अमेरिकी डलर सस्तो दरमा साँट्ने भन्दै पाँच लाख लिएर रातो रुमालमा बेरेको कागजको बिटो थमाएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी शम्भुनाथ नगरपालिका–११ घर भई हाल भक्तपुर बस्ने ४७ वर्षीय सुजित मिजार रहेको प्रहरीले जनाएको छ ।
ठगिनेमा झापा दमक नगरपालिका–१२ घर भई काठमाडौँ महानगरपालिका–९ धुम्बाराही बस्ने ५५ वर्षीय हरिकृष्ण बराल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मिजारले मिजारले पुस ३ गते सस्तो दरमा अमेरिकी डलर साँट्ने भन्दै बराललाई फोन गरेर भक्तपुरको मध्यपुर थिमि नगरपालिका–४ मध्यपुर अस्पताल नजिक बोलाएका थिए । अस्पताल नजिकै भेट भएपछि दुवै जना हनुमन्ते खोला छेउको एकान्त ठाउँमा पुगेका थिए । जहाँ बरालले फोनबाट भएको सल्लाह बमोजिम पाँच लाख नगद दिए । तर, मिजारले पैसाको आकारमा काटिएको कागज रातो रुमालले बेरेर बराललाई थमाएका थिए । पछि खोल्दा त्यसमा कागज भेटिएको बरालले प्रहरीसमक्ष जाहेरीमा उल्लेख गरेका छन् ।
त्यसपछि काठमाडौँ उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले बिहीबार मिजारलाई सल्लाघारीबाट पक्राउ गरेको जनाएको छ ।
प्रकाशित: १९ पुस २०८१ १९:४९ शुक्रबार