भारतद्वारा एकतर्फीरुपमा बनाइएको बझाहा बाँधका कारण धान रोपिएको ४ सय बढी बिघा भू– भाग डुबानमा परेको छ । असार र गत शनिवार परेको अविरल वर्षाका कारण मायादेवी र यशोधरा गाउँपालिकाको एक दर्जन गाउँका साढे ३ सय बढी कृषकको ४ सय हेक्टरमा लगाइएको धान खेत डुबानमा परेको हो ।
वर्षा पछि बाँधले गर्दा मायादेवी गाउँपालिका वार्ड नं ४ का तुल्सीडिहवा, गौरा, सिसहनिया र सिहोरवा गाउँका धाँन लगाएका खेत पानीमा डुबेका छन् । त्यस्तै यशोधरा गाउँपालिका वार्ड नं १, रजवापुर, वार्ड ६ पुन्नीहवा र पकडी गाउँको धान खेत डुबेका छन् ।
३ देखि ५ किमी दक्षिणका खेत पानीमा डुबेपछि धान गलेको छ । जता हे¥र्यौ उतै पानी पानी देखिन्छ । पिपराको तुल्सीडहवा गौरामा लगाइएको धान डुबेको छ । अहिले खेतमा ५ फिट बढी पानी रहेको छ । डुबानकै कारण २०–२५ वर्ष यता कृषकले राम्ररी खेतीपाती स्याहार्नै पाएका छैनन् । भारतीय पक्षले हिउँदमा बाधको ढोका खोल्ने र वर्षा याममा बन्द गर्ने गरेको कृषकहरू बताउँछन् । बाँधमा रहेको २८ वटा ढोका नखोलिँदा खेती डुबानमा परेको कृषकहरू बताउँछन् । वर्षा पछि बाँधको ढोका नखोलिँदा ३ सय बिघामा लगाइएको धानबाली पानीले डुबेको मायादेबी गाउँपालिका वडा नम्बर ४ तुलसी हिडवाका जगदी यादवले बताए ।
‘ गत असारमा धान रोपका थियो, धान ढलेर साउनमा फेरी लगायौ ’ उनले भने ‘ फेरी धान खेत डुबानमा छ ’ । ‘ खेतको आली डुबेको छ, केही दिन मै पानीको निकास नगरिए नेपाल तर्फका सयौँ कृषकले ठुलो क्षति ब्याहोर्नु पर्ने उनले बताए । सरसापट, बैङ्कबाट ऋण लिएर धान खेती गरेका कृषकहरू धानको दुर्दशा देखेर निकै चिन्तित छन् । पुरै धान सखाप हुने अवस्थामा पुगेको छ, तर समस्या समाधानको लागि कसैले पहल गरेको छैन । ‘ तुलसी डिहवाका अर्का कृषक मोबिन अहमदले भने ‘ अब कसरी परिवारको गुजारा चलाउने । ’सीमा क्षेत्रको भारतीय भू–भागमा पर्ने बजहा बजारमा रहेको बजहा तालको बाँधको ढोका बन्द गरिदा क्षेत्रमा रहेको ५४२÷४७ नम्बरको सीमा स्तम्भ समेत पानीमा डुबेको छ ।
भारतको चिल्हीया थाना अन्तर्गत पर्ने हजार हेक्टर क्षेत्रमा फैलिएको तालको आधा भाग नेपाल र आधा भारत तर्फ पर्छ । बझाहा तालमा पानी जम्मा गरेर भारतले सिँचाइ गर्ने गरेको छ । तालमा २८ बटा फलामका ढोका राखेर बाँध बनाइएको छ । बझाहा क्षेत्रमा भारतले १० किलो मिटर क्षेत्र वरिपरि बाँध बनाएको छ । बाँधलाई बाटोका रुपमा समेत प्रयोग गर्ने गरिएको छ । २८ वटा ढोका बन्द गरिदा जमेको पानी निकास हुन पाएको छैन । सीमा क्षेत्रको उक्त ठाउँ बाँधका कारण बर्सेनि डुबानमा पर्दै आएको छ । धेरै पानी जम्मा गर्न भारतीय पक्षले तालको बाँध बर्सेनि अग्लो बनाउँदै आएका छन ।
यशोधरा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष राज कुमार जैसवालले बताए । उनले बझाहा बाँधले गर्दा आफ्नो वडाका चार गाउँका कृषकहरू मारमा परेको र खेती गर्न समेत गाह्रो पर्ने गरेको बताए । उनले यस बारे सङ्घीय सरकारले ठोस पहल गर्नु पर्ने बताए । सीमा क्षेत्रको बजहा बाँधले बर्सेनि नेपाली कृषकलाई पीडा दिदै आएकाले यसको दिर्घकालिन समाधान खोज्नु पर्ने मायादेबी गाउँपालिका प्रमुख वलीउद्दीन मुलमानले बताए । उनले वर्षा र गर्मीमा तालमा कति पानी राख्ने भनेर प्राविधिकसँग सल्लाह गरी स्थानीय प्रशासनलाई दिनु पर्ने बताए ।
पीडितको मागलाई सम्बोधन गरी स्थानीय प्रशासनले भारतीय समकक्षीसँग कुरा राखेर मौसम अनुसारको समस्या समाधान गर्नु पर्ने उनी बताउँछन् । उनले बाँधका बारेमा सङ्घीय र प्रदेश सरकार तथा प्रशासन कार्यालयलाई हरेक वर्ष स्मरण गराए पनि समस्या समाधान नभएको गुनासो गरे । प्रजिअ विश्व प्रकाश अर्यालले बझाहा बाँधका कारण डुबानले कृषकहरू समस्यामा परेको कुरा कतैबाट नआएको बताए । उनले नेपाल सरकारसँगको सम्झौताका कारण आफूहरूले चाहेर पनि सबै कुराको समाधान गर्न नसक्ने बताए । उनले ठुलो क्षति बारे कहीँ कतैबाट कुरा नभएको बताए ।
बाँधले भारतीय कृषकलाई फाइदा नेपाली कृषकलाई घाटा
भारतले एकतर्फीरुपमा बनाएको बाँधका कारण भारतीय कृषकलाई फाइदै फाइदा छ । नेपाली कृषकलाई भने सधैँ घाटा लागेको छ । आफूलाई पानी चाहिदा बाँधको ढोका खोल्ने गरिएको छ । पानी बढी भए भने ढोका बन्द गर्ने गरिन्छ । भारतले सिद्धार्थनगर जिल्ला स्थित चिल्हिया थाना अन्तर्गत बजहामा बाँध बनाएको छ। बाँध सीमामै छ । बाँधको उत्तर तिर ठुलो सागर छ । हजार बढी विगाहामा रहेको सागर आधी नेपाल र आधी भारतमा पर्छ । त्यही पानी जम्मा गरेर भारतले सिँचाइ गर्छ । विशेष गरि हिउँदलाई लक्षित गरेर पानी जम्मा गरिन्छ । वर्षा र अत्यधिक पानी पर्दा बाँधका ढोकाहरू नखोलिँदा पानीले नेपाल तिर डुबान गर्छ । सागरको पश्चिम दक्षिणमा २० र ८ ढोके पक्की बाँध छ । २० ढोके बाँध ५० मिटर लामो छ ।
८ ढोके बाँध २० मिटर लामो छ । ५ मिटर चौडा बाटो छ । बाँध बनाएको केही वर्ष सम्म बाँधमाथिबाट एउटा मोटरसाइकल मात्र आवतजावत गर्ने बाटो थियो । अहिले विस्तार गरेर ४ चक्के ठुलो सवारीसाधन आवतजावत गर्ने बनाईएकोछ । बाँध पनि मर्मत सम्भार गर्दै नयाँ गरिएको छ । आवत जावतका लागि बाटो भन्दै बाँध उँचो बनाउँदै लगिएको छ । यसले नेपाल तिर डुबान क्षेत्र बढेको स्थानीय जयबुद्ध यादवले बताए । बाँधबाट साढे ३ सय बढी कृषक प्रभावित हुँदै आएका छन् । बाँधको उचाइ बढ्दै जाँदा नेपालतिर पानी बढी जम्मा हुने गरेको छ । जसले गर्दा कपिलवस्तुको सीमा क्षेत्रमा नेपाली कृषकहरूले बर्सेनि डुबानको समस्या झेल्दै आएका छन् ।
ती बाँधको ढोका भारतले आफूखुसी खोल्ने र बन्द गर्ने भएकाले भारतीय पक्षले निकै लाभ लिए पनि नेपाली कृषकहरूले भने निकै क्षति ब्योहोनू परेको कृषकहरू बताउँछन् । ‘ पानी धेरै भयो भने बाँधको ढोका बन्द गर्छन, कम भयो भयो सिँचाइ सुविधाका लागि बाँध खोल्छन् ’ मायादेबी गाउँपालिका वडा नम्बर ४ पिपराका कृषक जगदीश सिंह यादवले दुखी हुँदै भने ‘ तर यस्को समाधानका लागि कसैले चासो लिँदैनन् । ’ आफ्नो खेत वर्ष भरी नै बाझै भए पनि मालपोत भने उनीहरुले तिदै आएका छन् । उता स्थानीय प्रशासनले दुई देशको अधिकारी बिच हुने समन्वयात्मक बैठकमा हरेक पल्ट सो बाँधले पार्नै समस्याका कुरा उठाए पनि समाधान हुन सकेको छैन । उता महली सागर मझौली बाँधले पनि नेपालका सयौँ बिघा जमिन डुबानमा पर्ने गरेको छ ।
प्रकाशित: ६ भाद्र २०८१ १९:४२ बिहीबार




-600x400.jpg)
