धनुषाका भोगेन्द्र ठाकुरको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलनमा रहेका मिटरब्याज पीडित संघर्ष समिति र स्थानीय प्रशासनबीच आठ बुँदे सहमति भएको छ।
धनुषाधाम नगरपालिका २ का ठाकुरको शवसहित प्रदर्शन गर्दै आएका उनीहरुसँग प्रशासनले आरोपित मिटरब्याजी शिवजी यादव लगायतका व्यक्तिलाई पक्राउ गरी जाहेरी बमोजिम कारबाही गर्नेलगायत सहमति गरेको हो।
मृतकका बालबालिकालाई विश्वविद्यालयसम्म निःशुल्क शिक्षा र पालनपोषण, ठाकुरलाई शहीद घोषणाका लागि गृह मन्त्रालयलाई अनुरोध गर्ने, मिटरब्याज सम्बन्धी उजुरी उपर सुनुवाइ गर्ने, ठाकुरकी श्रीमती श्यामुकुमारीको निशुल्क उपचार र रोजगारीको व्यवस्था, किरिया खर्चलगायतका लागि गृह मन्त्रालयमा अनुरोध गर्ने सहमति भएको छ।
यस्तै धनुषा प्रशासनले मृतकको परिवारलाई जग्गा भोगचलन गर्न शान्ति सुरक्षाको व्यवस्था मिलाउने प्रतिबद्धता पनि जनाएको छ। मिटरब्याज पीडित संघर्ष समितिका अध्यक्ष मनोज पासवानले सरकारी पक्षसँग सहमति भएसँगै आन्दोलनका कार्यक्रम स्थगित गर्ने सहमति भएको जानकारी दिए।
ठाकुरको गत सोमवार बिहान कुटपिटबाट मृत्यु भएको थियो।
प्रकाशित: १८ श्रावण २०८१ १३:५८ शुक्रबार