५ पुस २०८१ शुक्रबार
image/svg+xml
समाज

सात वर्षमा पनि बनेन पुल

हरेक वर्षामा बाढीको कहर सहँदै आएका चौदण्डीगढी नगरपालिका–४ स्थित सुन्दरी खोलामा निर्माणाधीन पक्की मोटरेबल पुल आधा दशक बढी बितिसक्दासम्म नबनेपछि तल्लो बसाहावासी आक्रोशित भएका छन्। तल्लो बसाहादेखि ढेलोचौरी जोड्ने सुन्दरी खोलाको पुल सात वर्षअघि सुरु भए पनि अहिलेसम्म सम्पन्न नभएकोमा स्थानीय आक्रोशित बनेका हुन्।  

हिउँद याममा सामान्य रहे पनि वर्षाको सिजनमा बाढी आएर सुन्दरी खोलाले आउजाउ रोक्नुका साथै क्षति गर्ने गरेको छ। वर्षायामको बाढीले स्थानीयवासीलाई वल्लो गाउँबाट पल्लो टोल आउजाउ गर्न तथा विद्यार्थीलाई स्कुल जानसमेत रोक्ने गरेकाले सो पुल छिटो बन्नुपर्ने स्थानीयको माग छ। तर पुल निर्माण कार्य कछुवा गतिमा भइरहेकोमा गाउँलेहरू आक्रोश पोख्दै नियमन निकायमाथि रुष्ट बनेका छन्।  

सडक डिभिजन लाहानको सुपरिवेक्षणमा सात वर्षअघि निर्माण सुरु भएको पुल यतिका वर्ष बितिसक्दासम्म सम्पन्न हुन नसक्नुमा नियमन निकाय र ठेकेदारको कमजोरी स्थानीयले औंल्याएका छन्। यत्रो वर्ष बित्दासम्म पुल नबन्नुको कारण ठेकेदार कम्पनीले लापरबाही र डिभिजन कार्यालयको गैरजिम्मेवारीपन भएको स्थानीयको गुनासो छ। तीन वर्षमा निर्माण सकेर हस्तान्तरण गर्ने सम्झौता गरेको पुलको काम हालसम्म ७५ प्रतिशतभन्दा बढी हुन सकेको छैन।  

चौदण्डीगढी–४ का वडाध्यक्ष लुङ्गराज राईका अनुसार ६४ मिटर लामो ११ मिटर चौडाइको दुई स्पानको सो पुल तीन वर्षमा बनाइसक्ने भनिएकोमा अहिलेसम्म बन्न नसक्दा वर्षायाममा जनतालाई कठिनाइ हुँदै आएको छ। सात वर्ष बितिसक्दा पनि ७५ प्रतिशत मात्र काम हुनुको मुख्य कारण ठेकेदारदेखि नियमन निकायसम्मको कमजोरी भएको उनले बताए। यतिका वर्ष बित्दा पनि पुल नबन्दा स्थानीयलाई बर्सेनि बाढीले सताउने गरेको वडाध्यक्ष राईको भनाइ छ।  

ठेकेदार शम्भु ठाकुरको लापरबाहीका कारण पुल समयमा नसकिएको आरोप स्थानीयको छ। पुल छिटो सक्न माग गर्दै स्थानीयले पटकपटक तागेता गर्दै आए पनि ठाकुरले त्यसप्रति गम्भीर चासो नदिएको आरोप पनि स्थानीयको छ। ठेकेदार ठाकुरले भने चाँडै पुल बनाइसकेर सञ्चालनमा ल्याउने आश्वासन दिँदै आएका छन्। पुल धमाधम बनाउँदै गर्दा कोभिड महामारी आइपरेपछि रोकिएर सम्पन्न गर्न ढिला भएको ठाकुरको भनाइ छ।  

एकातिर पुल बनाउन ढिला भइरहेको छ भने अर्कातिर स्थानीयले पुलका लागि दिएको जमिनको मुआब्जासमेत अहिलेसम्म नपाएको गुनासो गरेका छन्। स्थानीय सरला विष्टका अनुसार पुल बनाउन आवश्यक जमिन दिएका तीन घर स्थानीयले अझै जमिनको मुआब्जा पाएका छैनन्। पुल बन्छ भनेर नम्बरी जग्गा न्यूनतम मूल्यमा दिएको बताउँदै विष्टले मुआब्जा नपाएको र पुल पनि अहिलेसम्म नबन्दा दोहोरो मारमा परेको विष्टको गुनासो छ।  

यो वर्ष पनि पुल निर्माण नसकिए आउँदो वर्षायाममा बाढीले सताउने चिन्ता स्थानीयहरूलाई अहिलेदेखि लाग्न थालेको छ। कामगराइ हेर्दा आउँदो वर्षामा पनि बाढीको कहर खेप्नुपर्ने देखिएको स्थानीय छविलाल चौधरीले बताए। ‘भटाभट काम गरे २५ प्रतिशत काम छिट्टै सकिने देखिन्छ तर त्यसप्रति ठेकेदार र डिभिजन उति चासो दिएको देखिएका छैनन्,’ चौधरीले भने। सो पुल त्यस भेगका स्थानीयवासीलाई वडा कार्यालय बसाहा र नगर मुकाम बेलटार आउजाउ गर्न महत्वपूर्ण नाका भएको वडाध्यक्ष राईको भनाइ छ।

प्रकाशित: ५ पुस २०८१ ०७:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App