१० जेष्ठ २०८३ आइतबार
image/svg+xml
कला/साहित्य

निर्वाचन हारेको रात

अनुभूति

दुई दिन भयो, मन ठिक थिएन। केही कुराले मन नरमाइलो लागिरहेको थियो। जीवनरूपी संसारमा दौडँदा दौडँदै, सफलता हासिल गर्दागर्दै एक किसिमको आत्मविश्वास आफूमा बढ्दै गइरहेको हुन्छ। आफ्नो त्यो आँट, भरोसा अनि ‘केही गर्छु’ भन्ने हुटहुटी त्यही सफलताले दिएको हुन्छ तर हामीले बुझ्नुपर्ने कुरा के रहेछ भने हाम्रो समाजमा विभिन्न सोच भएका व्यक्ति र संघ–संगठन चलाउने मानवसमूहहरू छन्, जो हिँड्ने आफ्नै सोचको बाटो छ। तिनले चलाउने संस्था पनि त्यही सोचको पथमा हिजोदेखि आजसम्म क्रियाशील रहेका हुन्छन्। आफैंमा प्रश्न उठ्छ - सफल भएँ भन्दैमा जहाँ पनि होमिनु हुँदैन। आफूले जिन्दगीभरि दिएको समय, आफ्नो विचार, हरेक क्षेत्रमा सफलता पाइरहेको व्यक्ति, आफ्नो मेहनत अनि आफ्नो अगाडि परेका व्यक्तिहरूसँग आँखा जुधाएर कुरा गर्न सक्ने क्षमता सबै एउटै हारले चकनाचुर हुँदोरहेछ।

ओल्टे–कोल्टे फर्किन्छु, निन्द्रा लाग्दैन। साँझ असामान्य लागिरहेको छ। बाहिर सामान्य चहलपहल थियो । मानिसहरू आआफ्नो काममा व्यस्त थिए। सामाजिक सञ्जालमा चुनावी चर्चा चलिरहेको थियो। सबैले आफ्नो फोटो राखिरहेका थिए। बधाई आदानप्रदान भइरहेको थियो तर मेरो मनभित्र ठुलो भूकम्प चलिरहेको थियो। मलाई मत दिनुहुने मेरा शुभचिन्तकहरूसँग अब कसरी भेट गर्ने? मलाई विश्वास गरेर जुन मत दिनुभयो, त्यसको सम्मान गर्न नसकेको अनुभव भइरहेको थियो। यो चुनावी दौडमा धेरैले मेरा लागि दौडिनुभएको थियो, मत मागिदिनुभएको थियो। एउटा मेरो आफन्त, जसले मेरा लागि हस्पिटलको शय्याबाट मेरो नेतृत्वमा विश्वास गरेर मत माग्नुभएको थियो। उहाँ एउटा यस्तो व्यक्ति, जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा नेपालको सामाजिक सेवाअन्तर्गत नेपाललाई चिनाउनुभएको थियो। अहिले उहाँ यो संसारमा हुनुहुन्न। आज उहाँ यो संसार छोडेको आठ दिन भयो। त्यस्तै अरू पनि विभिन्न क्षेत्रमा समाजमा राम्रो गरिरहेका व्यक्ति, जसले मेरा लागि मत मागिदिनुभएको थियो। अब म कसरी सम्हालिऊँ? मेरो मनभित्र ठुलो भूकम्प चलिरहेको थियो। चुनावको परिणाममा जीवनमा पहिलो पटक मैले हार स्विकार्नुपरेको थियो।

यो केवल एउटा चुनावको हार थिएन। यो मेरो आत्मविश्वास, मेहनत, सम्बन्ध, सोच र समाजप्रतिको विश्वाससँग जोडिएको क्षण थियो। धेरै वर्षदेखि जहाँ पुगेँ, सफल नेतृत्वसहित पुगे। त्यहाँ सम्मान पाएँ, सफलताका कथा सुनाएँ, मानिसका आशा र सपना बोकेर हिँडेँ। त्यसैले हार मेरो जीवनको अनुभवभन्दा बाहिरको विषय थियो। बारम्बार सुन्दै आएको थिएँ– जीवनले सधैं जित्ने मानिसलाई एक दिन रोकिदिन्छ, ताकि उसले समाजलाई नजिकबाट हेर्न अनि अवलोकन गर्न सकोस्। वातावरण शून्य थियो, भित्तामा टाँगिएको घडीको आवाज टक–टक आइरहेको थियो। आधा रातमा त्यो आवाज एक किसिमको ‘हरर चलचित्र’ हेर्दाजस्तो डर महसुस भइरह्यो।

म चुनावमा केवल आफ्ना लागि उभिएकी थिइनँ। मेरो पन्ध्र वर्षदेखिको युवा तथा महिलालाई सामाजिक तथा आर्थिक सशक्तीकरणको पाटोमा अगाडि कसरी बढाउने? व्यवसायीमैत्री नीति कसरी ल्याउने? यो देशको स्थानीय उत्पादनलाई विदेशी बजारमा कसरी लैजाने? अनि नेपालीलाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा कसरी चिनाउने ? म चुनावमा केवल आफ्ना लागि उभिएको थिइनँ। मेरो उद्देश्य कुनै पद वा व्यक्तिगत शक्ति थिएन। म महिला तथा युवा पुस्ताको प्रतिनिधित्व गर्न चाहन्थेँ, जसले अवसरको अभावमा आफ्नो सपना गुमाइरहेको छ। म आर्थिक अवस्था कमजोर भएकाहरूको आवाज बन्न चाहन्थेँ, जसको आवाज नीतिनिर्मातामा कहिल्यै पुग्दैन। म व्यवसायीमैत्री वातावरण कसरी बनाउने? राज्यलाई सय अर्ब डलरको अर्थतन्त्र सहयोग कसरी गर्ने? देशको निर्यात कसरी बढाउने? साथै व्यवसायमैत्री वातावरणको पहल कसरी गर्ने? जस्ता क्षेत्रमा ठोस काम गर्न चाहन्थेँ। महिलालाई केवल कार्यक्रममा ताली बजाउने पात्रका रूपमा होइन, निर्णय गर्ने नेतृत्वका रूपमा, आर्थिक सशक्तीकरणको पाटो बलियो बनाउने अगुवाका रूपमा अगाडि बढ्ने मेरो सधैंको धेय हो। यो धेय विगतदेखि वर्तमान हुँदै भविष्यसम्म निरन्तर रहिरहने छ।

निर्वाचनको समय नजिकिँदै थियो। समर्थनका शब्दहरू जताततै थिए। सबैसँग हात जोडी–जोडी साथ मागेको थिएँ। बिहान–बेलुका फोनबाट वा म्यासेजबाट मत मागेको थिएँ। ‘हामी तपाईसँग छौं’ भन्ने आवाजहरू आएका थिए। सामाजिक सञ्जालमा भिड थियो। अन्तर्वार्ताहरू धेरै थिए, उत्साह थियो। तर परिणाम आएको केही घण्टामा सबै कुरा बदलियो। फोनहरू रोकिए, सन्देशहरू हराए, नजिकका मानिस अचानक टाढा भए। त्यस क्षण मैले कटु सत्य देखें– हाम्रो समाजमा सफलताका साथी हुन्छन्, संघर्षका हुँदैनन्। हामी जित्नेलाई देवता जस्तो बनाउँछौं, हार्नेलाई एक्लै छोडिदिन्छौं, मानौं ऊ जिन्दगीभर हरेक क्षेत्रमा हार्दै आएको छ। हामी व्यक्तिको संघर्षभन्दा उसको परिणाम हेर्छौं। हामी इमानदार प्रयास होइन, अन्तिम अंकलाई सम्मान गर्छौं। यही सोचले समाजलाई भित्रभित्रै कमजोर बनाइरहेको छ।

पीडादायी कुरा हार होइन, हारपछि समाजले देखाउने व्यवहार हो। मानिसहरू कसैको पीडालाई बुझ्नुभन्दा पनि त्यसलाई मनोरञ्जनको विषय बनाइरहेका हुन्छन्। सामाजिक सञ्जालमा सहानुभूतिभन्दा आलोचना धेरै हुन्छ। संवेदनाभन्दा व्यंग्य बढी हुन्छ। हामी आज आधुनिक त भयौं तर मानवीय हुन बिर्सियौं। महिलाका लागि यो पीडा अझ गहिरो हुन्छ। पुरुष हार्दा समाज भन्छ– ‘अर्को पटक जित्छ।’ तर महिला हार्दा समाजले उसको क्षमता, चरित्र, सम्बन्ध र सम्पूर्ण आशामाथि प्रश्न उठाउन थाल्छ। यही मानसिकता परिवर्तन नभएसम्म समाजले वास्तविक नेतृत्व जन्माउन सक्दैन।

अझै मेरो मनमा हजारौं प्रश्नहरू आइरहेका थिए। धेरै सोचपछि मनले निष्कर्ष निकाल्यो– हारले मलाई समाप्त गरेको छैन। यसले मलाई निर्वाचन र मतदाताको वास्तविक अनुहार देखाएको छ। मन थाकेको छ, पूर्ण खाली पनि लागेको छ तर जिम्मेवारी अझै बाँकी छ। किनकि देशका हजारौं युवा अवसर खोजिरहेका छन्। महिलाहरू अझै आफ्नो पहिचानका लागि संघर्ष गरिरहेका छन्। धेरै मानिसको आवाज यो संघर्षमय भिडमा सुनिएको छैन। त्यसैले म रोकिन सक्दिनँ।

आज म मतदातालाई विनम्र सुझाव दिन चाहन्छु– मतदान केवल सम्बन्ध होइन। प्रचार र भिड हेरेर मतदान नगर्नुहोस्। उम्मेदवारको संघर्ष हेर्नुहोस्, दृष्टि हेर्नुहोस्, समाजका लागि गरेको काम हेर्नुहोस् किनकि गलत निर्णयले केवल एउटा व्यक्ति हार्दैन, समाजले सम्भावित नेतृत्व गुमाउँछ। हामीले मतदानलाई भावनात्मक भिडको निर्णय होइन, भविष्य निर्माणको जिम्मेवारी बनाउनुपर्छ। यदि सक्षम व्यक्ति निराश भयो भने भविष्यमा राम्रो नेतृत्व आउन डराउन थाल्छ।

आज म हारेर पनि समाप्त भएको छैन। म अझै उभिएकी छु। फरक यति हो– पहिले म समाजलाई आशाले हेर्थें, अब अनुभवले हेर्छु। जीवनले कहिलेकाहीं असफलता दिन्छ, ताकि हामी जितभन्दा ठुला सत्य देख्न सकौं।

प्रकाशित: २६ वैशाख २०८३ ०६:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App