४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

संसदीय विशेष छानबिन प्रतिवेदन: रवि लामिछानेविरुद्ध ‘सहकारी ठगी मुद्दा’

लामिछानेको जस्तै प्रकृतिको मुद्दामा राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी

सहकारीको बचत रकम दुरुपयोगसम्बन्धी छानबिन गर्न बनेको संसदीय समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कारबाहीका लागि सिफारिस गरेकोमा सहकारी ऐनअन्तर्गत ‘सहकारी ठगी’ आकर्षित हुने देखिएको छ।

गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशकको हैसियतमा कारबाही सिफारिस भएपछि लामिछानेले ‘सहकारी ठगीमा आफूले क्लिन चिट’ पाएको सार्वजनिक अभिव्यक्ति दिइरहेका छन्। तर कानुनका विज्ञहरूले भने लामिछानेले गरेको कसुरमा ‘सहकारी ठगी’सहित चार वटा कानुन आकर्षित हुने र सोहीअनुसार कारबाही हुने बताएका छन्।

गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट आएको ६५ करोड रुपैयाँ रकम कारोबारमा लामिछानेसहित चार जना संलग्न देखिएको भन्दै संसदीय समितिले कारबाहीका लागि सिफारिस गर्दै प्रतिवेदन बुझाएको छ।

कानुनविद्हरूका अनुसार लामिछानेविरुद्ध सहकारी ऐनअन्तर्गत सहकारी ठगी, संगठित अपराध निवारण ऐन, मुलुकी अपराध संहिता, सम्पत्ति शुद्धीकरण ऐन, लिखत किर्ते अपराधमा कारबाही प्रक्रिया अघि बढ्ने बताएका छन्।

संसद्ले कारबाहीका लागि सरकारलाई सिफारिस गरेकाले प्रहरीले मुद्दा चलाउनुपर्ने उनीहरूको तर्क छ। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिनका लागि बनेको संसदीय विशेष समितिको प्रतिवेदनका आधारमा लामिछानेमाथि सहकारी ठगीको मुद्दा चल्ने कानुनविद् टीकाराम भट्टराईले बताए।

‘क्लिन चिट पाएको भनेर हल्ला गरिँदैछ,’ भट्टराईले भने, ‘संसदीय समितिको प्रतिवेदनमा कारबाही गर्न सिफारिस गरेको छ।’ समितिको सिफारिसअनुसार लामिछाने दोषी देखिएको उनले बताए। ‘प्रतिवेदनले लामिछानेलाई दोषी ठहर गरेको छ,’ भट्टराईले भने, ‘प्रहरीले अनुसन्धान गर्दै जाँदा विभिन्न कानुन आकर्षित हुन्छन्।’

संसदीय छानबिन समितिले गोर्खा मिडिया नेटवर्कमा तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसहित चारजनालाई कारबाही सिफारिस गरेको छ। कानुनविपरीत सहकारीको ६५ करोड रुपैयाँ ल्याएर गोर्खा मिडियामा दुरुपयोग गरेकाले सहकारी ऐनअनुसार लामिछानेविरुद्ध सहकारी गठीको मुद्दा चल्ने अर्का कानुनविद् ओमप्रकाश अर्यालले बताए।

 उनका अनुसार संसदीय प्रतिवेदनका आधारमा लामिछानेविरुद्ध सहकारी ऐनअन्तर्गत सहकारी ठगी, संगठित अपराध निवारण ऐन, मुलुकी अपराध संहिता र सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत मुद्दा चलाउनुपर्छ।

‘कम्पनी (गोरखा मिडिया नेटवर्क) को बिउ पुँजी नै सहकारी ठगी गरेर ल्याएको पैसा हो,’ उनले भने, ‘यसमा सहकारी ऐनअनुसार सहकारी ठगीमा कारबाही हुन्छ।’

मिडियाको आवरणमा सहकारी ठगी भएको उनले बताए। सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडया नेटवर्क प्रालिको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गीतेन्द्रबाबु (जिबी) राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको भन्दै समितिले प्रचलित कानुनबमोजिम कारबाहीका लागि सिफारिस गरेको थियो।

कम्पनीका प्रबन्ध निर्देशक र सेयर सदस्य भएकाले रवि लामिछानेले पैसा कहाँबाट आयो भन्नेमा जबाफदेही हुनुपर्ने विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की बताउँछन्। ‘कम्पनीबाट निर्णय गरेर सहकारीबाट पैसा ल्याएको छ भने जिम्मेवार हुनुपर्छ,’ कार्कीले भने।

नेपालको प्रचलित कानुनअनुसार सहकारीको पैसा कम्पनीमा लगानी गर्न पाइँदैन। झुटा कागजपत्र पेस गरेर ऋण लिएको अर्याल बताउँछन्। दुई वा दुईभन्दा बढी व्यक्तिले योजनाबद्ध रूपमा सहकारीबाट पैसा लिएकाले संगठित अपराध ऐनअन्तर्गत पनि लामिछानेविरुद्ध मुद्दा चल्ने अर्यालले बताए।

सहकारीका बचतकर्ताको पैसा ठगी गर्न अपराधको नयाँ शैली (तरिका) अपनाएकाले मुलुकी अपराध संहिता पनि आकर्षित हुने उनको तर्क छ। ‘गैरकानुनी स्रोतको पैसा प्रयोग गरेर लाभ लिएकाले सम्पत्ति शुद्धीकरण ऐनअनुसार पनि मुद्दा चलाउनुपर्छ,’ अर्यालले भने।

गोरखा मिडिया नेटवर्क प्रालिलगायत कम्पनीहरूमा सेयर खरिद–बिक्री गर्दा कानुनबमोजिम पेस हुने भुक्तानीका साधन र उपकरणहरू पूर्ण नभई किर्ते कागजकै आधारमा खरिद–बिक्री भएकाले पनि किर्तेमा समेत मुद्दा चलाउनुपर्ने कानुनविद्हरू बताउँछन्।

लामिछानेसहित चार जना नै सहकारीबाट आएको रकम खर्च गर्ने क्रममा बराबरी जिम्मेवारी रहेको देखाउँदै कारबाही सिफारिस गरिएको छ। संसदीय समितिले सहकारी कानुनविपरीत गोरखा मिडिया नेटवर्क प्रालिमा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था पोखरा, सुप्रिम बचत तथा ऋण सहकारी संस्था बुटवल, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था काठमाडौं, सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था चितवन र सानोपाइला बचत तथा ऋण सहकारी संस्था वीरगन्जबाट रकम आएको जनाएको छ।

लामिछानेले आफूले सहकारीबाट रकम नल्याएको जिबी राईले ल्याएको रकम गोर्खा मिडिया नेटवर्कमा प्रयोग गरेको भने स्वीकार गरेका छन्। लामिछानेको जस्तै प्रकृतिको मुद्दामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद गीता बस्नेतलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।

बस्नेत अहिले फरार छिन्। सरकारी वकिल कार्यालय रूपन्देहीले सांसद बस्नेतविरुद्ध सहकारी ऐन २०७४ को दफा १२२ (त) बमोजिम कसुर गरेको अभियोगमा मुद्दा चलाएको थियो। उक्त दफामा सहकारी सस्थालाई हानिनोक्सानी पुर्‍याउने उद्देश्यले कसैले कुनै काम गराउन वा नगराउन, मोलाहिजा गर्न वा गराउन, कुनै किसिमको रकम लिन वा दिन, बिनामूल्य वा कम मूल्यमा कुनै माल, वस्तु वा सेवा लिन वा दिन, दान, दातव्य, उपहार वा चन्दा लिन वा दिन, गलत लिखत तयार गर्न वा गराउन, अनुवाद गर्न वा गराउन वा गैरकानुनी लाभ वा हानि पु¥याउने बदनियतले कुनै कार्य गरे वा गराएमा कसुर हुने उल्लेख छ।

बस्नेत छिपछिपे सहकारीसँग प्रत्यक्ष नजोडिए पनि बस्नेत संलग्न रहेको कृष्णसार रिसोर्टमा उनका ज्वाइँ नगेन्द्रबहादुर रिमालले सहकारीबाट पैसा ल्याएका थिए। सोही आधारमा बस्नेतविरुद्ध प्रहरीले मुद्दा दायर गरेको हो।

प्रकाशित: २ आश्विन २०८१ ०७:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App