४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

पलेशा र एरिकालाई बागमती सरकारको सम्मान

सम्मान ग्रहण गर्दै पलेशा गोवर्धन।

पेरिस पारालिम्पिक्समा कांस्य पदक जित्न सफल पारा तेक्वान्दोका खेलाडी पलेशा गोवर्धन र एसियाली खेलकुद (एसिया) की रजत पदक विजेता करातेकी एरिका गुरुङलाई बागमती प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ।

संविधान दिवसको अवसरमा बिहीबार हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको एक समारोहमा पलेशा र एरिकासहित उनीहरूका प्रशिक्षक तथा तेक्वान्दो र करातेको प्रदेश संघलाई नगदसहित सम्मान गरिएको हो।

प्रदेश सरकारले पलेशालाई १० लाख, एरिकालाई ५ लाख, पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई २ लाख, एरिकाका प्रशिक्षक कुशल श्रेष्ठलाई १ लाख रुपैयाँ तथा तेक्वान्दो र कराँतेको प्रदेश संघलाई समान १ लाख रुपैयाँ प्रदान गरिएको हो।

उनीहरुलाई बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ, खेलकुदमन्त्री मीनकृष्ण महर्जनलगायतका मन्त्रीहरुले सम्मान गरेका हुन्।

एसियन च्याम्पियनसिपमा भाग लिन एरिका र प्रशिक्षक श्रेष्ठ चीनको हाङजाउमा रहेकाले उनीहरु कार्यक्रममा उपस्थित भएनन्। एरिकाको सम्मान उनकी आमा रत्न गुरुङले ग्रहण गरेकी हुन्।

कार्यक्रममा एसियाडमा करातेका व्यवस्थापक निवासगोपाल वैद्य र पारा ओलिम्पिक्सका तेक्वान्दोका व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। कार्यक्रम अघि पलेशा र उनका प्रशिक्षक लामालाई हेटौंडा बजार परिक्रमा गराइएको थियो।

सम्मानपश्चात् पलेशाले पेरिसबाट फर्केकै दिनको झल्कोसहितको सम्मान हेटौंडामा पनि पाएको प्रतिक्रिया दिइन्।

बागमतीका मुख्यमन्त्री लामाले पलेशा र एरिकालाई बधाई दिँदै पछिल्लो समय राम्रो खेल खेलेरै बाँच्न सकिने अवस्था निर्माण हुँदै गएको बताए। उनले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार सदै तयार रहेको बताए।

बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले पदक जित्ने खेलाडीलाई पुरस्कृत गर्न नीतिगत रुपमा स्पष्ट गर्ने तयारी भइरहेको बताए।

प्रकाशित: ३ आश्विन २०८१ २१:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App