३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

डुंगामा अडिएको मधेसको जीवनरेखा

मधेस समृद्धिको ‘जीवनरेखा’ मानिने हुलाकी राजमार्गअन्तर्गतको कमला नदी तर्न फेरि पनि डुंगाकै सहारा लिनुपरेको छ। १२ वर्ष लगाएर लगभग निर्माण सम्पन्न भएर पैदलयात्रीका लागि खुलासमेत गरिसकिएको पक्की पुल भत्किएपछि बर्खामा कमला वारपार गर्न डुंगा मात्रै विकल्प भएको हो।

२०७८ असार १७ गते निर्माणको अन्तिम चरणमा कमला नदीको पुलको स्पाम धसिएको थियो। त्यसयता सुक्खामा बाँसको पुल र बर्खामा डुंगाकै सहारामा मानिस नदी वारपार गर्दै आएका छन्। कमला पुल पुनर्निर्माणका लागि दबाब दिन बिहीबार सिरहाका स्थानीय बुद्धिजीवीहरूले प्लेकार्डसहित प्रदर्शन गरेका छन्। सिरहा नगरपालिकामा कार्यरत इन्जिनियर प्रवीणकुमार यादवको संयोजकत्वमा गठित संघर्ष समितिको अगुवाइमा सिरहाको महावीर चोकदेखि थाना चोकसम्म दबाब जुलुस प्रदर्शन गरिएको थियो।

मधेसको दीर्घकालीन महŒव बोकेको कमला पुल निर्माण नहुँदा सिरहा र सप्तरीका सर्वसाधारणले प्रदेशको राजधानी जनकपुरधाम आउजाउमा सास्ती भोग्दै आएका छन्। बर्खाको बेला राजमार्ग वा भारत हुँदै करिब एक सय किलोमिटर बढी दुरी पार गरेर मात्र जनकपुरधाम पुग्न सकिने बाध्यता सिरहावासीको छ। छोटो दुरीमा नदी पार गर्न काठको डुंगा एक्लो सहारा बनेको छ। प्रदेश तथा संघीय सरकारका विभिन्न मन्त्रीलाई यस विषयमा ध्यानाकर्षण गराउँदा पनि समयमा पुल बन्न नसकेको स्थानीयको गुनासो छ।

केही दिनअघि मात्रै मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पुल निर्माणका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आग्रह गरेका थिए। मुख्यमन्त्री सिंहले मधेसको ‘लाइफलाइन’ मानिएको कमला पुलको निर्माणले मधेस प्रदेशको विकासमा दीर्घकालीन र सकारात्मक योगदान पुग्ने योजना प्रधानमन्त्री ओलीसमक्ष प्रस्तुत गरेका थिए।

सिरहा र धनुषाबीच दु्रत सम्पर्कको सेतु हो, कमला नदीको पुल। यो पुल निर्माणसँग धनुषा–सिरहाबीच द्रुत सम्पर्क मात्र होइन, मधेसकै जीवनपद्धति जोडिएको छ। २०६८ सालमा ठेक्का लागेर निर्माण सुरु भएपछि यस भेगका बासिन्दा पुल बन्नेमा ढुक्क भए। तर १२ वर्ष लगाएर बनेको पुल प्रयोगमा नआउँदै भत्कियो। पुल भत्किएसँगै उनीहरूको आशा निराशामा परिणत भएको छ। सम्झौताअनुसार २०७१ मंसिर ३० गते निर्माण सकिनुपर्ने पुल निर्माणपछि धकेलिँदै गएर २०७८ असारसम्म पुगेको थियो। तीनपटक म्याद थपिएर २०७८ असार मसान्तसम्म पु¥याइएको पुल निर्माण कार्य सम्पन्न हुनै लाग्दा कमला नदीमा आएको बाढीको बेगले भासिन पुग्यो।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका अनुसार कमला नदीमा १२ सय मिटर चौडाइका दुई बाँधका बीचमा चार सय ७० मिटर लामो पुल निर्माणका लागि पप्पु लुम्बिनी जेभी काठमाडौंले २८ करोड १५ लाख रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो। २०६८ जेठ ३१ गते भएको सम्झौतामा २०७१ मंसिर ३० गते पुल निर्माण पूरा गर्ने उल्लेख थियो। दुईपटक म्याद थपेर २०७५ मंसिर ३० गतेसम्म निर्माण अवधि लम्ब्याइयो। तर ठेकेदार कम्पनीको लापरबाहीका कारण थपिएको म्यादमा पनि पुल पूरा हुन सकेन। त्यसपछि पप्पुलाई हटाएर लुम्बिनी जेभीले काम सुरु गरेको थियो।

कम्पनीले सुस्त गतिमा पुल पुनर्निर्माण गर्नेगरी काम थाल्यो तर केही महिनापछि पुनः काम बन्द भएपछि स्थानीय आन्दोलित भएका हुन्। ठेकेदारको लापरबाही र सरकारको उदासीनताका कारण यस भेगका जनताको पुलमाथिबाट कमला नदी तर्ने सपना सेलाउँदै गएको छ। कमला नदीको निर्माणाधीन पक्की पुलभन्दा दुई किलोमिटर दक्षिण झोलुंगे पुल निर्माण भएको छ। गत जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको यस पुलमाथिबाट मोटरसाइकलसमेत वारपार गर्न सकेको छैन । जसको सरकार बने पनि मधेसप्रतिको दृष्टिकोण सकारात्मक नभएको ज्वलन्त उदाहरण कमलाको यो पुल हो। सिरहाका बुद्धिजीवी देवकुमार यादव भन्छन, ‘पुल भासिएको तीन वर्ष भइसक्दा पनि पुनर्निर्माणको काम सम्पन्न नहुनुले सरकारको मधेस दृष्टिलाई प्रस्ट्याउँछ। मधेसको ‘लाइफ लाइन’ कमलाको पुलमा अल्झिँदा यस भेगका जनतामा सरकारप्रति आक्रोश र असन्तोष बढिरहेको छ।

कमला नदीमा पुल नहुँदा १२ सय मिटरको दुरी पार गर्न दुवैतिर (सिरहा र धनुषा) का बासिन्दाको सहारा फेरि नाउ (डुंगा) बनेको छ। कमलु नाउवालाले दुवैतिरका बासिन्दालाई वारपार गराउँदै आएका छन्। ‘नदीमा पानीको बहाव बढेर बाढीको रूप लिँदा नाउ चलाउन खतरा हुन्छ ,’ कमलुले भने। सात वर्षअघि कमलाको बाढीले नाउ पल्टाउँदा सातजनाको ज्यान गएको घटना सम्झाउँदै उनले भने, ‘यो नदीमा नाउको सवारी जोखिमपूर्ण छ।’

धनुषाको हथमुण्डा, लक्कर, बरेबा, कठाल, बनरझुल्ला, लगमा, भलुवाहा, फुलबरिया, सगहारालगायत गाउँका बासिन्दाको दैनिक उपभोग्य वस्तु खरिद गर्ने बजार नै सिरहा हो। यी गाउँका बासिन्दा किनमेल गर्न नाउ चढेर सिरहा बजार आउँछन्। सामान किनमेल गरेर फेरि नाउबाटै कमला नदी पार गर्छन्। धनुषा सगहाराकी सगिरा खातुन भन्छिन्, ‘सुक्खामा त बाँकसको पुलबाट यात्रा डरलाग्दो हुँदैन तर वर्षायाममा नाउको सवारीमा जोखिम छ। पुल भएर कमला नदी तर्ने वर्षौंदेखिको सपना पूरा नहुँदै तुहियो। पुल बनिसकेपछि नाउमा जोखिमपूर्ण यात्राको पिरलो दूर हुन्छ सोचेकी थिएँ,’ उनले भनिन्, ‘१२ वर्षमा कमला पुल त बन्यो तर टिकेन। समान्य बाढीले पुल ढल्दा हाम्रो सपना पनि तुहियो।’

डुंगाबाट कमला नदी पार गरिरहेका धनुषा सगरहाराका विश्वनाथ सञ्जीवले नागरिकसँग भने, ‘यो पुलको हविगत यस्तो हुनुमा ठेकेदार मात्रै दोषी छैनन् सरकार पनि उत्तिकै दोषी छ।’

प्रकाशित: २९ श्रावण २०८१ ०९:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App