमहानगरपालिका इटहरी र धरानले कृषिसँगै पर्यटनलाई बजेट र नीति–कार्यक्रममा अग्रणी प्राथमिकतामा राख्ने गरेका छन्। यस्तै, वराहक्षेत्र र रामधुनी नगरपालिकाले पर्यटन क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेका छन् भने दोस्रो प्राथमिकता कृषिलाई राखेका छन्। इनरुवा र दुहवी नगरपालिकाले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिए कार्यान्वयन गरी रहेको छ। यस्तै, गढी, कोशी, हरिनगर, देवानगञ्ज र  बर्जु गाउँपालिकाले पनि कृषि क्षेत्रलाई प्राथमिकता राखेको छ। 

प्रकाशित: ८ पुस २०८१ १८:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App