२१ कार्तिक २०८१ बुधबार
image/svg+xml
समाज

टीका लगाउदा कता फर्किने? यस वर्षको उत्तम दिशा यस्तो छ

आज यमपञ्चकको अन्तिम दिन अर्थात भाइटीका । भाइटीका लगाउँदा कता फर्केर टीका लगाइमाग्ने रु, दिदीबहिनी कुन दिशातर्फ फर्केर टीका लगाइदिने भन्ने सबैको चासोको विषय हुन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा श्रीकृष्ण अधिकारीले यस वर्ष  भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने जानकारी दिए।

यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ।

नेपाली समाजमा कात्तिक शुक्ल द्वितीयामा दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिने चलन छ।पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा छ। दिनभर लगाउन मिल्छ।

तर राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ।आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवता, नवग्रहको समेत पूजाआराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् समितिका अध्यक्ष अधिकारीले बताए।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवम् सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवम् सामाजिक परम्परा छ।

प्रकाशित: १८ कार्तिक २०८१ ०७:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App