२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

विश्वकै आकर्षक गन्तव्य बर्दियाको ‘बुर्हान वाइल्डनेस क्याम्प’

विश्वप्रसिद्ध ‘टाइम’ पत्रिकाले कर्णाली नदीको दुई भँगालोको बीचमा अवस्थित ‘बुर्हान वाइल्डनेस क्याम्प’लाई सन् २०२४ मा भ्रमण गर्नैपर्ने विश्वका १०० गन्तव्य सूचीमा राखेको छ। हरेक वर्ष टाइम पत्रिकाले विश्वभरि बस्न र घुम्न सय उत्कृष्ट स्थान समेटेर ‘वल्र्डस ग्रेटेस्ट प्लेसेस’ सूची सार्वजनिक गर्दै आएको छ।

बर्दिया राष्ट्रिय निकुञ्जनजिक रहेको ‘बुरहान वाइल्डनेस क्याम्प’ टाइम पत्रिकाले सार्वजनिक गरेको १०० आकर्षक गन्तव्य सूचीको १६औं नम्बरमा छ। टाइम पत्रिकाले विश्वभरिका १०० होटेल, रेस्टुरेन्ट, क्रुज, म्युजियम, पार्कलगायत समेटेर यो सूची बिहीबार सार्वजनिक गरेको हो।

‘बुरहान वाइल्डनेस क्याम्प’मा पर्यटकले बुट्यान यात्रा (बुसवाक), क्यानो ट्रिप, पन्छी अवलोकन, एन्टी–पोचिङ युनिटसहित वन्यजन्तु ट्र्याकिङ र एसियाली हात्तीमा चढ्ने सुविधा पाउने टाइमले सार्वजनिक गरेको सूची विवरणमा उल्लेख छ। त्यहाँ पर्यटकले एकसिङे गैंडा, बाघ र मृग पनि अवलोकन गर्न पाउँछन्। प्रकृतिमैत्री शैलीमा सञ्चालित बुरहान वाइल्डनेस म्याले त्यहाँकौ जैविक वातावरणलाई कुनै असर नपर्ने गरी संरक्षणलाई पनि प्राथमिकता दिएको टाइम पत्रिकाले जनाएको छ।

यो क्याम्प अन्तर्राष्ट्रिय गन्तव्य सूचीमा पर्नु गौरवको विषय भएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने बताउँछन्। ‘विश्वको गन्तव्य सूचीमा यो स्थान समावेश हुनुले नेपाल सुपर–लक्जरी डेस्टिनेसनका रूपमा परिचित भएको छ ,’ उनले भने। यसअघिसम्म ‘वाइल्ड लाइभ टुरिजम’मा चितवनको वर्चस्व रहेकोमा अहिले बर्दिया पनि यो दौडमा समावेश भएको उनको तर्क छ। लामिछानेका अनुसार यस प्रकारको प्रचारप्रसारले त्यस क्षेत्रमा पर्यटकको आकर्षण बढ्नेछ।

‘जेन गोडाल इन्स्टिच्युट’का पूर्वनिर्देशकसमेत रहेका संरक्षणविद् मनोज गौतमले ‘बुर्हान वाइल्डनेस क्याम्प’ स्थापना गरेका हुन्। यो क्याम्पले स्थानीय समुदायलाई अत्यधिक लाभ सुनिश्चित गर्दै प्रकृति र संस्कृति संरक्षणमा मद्दत गरेको छ।

आगन्तुकलाई स्थानीय र जैविक खाना प्रदान गर्ने यो क्याम्पले आदिवासी थारू संस्कृतिलाई पनि टेवा दिएको टाइम पत्रिकामा उल्लेख छ। यसैगरी यो क्याम्पले स्थानीय युवालाई उद्धार र गाइडसम्बन्धी तालिम तथा रोजगार प्रदान गरेको छ। ‘हामी बर्दिया निकुञ्जको बफर जोनमा उत्तरदायीपूर्ण पर्यटनको विकास गर्न चाहन्छौं,’ गौतमलाई उद्धृत गर्दै टाइम पत्रिकाले लेखेको छ। उनले यस प्रकारका क्याम्प देशका अन्य स्थानमा समेत स्थापन गर्ने लक्ष्य लिएको पत्रिकाले जनाएको छ।

तराईको हरियालीबीच ३७४ वर्ग माइल क्षेत्रमा फैलिएको बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्ला वर्षमा बाघको संख्या बढेर १२५ पुगेको छ। जैविक विविधताको हिसाबले यो निकुञ्ज निकै धनी मानिन्छ।

प्रकाशित: १२ श्रावण २०८१ १२:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App