१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

नेपालमा उत्पादित गाँजा भारततर्फ तस्करी!

नेपालको चुरेको फेदी, पहाड, जंगललगायत स्थानमा लुकाएर उत्पादित गरिने लागु औषध गाँजा भारतसम्म सजिलै तस्करी हुँदै आएको खुल्न आएको छ। नेपाल र भारत गरी दुवैतर्फका तस्कर समूहले नेपाली सुरक्षाकर्मीलाई आर्थिक प्रलोभनमा पारेर लागुऔषध गाँजा नेपालबाट सजिलै भारततर्फ तस्करी गर्दै आएका घटना सार्वजनिक भएका हुन्।

गत असार ३० गते नेपालबाट भित्र्याएर भण्डारण गरिएको ठुलो परिमाणको गाँजासहित भारतीय सुरक्षाकर्मीले भारतको बिहार मोतिहारी जिल्लामा पर्ने बखरी पञ्चायतका मुखिया अख्तर साहलाई नियन्त्रणमा लिए।

प्रमुख साहको घरमा छापा मारी  भारतीय सुरक्षाकर्मीले १३१ किलो गाँजा बरामद गरेका थिए । बाराको सुर्वाण गाउँपालिकाको कबहीगोठमा रहेको सन्तगन्ज छोटी भन्सारसँग सीमा जोडिएको बखरी पञ्चायत प्रमुख साहले नेपालबाट ठुलो परिमाणमा गाँजा भित्र्याएर भारतका विभिन्न भागमा पठाउने गरेको सूचनाको आधारमा भारतीय सुरक्षाकर्मीको टोलीले उनीमाथि कारबाही गरेको थियो।

पञ्चालय प्रमुखजस्तो सार्वजनिक पदमा बसेको व्यक्तिको घरबाट बरामद गरिएको लागुऔषध गाँजाबारे भारतीय सुरक्षाकर्मीले अनुसन्धान गर्दा भारतीय गाँजा तस्करहरूले नेपाली सुरक्षाकर्मीहरूकै सहयोगमा नेपालमा उत्पादित गाँजा भारत तस्करी गराउँदै आएको रहस्य खुलेको हो।

प्रमुख साहको घरमा छापा मार्न पुगेको टोलीमा रहेका भारत बिहार आदापुर थाना प्रमुख धनञ्जयकुमार शर्माले साहले नेपालबाट गाँजा मगाएर भारतका विभिन्न राज्यहरूमा समेत पठाउँदै आएको र धेरै प्रयासपछि उनलाई गाँजासहित पक्राउ गर्न सफल भएको बताए।

साहसँगको सोधपुछमा नेपालमा रहेका राजनीतिक व्यक्तिले त्यहाँका सुरक्षाकर्मीलाई मिलाउने काम गर्ने र त्यसका लागि चाहिने रकम पक्राउ परेका साहले दिने गरेको अनुसन्धानको क्रममा खुल्न आएको थाना प्रमुख शर्मले बताए।

सुरुमा गाँजा उत्पादन भएको स्थानबाट किनेर नेपाली तस्कर र सुरक्षाकर्मीहरूको सहयोगमा सीमावर्ती गाउँहरूमा ल्याएर राखिने र सीमावर्ती गाउँहरूबाट सो गाँजा भारतीय सुरक्षाकर्मीहरूको आँखा छली उनीहरूले भारत भित्र्याउने काम गरेर भारतमा गाँजाको ठुलो सन्जाल फैलाएको थाना प्रमुख शर्माले बताए।

भारतीय सुरक्षाकर्मीहरूले नेपालमा उत्पादित गाँजासहित पक्राउ परेको साहले नेपाल प्रहरीका मधेस प्रदेश प्रमुख डिआइजी यज्ञविनोद पोखरेल पनि सहयोगी भूमिकामा रहेको भारतीय सुरक्षकर्मीले खुलाएका छन्।

गत साउन ३१ गते पर्सा प्रहरीले भारततर्फ लैजाँदै गरिएको अवस्थामा १९२ किलो चरेस र २६७ किलो गाँजाको धुलोसहित पर्सा कालिकामाई गाउँपालिका–१ मुडलीका फुलसरिफ मियाँलाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको थियो।

पटेर्वासुगौली गाउँपालिका–४ अकवा गाउँबाट पक्राउ गरिएका मियाँलाई नियन्त्रणमा लिनु नेपाल प्रहरीको लागि ठुलो सफलता भएको पत्रकार सम्मेलनमा पर्साका एसपी कुमोध ढुंगेलले दाबी गरेका थिए।

लामो सयमदेखि लागुऔषध गाँजा र चरेसको कारोबारमा सक्रिय रहेका मियाँ नेपाल र भारत गरी दुवैतर्फका सुरक्षाकर्मीहरूको खोजी सूचीमा रहेको प्रहरी उपरीक्षक ढुंगेलले बताएका थिए।

नेपालमा उत्पादित गाँजालाई भारतसम्म पुर्‍याउन मियाँको गिरोह लामो समयदेखि सक्रिय रहेको पर्सा प्रहरीले जनाएको छ।

गत असार ५ गते इलाका प्रहरी कार्यालय अमलेखगञ्जले भारतीय नम्बर प्लेटको ट्रकमा लुकाएर ल्याउँदै गरेको दुई सय ७० किलो गाँजासहित भारत बिहार रामगढवा थाना धनारदिउली ग्राम बस्ने अन्तोसकुमार गिरीलाई पक्राउ गरेको थियो।

नारायणगढबाट पथलैया हुँदै भारततर्फ जाँदै गरेको एन एल ०१ ऐन ३०६३ नम्बरको भारतीय ट्रकलाई शंकास्पद लागी रोकेर चेकजाँच गर्दा ट्रकको क्याबिनभित्र बक्स बनाई राखिएको अवस्थामा उक्त गाँजा बरामद गरिएको बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताएका थिए।

जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जबाट भारतीय नागरिकसहित नियन्त्रणमा लिएको गाँजासहितको ट्रक भारततर्फ लैजान लाग्दा प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक खड्काले बताए।

गत वैशाख १७ गते रतनपुरीबाट ट्रकमा लोड गरी निजगढतर्फ लैजाँदै गरिएको अवस्थामा इलाका प्रहरी कार्यालय र अस्थायी प्रहरी पोस्ट रतनपुरीको टोलीले दुई सय १६ किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको थियो।

पक्राउ पर्नेमा ट्रकचालक मकवानपुर हाँडीखोला–६ हाल जितपुरसिमरा उपमहानगरपालिका–२ बस्ने दिपक कोइराला र अर्का ट्रकमा सवार मकवानपुर हेटौँडा उपमहानगरपालिका–३० बस्ने जीवन घलान रहेको बाराका प्रहरी उपरीक्षक खड्काले बताएका थिए।

निजगढ नगरपालिकाको रतनपुरीबाट निजगढतर्फ आउँदै गरेको ना५ख ७५५२ नम्बरको ट्रकलाई लालपार्कमा चेकजाँच गर्ने क्रममा ट्रक भित्र लुकाइएको अवस्थामा उक्त परिमाणको लागुऔषध फेला परेको थियो। घटनाबारे अनुसन्धान गर्दा उक्त गाँजा भारततर्फ लैजान लागेको अवस्थाबिच बाटोबाटै प्रहरीले पक्राउ गर्न सफल बनेको दाबी प्रहरी उपरीक्षक  खड्काले गरे।

गत वैशाख ६ गते पनि इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको टोलीले सीमावर्ती क्षेत्र पचरौता नगरपालिका–४ इनर्वाबाट गोली चलाएर २३० किलो लागुऔषध गाँजासहित रौतहट फतुवा विजयपुर नगरपालिका–४ टेग्राहाका चन्दन पासवानलाई नियन्त्रणमा लिएको बाराका प्रहरी उपरीक्षक खड्काले जानकारी गराएका थिए।

भारततर्फ ठुलो परिमाणमा गाँजा तस्करी भइरहेको सूचना पाएपछि त्यसको निगरानी गर्दा मनिससहित लागुऔषध गाँजा बरामद गर्न प्रहरी सफल भएको उनले दाबी गरेका थिए।

प्रकाशित: २३ भाद्र २०८१ ०८:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App