१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पाँच लाख नपाउँदा करोडपतिको मृत्यु !

भनिन्छ, पुस्तकमा रहेको ज्ञान र पराई हातमा रहेको धन समयमा काम लाग्दैन। सहकारी पीडितको जीवनमा यो भनाइ तीतो यथार्थ बनेको छ। सहकारीमा एक करोड ३६ लाख बचत हुँदा पनि पाँच लाखको उपचार खर्च नपाएर राजेन्द्र स्थापितको मृत्यु भएको छ।

मृतक पीडित ७२ वर्षीय राजेन्द्र स्थापितलाई ब्रेन ह्यामरेज भएको र रकम अभावका कारण समयमा उपचार हुन नसकेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुशलव केसीले बताए । ‘हामीले उनले रकम राखेको सहकारीका अध्यक्ष र डाक्टरलाई राखेर कुराकानी पनि गरेका थियौं,’ उनले भने, ‘सहकारी अध्यक्षले पैसा दिने भनी कबुले पनि समयमा दिएनन्।’

काठमाडौं महानगरपालिका–३१ शंखमूलका स्थायी बासिन्दा ७१ वर्षीय राजेन्द्र स्थापितले युवा विकास बहुउद्देश्यीय सहकारी संस्थामा राखेको एक करोड ३६ लाख रूपैयाँ फिर्ता पाउन नसकेको महासंघले उल्लेख गरेको छ। त्यसका लागि स्थापित विगत १६ महिनादेखि आफैं आन्दोलनमा आउने गरेका थिए। बिरामी हुनुभन्दा पहिला आठ दिनअगाडि पनि उनी आन्दोलनमा आएर बसेको अध्यक्ष केसीले जानकारी दिए।

‘निःसन्तान दम्पतीको एउटै सहारा भनेको सहकारीमा रहेको सम्पत्ति थियो,’ केसी भन्छन्, ‘गम्भीर समस्यामा पनि केही रकम नपाउँदा उनको मृत्यु भयो।’ आफूले अस्पताल र सहकारीका अध्यक्षसामु पैसाको अभावमा उपचार रोक्नुहुँदैन भन्दा पनि त्यो सम्भव नभएको सुनाए।

‘अस्पतालमा भर्ना भएको चार दिनपछि उपचारको अभावमा शनिबार स्थापितको मृत्यु भयो,’ अध्यक्ष केसी भन्छन्, ‘यसले हामी समग्र सहकारी पीडितलाई थप गम्भीर बनाएको छ।’ रकम अभावमा भएको मृत्युको विरोधमा आइतबार सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले र्‍याली निकाल्यो।

बचत रकम फिर्ता नपाएर एक सहकारी पीडितको मृत्यु भएको भन्दै नक्कली शव बोकेर उनीहरूले विरोध प्रदर्शन गरेका हुन्। मृतककी पत्नी दाद्रीबाबा बज्राचार्य निकै भावविह्वल बनेको केसीले जानकारी दिए।

‘उहाँले मृतकका काजकिरिया पनि शान्त वाटिकामै बसेर गर्ने इच्छा व्यक्त गर्नुभएको छ,’ अध्यक्ष केसी भन्छन्, ‘उनको अब कोही सहारा छैन।’ कुनै सन्तान नभएकाले स्थापितकी पत्नीको संरक्षणका लागि सरकारले पहल गरिदिनुपर्ने महासंघको भनाइ छ।

अध्यक्ष केसीका अनुसार सहकारी पीडितहरू तेस्रो चरणको आन्दोलनअन्तर्गत गत जेठ ११ गतेदेखि रिले अनशनमा छन्। सहकारी पीडितको माग सम्बोधनका लागि सरकारले उच्चस्तरीय संसदीय समिति गठन गरे पनि त्यसले आफ्नो समस्या सम्बोधनका लागि पहल नगरेको अध्यक्ष केसीको गुनासो छ। सहकारीकै समस्याका कारण प्रत्यक्ष–अप्रत्यक्ष रूपमा पीडितहरूले आत्महत्यासमेत गर्ने गरेको उनले सुनाए।  

प्रकाशित: २८ श्रावण २०८१ ०६:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App