सोलुखुम्बुको थामेमा शुक्रबारको बाढी मानवजन्य जलवायु परिवर्तनका कारण निम्तिएको घटना भएको पाइएको छ। थामेभन्दा उपल्लो क्षेत्रका पाँच हिमतालमध्ये दुईवटा फुटेपछिको बहावले गेग्रान बढार्ने क्रममा थामे गाउँका २३ घर, केही होटल, एक पुल तथा भर्खरै निर्माण गरिएको लघु जलविद्युत् परियोजनालगायत नष्ट भएका छन्। खुम्बु क्षेत्रमा पदयात्राका लागि लोकप्रिय मानिने गोक्यो मार्गमा पर्ने यो गाउँमा बाढीले एक अर्ब रुपैयाँभन्दा बढीको क्षति गरेको प्रारम्भिक अनुमान छ।
शनिबार बिहानै रक्षामन्त्री मनवीर राईसहित घटनास्थलमा पुगेका विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकारणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले थामे बाढीलाई जलवायु परिवर्तनले निम्त्याएको प्रस्ट प्रमाणका रूपमा लिन सकिने बताए । उच्च हिमाली क्षेत्रमा भएको तापक्रम वृद्धि तथा परम्परागत रूपमा कम वर्षा हुने क्षेत्रमा वर्षा हुनुलाई जलवायु परिवर्तन जिम्मेवार रहेको मानिन्छ।
तापक्रम वृद्धिले हिमतालको आकार बढ्दा विस्फोटको जोखिम बढेको तथा उच्च हिमाली क्षेत्रमा ससाना हिमपोखरीको संख्या बढेको अध्ययनहरूले देखाएका छन्। यसैगरी हिमनदी (ग्लेसियर) को क्षेत्रफल र घनत्व घटेको छ।
छाया वर्षा क्षेत्र अर्थात् रेन स्याडो मानिने हिमालपारिका जिल्लामा समेत वर्षा हुन थालेको छ। यसले माथिल्लो तटीय क्षेत्रदेखि तल्लो तटीय क्षेत्रमा समेत क्रमागत विपत् निम्त्याउने गरेको छ। ‘जलवायु’ परिवर्तनले निम्त्याएको पछिल्लो प्रमाण थामे बाढीभन्दा अत्युक्ति हुँदैन,’ पोखरेलले भने।
थामेभन्दा नौ किलोमिटरमाथिको क्षेत्रमा रहेको एउटा ताल विस्फोट भएर अर्काे तालमा बजारिएको र त्यही कारणले गेग्रानसहितको विशाल पानीको प्रवाह हुँदा थामेमा क्षति भएको उनको भनाइ छ। हिमताल विस्फोट भएको उक्त हिमाली क्षेत्रमा समेत तापक्रम न्यानो रहेको चर्चा गर्दै उनले भनेका छन्, ‘त्यो क्षेत्र वरपर कतै पहिरा छैनन्, न त कुनै डोजरे विकास छ। यो सरासर जलवायु परिवर्तनले निम्त्याएको तापक्रम वृद्धि र अनपेक्षित वर्षाको प्रत्यक्ष प्रमाण हो।’
इसिमोडका वरिष्ठ जलवायु परिवर्तन विशेषज्ञ डा. अरूणभक्त श्रेष्ठ हिमताल विस्फोट तथा यसबाट सिर्जना हुने बाढीलाई जलवायु परिवर्तन कारक रहेको भन्न अप्ठेरो मान्नुनपर्ने ठान्छन्। नेपालका २१ हिमताल विस्फोटको संघारमा रहेको चर्चा गर्दै उनले ठुला हिमताल मात्रै नभई बढ्दो क्रममा रहेका ससाना तालहरू पनि विस्फोटको संघारमा रहेको उनको तर्क छ। ‘नपत्याउने खोलाले पनि बगाउँछ भनेझैं थामेको उपल्लो क्षेत्रका तालको विस्फोटले क्रमागत संकट निम्त्याएको देखिन्छ,’ उनी भन्छन्।
पृथ्वीको तापमान वृद्धिका लागि नेपालको नगण्य योगदान रहँदारहँदै प्राकृतिक विपत् र जलवायु परिवर्तनको हिसाबले विश्वमै उच्च जोखिममा नेपाल पर्छ। विज्ञका अनुसार नेपालको अर्थतन्त्र तथा जीवनयापनसहित जलवायु परिवर्तनले अनेकन् प्रभाव निम्ताएको छ। विपत न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख पोखरेल यसप्रकारको विपत्को न्यूनीकरण, अनुकूलन तथा हानिनोक्सानीलाई सम्बोधन गर्न नेपालजस्तो देशलाई कठिन हुने बताउँछन्।
‘एउटा हिमताललाई विस्फोटको संघारबाट बचाउन करोडौं अमेरिकी डलर खर्च लाग्छ। त्यो धनराशि कहाँबाट जुटाउने ?’ उनी भन्छन्। नेपालले जलवायु परिवर्तनका लागि जिम्मेवार धनी राष्ट्रलगायत विश्व समुदायसँग जलवायु वित्त तथा अन्य सहयोगका लागि आवाज उठाउनुपर्ने उनको तर्क छ। विपत्का लागि पूर्वसूचना प्रणाली, पूर्वतयारी, भूउपयोग तथा वस्तिविकास निर्देशिका, जोखिम क्षेत्र पहिचानसहित विभिन्न पक्षसहितको एकीकृत योजना आवश्यक रहेको इमिसोडका वैज्ञानिक श्रेष्ठ ठान्छन्।
‘पूर्वदेखि पश्चिमसम्म हाम्रा सबै नदी क्षेत्र जोखिममा छन् । यी सबैको अद्यावधिक डाटा संकलन गरेर जोखिमको आकलन तथा पूर्वतयारी गर्न सकिन्छ,’ उनी भन्छन् ।
विपत न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख पोखरेल विपत्ले निम्त्याउने समग्र गैरआर्थिक तथा आर्थिक जोखिमलाई समावेश गरेर नेपालले बहुप्रकोपीय जोखिम आकलन कार्यढाँचा बनाउने तयारी गरिरहेको जानकारी दिए।
‘यो कार्यगत ढाँचामा भूगोलका हिसाबले हुने जोखिम देखि लिएर कृषि, सिँचाइ, ऊर्जा तथा खानेपानीजस्ता विषयसहितको क्षेत्रगत हिसाबले हुने जोखिमलाई समेटिएको र यसले भविष्यमा आउने यसप्रकारको जोखिमलाई आकलन गर्न र पूर्वतयारी गर्न सघाउ पुरयाउनेछ,’ उनी भन्छन्। यो ढाँचाको अन्तिम खाका समीक्षाको चरणका रहेको र गृहमन्त्रीसहित अन्य तीन जनामन्त्री समावेश रहेको कार्यकारी समितिले यसलाई निकट भविष्यमै अनुमोदन गर्ने उनको भनाइ छ।
प्रकाशित: २ भाद्र २०८१ ०६:३३ आइतबार