२ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

पोखरा: पर्यटनको राजधानीलाई डेंगीको सकस

संकलित पानी पोख्न नचाहँदा संक्रमण तिब्र

पर्यटनको राजधानी पोखरा अहिले डेंगी संक्रमणले ग्रसित छ । स्वास्थ्य कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–५, ८, ९ र १७ नम्बरमा अहिले संक्रमण ह्वात्तै बढेको छ। समुदाय सचेत नहुँदा संक्रमण कम हुन नसकेको स्वास्थ्य कार्यालय कास्कीको भनाई छ। एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगी सर्ने गर्छ।

गण्डकी प्रदेशमा अहिले कास्कीमा सबैभन्दा बढी संक्रमित छन्। कास्कीमा पनि पोखरा महागरका चारवटा वडा बढी प्रभावित छन्। स्वास्थ्य कार्यालय कास्कीका जनस्वास्थ्य प्रशासक रामबहादुर नेपालीका अनुसार पछिल्लो समय पोखराका चारवटा वडाका हरेक घरमा कोही न कोही संक्रमित बनिसकेका छन। समुदाय सचेत नहुँदा हरेक वर्ष डेंगी संक्रमण फैलिने गरेको उनले बताए। योवर्ष जेठ पछि संक्रमण बढ्न थालेसँगै समुदायस्तरमा सचेतनाका कार्यक्रम संचालन गरेको भएपनि संक्रमण रोकिन नसकेको उनले बताए।  

‘डेंगी संक्रमण लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। डेंगी सार्ने लामखुट्टे सफा पानीमा मात्र फैलिन्छ। त्यसैले भाँडाकँुडामा जथाभावि पानी जम्मा नगरौ भन्दा पनि समुदायले अटेर गर्दा यो अवस्था आएको हो,’ उनले भने, ‘घरभित्र भन्दा बाहिरतिर भाडाँकुँडामा संकलन भएको सफा पानीमार्फत यो लामुख्टटे फैलिन्छ। त्यसैले जथाभावि पानी जम्मा नगरौ । संकलित पानी पोखौ भन्दा पनि अटेर हुने गरेको छ।’  

गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म प्रदेशमा यो वर्ष डेंगीका झन्डै सातहजार संक्रमित पुगिसकेका छन्। तीमध्ये पाँचजनाको ज्यान गएको पनि मन्त्रालयको भनाई छ। ‘पछिल्लो समय पोखरामा संक्रमण तिब्र बनेको छ। पोखरा अहिले प्रदेशकै डेंगीको हटस्पट हो,’ नेपालीले भने। 

उनका अनुसार यो वर्ष अहिलेसम्म कास्कीमा सबैभन्दा बढी ३ हजार १ सय ८४ जनामा संक्रमण पुष्टि भइसकेको छ। प्रदेशमा सबैभन्दा बढी संक्रमित पोखरामा छन्। पोखरा महानगरपालिकामा मात्र ३ हजार १ सय ४ जनामा संक्रमण पुष्टि भएको छ। त्यसपछि तनहुँमा २ हजार ७९ जनामा संक्रमण पुष्टि भएको छ।  

‘हामीले महानगरका वडामार्फत सचेतनाका कार्यक्रम चलाएको छ । हामीले समुदायलाई सचेत गराउने हो। समुदाय आफै सचेत हुनुपर्छ। टोल विकास र वडाका पदाधिकारी गम्भिर हुन सकेनन्,’ उनले भने, ‘वडाको तल्लो तहसम्म सचेतनाका कार्यक्रम पुग्नै सकेनन्।’ डेंगी संक्रमण रोक्नका लागि संकलित पानी घोप्ट्याउने नै उपयुक्त विकल्प भएपनि त्यसमा समुदाय सचेत हुन नसकेको उनले बताए।

 ‘लामखुट्टे फैलाउने गरि संकलित सफा पानी घोप्टाउने हो। त्यसपछि सर्च एण्ड डिस्ट्रोय चलाउने हो। यत्रतत्र भाँडाकुँडा संकलन हुने कवाडी र टायर जम्मा हुने वर्कसपका संचालकलाई पनि यसबारेमा सिकाइयो, तर पनि कम हुन सकेन,’ उनले भने, ‘संक्रमण कम भएको छैन, बरु दिनैपिच्छे बढेको छ।’  

उनका अनुसार खुलारुपमा यत्रतत्र फ्याकिएका भाँडाकुँडा, टायर, बोतल, बिर्काे, गमलामा पानी जम्मा हुने र त्यसैमा डेंगी फैलाउने लामखुट्टेले फुल पार्ने भएकोले त्यो हुन नदिन पानी संकलन रोक्नुपर्ने भएपनि त्यसबारे समुदाय सचेत नबनेको उनले बताए। ‘सफा पानीमार्फत डेंगी फैलाउने लामखुट्टेको वृद्धि हुने हो । त्यसैले जथाभावि पानी संकलन गरेर खुलमखुला नछाड्न समुदायमा आग्रह पनि गरेका छौ। तर, आफैलाई नपरेसम्म यो बारेमा समुदाय सचेत नै भएन,’ उनले भने, ‘डेंगीबारे सबैलाई थाहा भएकै हो। तर, गम्भिर कोहि देखिएनन। पोखरामा अहिले बच्चामा डेंगी संक्रमण बढ्दो छ।’  

चिकित्सकले पनि पछिल्लो समय पोखरामा डेंगीले बिरामीलाई सकस पारेको बताउँछन्। गण्डकी अस्पतालका चिकित्सक डा. शरदचन्द्र बरालले भने, ‘पछिल्लो समय डेंगी संक्रमित धेरै नै बढेका छन्। अस्पतालमा पनि डेंगीकै संक्रमित थपिने गरेका छन्। हामीले स्वास्थ्य अवस्था हेरेर बिरामीलाई भर्ना गर्ने र घरमै बसेर उपचार गर्न सुझाएका छौं।’ उनका अनुसार पछिल्लो समय संक्रमितमध्ये केही गम्भिर अवस्थामा पनि पुगिसकेका छन्।

‘समुदाय सचेत हुने हो भने यो संक्रमण केही कम हुन्छ । नत्र दिनहुँ जोखिम बढिरहेको छ। संक्रमित थपिएको थपियैं छन,’ उनले भने, ‘कतिपयको त स्वास्थ्य अवस्था जटिल पनि बनेको छ।’ उनका अनुसार समुदायमा सचेतनाको अभावमा यो संक्रमणले गति लिएको हो। ‘अब त समुदाय साच्चै सचेत हुनुपर्ने हो । डेंगीले पोखरामा जटिल अवस्था ल्याइसकेको छ। तर, पनि यो बारेमा आँखा चिम्लेर बस्नु हुँदैन,’ उनले भने।  

डेंगी संक्रमणले यो वर्ष प्रदेशमा पाँचजनाको ज्यान पनि गएको छ। प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार ज्यान गुमाउनेमा तीनजना पुरुष र दुइजना महिला छन्। ती मध्ये कास्कीका तीन, म्याग्दी र तनहुँका एक–एक गरि पाँचजनाको ज्यान पनि प्रदेशको स्वास्थ्य मन्त्रालयले बताएको छ।  

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अनुसार सन् २०१९ मा गण्डकी प्रदेशमा २६ सय ५० जनामा डेंगी संक्रमण देखिएको थियो। त्यो संक्रमण २०२० मा १५९, २०२१ मा ९५ र २०२२ मा २३ सय ८० जनामा देखिएको थियो। प्रदेश सरकारका अनुसार २०२३ मा प्रदेशमा सबैगरि ११ हजार ९ सय ८६ जना डेंगीबाट संक्रमित बनेका थिए।  

चिकित्सकका अनुसार डेंगी संक्रमण भएपनि उच्च ज्वरो आउने, जिउ, जोर्नी र हाड दुख्ने गर्छ। त्यस्तै आँखाको गेडी वरिपरि दुख्ने, वाकवाकि लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा, तथा शरीरका अन्य अंगबाट रगत बग्ने सम्भावना रहेको चिकित्सकले बताएका छन्।

प्रकाशित: २९ भाद्र २०८१ १६:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App