२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

अहेब पढ्न नपाएका कृष्ण बने अस्पताल सञ्चालक

जुम्लाको पातारासी–५ तल्लो लोर्पा गाउँकी ५९ वर्षीया लक्ष्मी बुढामा  खुसीको सीमा छैन। आँखा पोल्ने, चिलाउने र सिंगान बगिरहने समस्याले उनी ग्रस्त थिइन्। उक्त समस्याको समाधान गाउँ नजिकैको पातारासी अस्पतालमा उपचार पाएपछि उनी खुसी छिन्। 

‘सहर बजारको अस्पतालमा जाँदा गाडी भाडा नै ४ सय लाग्छ। आउजाउ र खाजा गरेर एक हजार रुपैयाँ सकिन्छ,’ उनले भनिन्, ‘अहिले गाउँमै अस्पताल खुल्दा यातायात खर्च बचेको छ। यो हामी गरिबका लागि राम्रो सेवा हो।’

उक्त अस्पतालमा भिडियो एक्सरे, ईसीजी र प्रयोगशाला सेवा गाउँमै पाइन थालेपछि हजारौँ खर्च गरेर जुम्ला सदरमुकाममा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जानुपर्ने बाध्यता हटेको उनले बताइन्। प्रतिष्ठानमा लाइन बस्नु पर्ने झन्झटिलो अन्त्य हुने उनको भनाइ छ।

अस्पतालमा अहिलेसम्म  झण्डै एक हजार जनाले उपचार सेवा लिइसकेका छन्। २६ जनाले भिडियो एक्सरे सेवा लिनुका साथै एक सयभन्दा बढीले ल्याब सेवाको उपयोग गरेको अस्पतालको तथ्याङ्क छ। अस्पतालमा ग्यास्ट्रिक, दम र भाइरल ज्वरोका बिरामी बढी आउँछन्।

उक्त अस्पताल जुम्लाको पातारासी–५ लासी बजारमा सोही वडाका ३८ वर्षीय कृष्ण बुढाले निजी लगानीमा सञ्चालन गरेका हुन्। अस्पताल पाँच बेड क्षमताको छ।

उनले करिब ३० लाख रुपैयाँको लागतमा अस्पताल सञ्चालन गरेका हुन्। आफ्नै घरमा खोलेको अस्पतालमा ५ जनासम्म बिरामी भर्ना गरेर उपचार गर्न सक्ने व्यवस्था मिलाएको कृष्णले बताए।

विपन्न र आर्थिक अवस्था कमजोर भएका नागरिकलाई उपचारका लागि सुर्खेत, नेपालगन्जसम्म धाउनुपर्ने बाध्यता हट्ने उनको भनाइ छ। भिडियो एक्सरे, ईसीजी र ल्याब सेवा चलाइरहेका बुढाले हरेक साता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ चिकित्सक ल्याएर बिरामीलाई सुविधा दिने गरेका छन्। अस्पतालमा चिकित्सक नै नियुक्त गरेर २४ सै घण्टा विशेषज्ञ सेवा प्रदान गर्ने उनको तयारी छ।

केही वर्ष अगाडि देशैभर कोरोना महामारी फैलियो। उनी पनि कोरोना संक्रमण भएर झण्डै दुई साता थला परे। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसियुमा बसेर उपचार गराउँदाको पीडा अहिलेसम्म सम्झन्छन्।

‘खोक्दा रगत आउँथ्यो। बाँचिएला जस्तो लागेकै थिएन। डाक्टरहरूले धेरै मिहिनेत अथक गरे बचाए। प्रतिष्ठानले मलाई बचायो,’ उनले भने, ‘त्यही बेला गाउँमै अस्पताल खोलेर सुविधा दिने निर्णयमा पुगेको बुढा बताउँछन्।’

गत असार १ देखि सेवा सुरु गरिएको हो। ‘गरिबीले धेरै बिरामी रोग लुकाएर काल पर्खिरहेका हुन्छन्,’ कृष्णले भने, ‘त्यस्ता बिरामीलाई प्राथमिकता दिएर उपचारको पहुँचमा ल्याउने योजना छ।’

पातारासी अस्पतालमा अहिले दैनिक १५ देखि २० जनासम्मले उपचार गराइरहेका छन्। अस्पतालमा सिनियर अहेब धनबहादुर बुढा र ल्याब टेक्नीसियन पेमा खाडु तामाङ कार्यरत छन्।

अस्पतालले २६ गाउँ बस्तीमा निःशुल्क रूपमा सुगर र ब्लड प्रेसर जाँच अभियान चलाइरहेको छ। सरकारी स्वास्थ्य संस्थामा औषधि उपकरण नपाइने, स्वास्थ्यकर्मी नबस्ने र भरपर्दो उपचार नहुँदा सदरमुकाम खलङ्गासम्म पुगेर उपचार गराउनुपर्ने बाध्यता गाउँमा अस्पताल खुलेसँगै हटेको छ।

सरकारले हरेक गाउँपालिकामा ५ देखि १५ बेडको अस्पताल बनाउनुपर्ने अवधारणा ल्याए पनि स्थानीय सरकारले चासो नदेखाएपछि अस्पताल खोल्न बाध्य भएको उनको भनाइ सञ्चालक कृष्णको भनाइ छ।

अस्पतालले गाउँपालिकासँग मिलेर बस्ती र घरदैलो स्तरमा विशेषज्ञ सेवा पुर्‍याउने योजना बनाइरहेको छ।

२०५९ मा एसएलसी पास गरेपछि अहेब पढेर बाल्यकालमा ‘डाक्टर’ बनेर गरिबको सेवा गर्ने उनको धोको थियो। स्थानीय ऋणमोक्ष मावि डिल्लीचौरबाट २४ जनामध्ये एसएलसी उत्तीर्ण हुने उनी एक्ला थिए।एसएलसी पास भएलगत्तै कृष्ण अहेब पढ्नका लागि फारम भर्न कर्णाली प्राविधिक शिक्षालय पुगे।

त्यति बेला कर्णालीभरिमा यो शिक्षालयमा मात्रै अहेब पढाइ हुन्थ्यो। तर एसएलसी गरेका भन्दा कम पढेकाले मात्र अहेब पढ्न पाउने व्यवस्था भएको हुँदा कृष्णको अहेब पढ्ने सपना अधुरै रहयो। 

प्रकाशित: ११ श्रावण २०८१ १८:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App