वृत्ति विकासको माग राख्दै कोसी प्रदेशका वन रक्षकहरू आन्दोलित भएका छन् । प्रदेश निजामती सेवा ऐनमा वन रक्षकहरूलाई आधारभूत तहमा राखेकाले वृत्ति विकास रोकिएको भन्दै वन रक्षकहरू आन्दोलनमा उत्रिएका हुन् ।
वन रक्षकहरूले विगत तीन दिन देखि पर्यटन वन तथा वातावरण मन्त्रालय कोसी प्रदेश परिसरमा विभिन्न माग लेखिएका प्लेकार्डसहित आन्दोलन गरिरहेका छन् । वन रक्षकहरूलाई आधारभूत तहमा राखिएको विरोधमा आन्दोलनमा उत्रिनुपरेको उनीहरूले बताएका छन् ।
वन रक्षक सङ्घर्ष समिति कोसीका संयोजक गोविन्द कटुवालले सबैलाई लोकतन्त्र , गणतन्त्र आए पनि वन रक्षकहरूलाई नआएको गुनासो गरे । उनले भने‘सबेलाई लोकतन्त्र, गणतन्त्र र सङ्घीयता आयो हामीलाई आएन ।’ उनले वन रक्षकहरूलाई आधारभूत श्रेणीका नभई तेस्रो तहका कर्मचारीका रुपमा राख्नुपर्ने आफूहरूको माग गरेको बताए ।
प्रदेश निजामती ऐनमा नै वन रक्षकलाई तेस्रो तहका कर्मचारी सरह राख्न माग गरेको भए पनि प्रदेश सरकारले चासो नदिएको वन रक्षकहरूले बताए । कोसी प्रदेशका मन्त्री, सांसद, मुख्यमन्त्रीलगायतलाई पटक–पटक माग राखे पनि सुनुवाइ नभएपछि आन्दोलनमै उत्रिनुपरेको वन रक्षकहरूले बताएका छन् । कोसी प्रदेशका १४ जिल्लामा ५ सय १३ जना वन रक्षकहरू कार्यरत छन्।
प्रकाशित: १४ श्रावण २०८१ २०:२४ सोमबार