पोखरामा सोमबार बिहान भएको स्कुल बस दुर्घटनाबारे अध्ययन गर्न पोखरा महानगरपालिकाले अध्ययन समिति बनाएको छ। उक्त बस दुर्घटनामा विद्यालयकी कार्यालय सहयोगी र उनका छोरा सहित दुइजनाको ज्यान गएको थियो।
पोखरा महानगरपालिका–२१ छरछरेमा सोमबार बिहान भएको एलपी देवकोटा मेमोरियल स्कुलको बस दुर्घटना सम्बन्धमा छानबिन गर्न पोखरा महानगरपालिकाले छानबिन समिति गठन गरेको हो। नगर प्रमुख धनराज आचार्यको निर्देशनमा शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको संयोजकत्वमा सातदिन भित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति गठन गरिएको महानगरले बताएको छ।
बस दुर्घटनामा विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीय आरती विक र उनका छोरा ६ वर्षीय प्रिन्स विकको ज्यान गएको थियो। दुर्घटनामा बसका चालक, एक शिक्षिका, एकजना अभिभावक र २५ जना विद्यार्थी घाइते भएका थिए । उनीहरुको पोखराका विभिन्न अस्पतालमा उपचार भईरहेको प्रहरीले बताएको छ।
दुर्घटनापछि महानगरले बनाएको अध्ययन समितिमा उपसचिव कृष्णप्रसाद तिवारी, महानगरिय प्रहरी बलका प्रमुख पुरुषोत्तम थापा र मेकानिकल इन्जिनियर सरोज चालिसे सदस्य छन। समितिको सदस्य सचिवमा शिक्षा अधिकृत रामप्रसाद तिवारीलाई तोकिएको छ।
समितिलाई दुर्घटनाको कारण, सवारी साधन र चालकको अवस्था, बसमा सवार विद्यार्थीको संख्या, स्कुल बसले बोक्न पाउने विद्यार्थी संख्या लगायत विषयमा छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले बताए। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अस्पताल पुगेर उपचाररत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।
प्रकाशित: १४ श्रावण २०८१ १७:१६ सोमबार