विश्व बाल दिवस नेपालमा पनि बिबिध कार्यक्रमकाे आयोजना गरेर मनाइएको छ।
यसैक्रममा वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसङघीय बालकोष (युनिसेफ)ले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमा वनमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु सङ्कटका कारण प्रभावित क्षेत्रमा बालबालिकाको सुरक्षित र स्वस्थ जीवनको प्रत्याभूति गर्न सरकारले प्रभावकारी नीति र कार्यक्रमको कार्यान्वयनलाई प्राथमिकता दिने बताएका छन्।
उनले सरकारका तर्फबाट बालबालिकाको अधिकार सुनिश्चित गर्न, बालबालिकाको आवश्यकतालाई नीति तथा कार्यक्रममा प्राथमिकता दिन र जलवायु परिवर्तनबाट हुने प्रभावलाई कम गर्न कटिबद्ध रहेको प्रतिबद्धतासमेत व्यक्त गरे।
मन्त्री ठुकरीले भने,“जलवायु सङ्कट केवल विश्वव्यापी आपत्काल मात्र होइन, यो बाल अधिकारको सङ्कट पनि हो, यसले शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षाको अधिकार, स्वस्छ पानी र हिंसाबाट जोगाउने अधिकारलाई खतरामा पार्छ, नेपालको झण्डै ८० प्रतिशत जनसङ्ख्या जलवायु प्रेरित जोखिमको सामना गरिरहेको अवस्थामा बालबालिका र युवा यस सङ्कटबाट प्रभावित भएका छन्।”
कार्यक्रममा युनिसेफकी नेपाल प्रतिनिधि एलिस अङ्कुगाले जलवायु परिवर्तनले नेपालका बालबालिका र युवा पुस्तामा पर्ने असर र रोकथामबारे विस्तृत रुपमा छलफल गर्नुपर्ने आवश्यकता औँल्याइन।
प्रकाशित: ५ मंसिर २०८१ १५:०५ बुधबार