स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न जरुरी रहेको बताएका छन्।
सोमबार कान्ति बाल अस्पतालको ६३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सरकारले नागरिकलाई औषधिमा कम खर्च गर्ने स्थिति निर्माण गर्ने कोसिस गरिरहेको जानकारी दिए।
‘आम नागरिकलाई कसरी औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न सकिन्छ, त्यसको उपाय पनि खोज्ने कोसिस गरिरहेका छौँ।’ उनले भने।
मन्त्री पौडेलले कान्ति बाल अस्पतालका लागि अघिल्लो वर्ष झन्डै ८०/८१ करोडको बजेट छुट्याइएको तर इआईए हुन नसकेर प्रक्रिया अघि बढ्न नसकेको भएपनि अब छिटै काम अघि बढ्ने जनाए।
बाल उपचारलाई सातै प्रदेशमा बिस्तार गर्नेगरी सरकारले काम गरिरहेको उनको भनाइ थियो।
‘बाल उपचारका लागि आवश्यक पर्ने सबै जनशक्ति उत्पादन हुने स्थिति यहाँ बन्नुपर्छ। रिसर्चको कुरामा पनि श्रोतको कुरा हो, रिसर्चको पार्टमा पनि के काम गर्न सकिन्छ, त्यसमा पनि काम गरौँ। यसले छुट्टै क्षेत्रलाई प्रतिनिधित्व गर्दछ।’ उनले भने।
मन्त्री पौडेलले कान्ति अस्पतालमै काम गर्ने चिकित्सकका कारण अस्पताल परिवर्तन हुन आवश्यक रहेको बताए।
प्रकाशित: २२ पुस २०८१ १५:१८ सोमबार