२३ पुस २०८१ मंगलबार
image/svg+xml
राजनीति

गगनको उहीँ प्रस्ताव: एकपल्ट आँट गरौँ, केके फाइल खोल्ने हो सबै खोलौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फेरी भ्रष्टाचारको चर्चामा रहेका सबै फाइल खोल्न प्रस्ताव गरेका छन् । केही दिन अघि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा यही प्रस्ताव राखेका गगनले शनिवार गण्डकी कांग्रेसको कार्यक्रममा पुगेर सोही कुरा दोहोर्‍याएका छन् । 

राज्य व्यवस्था समितिको बैठकमा गगनले ‘सत्तामा रहँदा फाइल खोल्दिऊँ, खोल्दिऊँ भनेर ब्ल्याक मेल गर्ने र बाहिर पुगेपछि फाइल खोल्न लागेकाले हटाइदिए’ भन्ने प्रवृत्ति मौलाएको भन्दै त्यसले जनतामा भ्रम सिर्जना भएको बताएका थिए । त्यसैले जे जति चर्चामा छन् सबै फाइल खोलेर जनतालाई प्रस्ट पार्नुपर्ने उनको प्रस्ताव थियो । जुन कुरा पोखरा पुगेर पनि भनेका हुन् । 

‘हामीले एकपल्ट आँट गरौँ, बाहिर भ्रष्टाचार भ्रष्टाचार भन्या छन् यसलाई बाहिर निकालौँ, कांग्रेस एमाले सरकारमा छौँ, माओवादीलाई पनि बोलाऔँ । त्यहीँ बालुवाटारको कोठामा बस्दा बस्दा उहाँहरूको बानी बसिसक्यो त्यहीँ बसौँ,’ महामन्त्री गगनले भने, ‘कुन कुन फाइल खोल्ने भनिएको हो ? फाइलको नाम लेखौँ ।’ त्यसपछि फाइल कसले खोल्ने हो त्यो पनि निर्क्योल गर्दै त्यसका लागि कानुन नै आवश्यक परे पनि बनाउने प्रस्ताव राखे । 

‘र, त्यो फाइल कसले खोल्ने हो ? अख्तियारले हो कि? त्यो फाइल खोल्न अर्को आयोग बनाउनुपर्ने हो कि ? सल्लाह गरेर बनाऔँ । एउटा सशक्त शक्तिशाली आयोग बनाउने भए बनाऔँ ल,’ गगनले थप अगाडि भने । 

उनले पूर्व प्रधानन्यायाधीश बोलाएर बनाउने भए त्यो गर्न पनि प्रस्ताव राखे । उनले भने, ‘एउटा पूर्व प्रधानन्यायाधीशलाई बोलाएर बनाउने हो, कानुन बनाएर बनाउने हो बनाऔं ।’ 

त्यसपछि क्यान्टोनमेन्टको फाइल, गिरिबन्धुको फाइल, बाँसबारीको फाइल, भुटानी शरणार्थीको फाइल जे जे नाम आउँछ सबै फाइलको नाम लेखेर त्यहाँभित्र जो जोले गल्ती गरेका छन् सबैलाई कानुनी दायरामा ल्याउन प्रस्ताव गरे । ‘एउटा मान्छे कांग्रेस होस्, एमाले होस्, माओवादी होस् एक जना मान्छे पनि त्यसबाट छूट पाउनुहुन्न भन्ने ठाउँमा पुर्‍याउँ,’ गगनले भने । 

प्रकाशित: २० पुस २०८१ १६:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App