१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

घटेन लागुऔषध कारोबार

कपिलवस्तुमा तीन वर्षमा तीन सय लागुऔषध कारोबारी पक्राउ

प्रहरीले लामो सयमदेखि लागुऔषधविरुद्ध अभियान सञ्चालन गर्दै आएको छ। तापनि लागुऔषध कारोबार र सेवन गर्नेको संख्या भने घट्न सकेको छैन। खैरो हेरोइन चरेस, स्पास्मो क्याप्सुल, नाइट्रोसन, कोरेक्स, इन्ट्रोसपमलगायत लागुऔषध कारोबारमा निरन्तर वृद्धि  भइरहेको हो।

पछिल्लो तीन वर्षको अवधिमा प्रहरीले लागुऔषध कारोबारमा ३२२ जना पक्राउ गरेको जनाएको छ। मुद्दाको संख्यामा केही घटबढ भए पनि कारोबारीको संख्या भने निरन्तर बढिरहेको छ। तीन वर्षमा १७५ वटा लागुऔषधका मुद्दामा ३२२ जना पक्राउ परेको प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले बताए। गत आव २०८०/८१ मा ५६ वटा लागुऔषधका मुद्दामा १०१ जना पक्राउ परेका थिए। यस्तै आव २०७९/८० मा ५८ वटा मुद्दामा ११० जना र आव २०७८/७९ मा ६१ वटा मुद्दामा १११ जना पक्राउ परेका थिए।

त्यस्तै केही वर्षयता बाणगंगा नगरपालिकामा खैरो हेरोइनका कारोबारी र सेवनकर्ता बढेका छन्। यस्तै कृष्णनगर नगरपालिका क्षेत्रमा रोल्पा, रुकुम लगातयबाट ल्याइएको चरेस नेपाली बाटो हुँदै भारततर्फ जाने गरेका छन्।

कारोबारीले नेपालबाट भारत छिराएका चरेस भारतीय सुरक्षाकर्मीले समेत पक्राउ गर्ने गरेका छन्। जिल्लामा कारोबारसँगै दुव्र्यसनीको संख्यासमेत बढ्दै गएको लागुऔषधविरुद्ध काम गर्दै आएका युवा प्रकाश घिमिरेले बताए।

विगतमा लागुऔषध कारोबार हुने कपिलवस्तु नगरपालिकाको तौलिहवा क्षेत्रमा कमी आए पनि बाणगंगा नगरपालिकामा भने बढेको उनले बताए। ‘लागुऔषध कारोबार तथा यसको कुलतमा खास गरी युवा वर्ग नै फसेका छन्,’ उनले भने।

खैरो हेरोइन भारतको लखनउको बारबंकी भन्ने स्थानबाट जिल्लाको सीमाना हुँदै भित्रिने गरेको तथा चरेस रोल्पा, रुकुम, बाग्लुङ लगायत जिल्ला हुँदै सीमानाकाबाट भारत लैजाने गरिएको छ।

स्पास्मो क्याप्सुल, नाइट्रोसन, कारेक्स, इन्ट्रोसपमलगायत प्रतिबन्धित औषधी भने भारतबाट नेपाल ल्याइने गरिएको छ। कारोबारीहरूले प्रलोभनमा पारेर विपन्न वर्गका मानिसलाई भरियोका रूपमा प्रयोग गरेर नेपालबाट भारत र भारतबाट नेपाल लागु औाषध भित्र्याउने गरेका छन्।

केही वर्षयता कारोबारीहरूले भरियाका रूपमा महिला बढी प्रयोग गर्न थालेका छन्। काबारोबारीहरू पक्राउ परेकाले संख्यात्मक रूपमा बढेको देखिए अहिले विस्तारै घट्दै गएको प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले बताए।

प्रहरीको अभियानपछि लागु औषधको कारोबारी धमाधम प्रहरीको फन्दामा परेको उनले दाबी गरे। ‘लागुऔषध कारोबारीहरूको सञ्जाल तोड्न हामीले आक्रामक रूपमा अभियान चलाएका छौं, त्यसबाट केही सफलतासमेत मिलेको छ,’ उनले भने।

‘हामीले लागुऔषधबारे सूक्ष्म अध्ययन र अनुसन्धान गर्‍यौं, अवस्था गम्भीर देखियो, त्यसैले सबै ढंगबाट नियन्त्रणमा लाग्यौं,’ उनले भने। खुला सिमाना, बढ्दो लागुऔषध सेवनकर्ताले गर्दा यसको नियन्त्रण्मा चुनौती थपिएको उनले बताए।

इलाका प्रहरी कार्यालय पिपराले चलाएको अभियानमा बाणगंगा क्षेत्रमा ठुलो सफलता मिलेको उनले बताए। गत आव २०८०/८१ मा ९७ दशमलव शून्य ७८ ग्राम खैरो हेराइनसहित ७५ जना र ३४ किलो १७० ग्राम चरेससहित सातजना मानिस पक्राउ परेका थिए।

यस्तै आव २०७९/८० मा २३४ ग्राम र ९१६ मिलिग्राम खैरो हेरोइनसहित ७६ जना मानिस र ४० किलो ३९ ग्राम चरेसहित १२ जना तथा १५ किलो ५६० ग्राम अफिमसहित तीनजना पक्राउ परेका थिए। आव २०७८/७९ मा २५२ ग्राम ४९६ मिलिग्राम खैरो हेरोइन सहीत ५९ जना पक्राउ परेका थिए।

प्रकाशित: २३ भाद्र २०८१ ०८:२० आइतबार

# Lagu ousadha