२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

हुलाकीको पीडा ‘नगरौँ जागिर जाने,गरौँ शरीरले नधान्ने!’

हुलाक कार्यालय उदयपुर अन्तर्गत इलाका हुलाक पोखरीमा हुलाकका कर्मचारीहरू । तस्विरः महेश्वर

२६ वर्षको कलकलाउँदो उमेरमा जागिर सुरु गरेका जिल्ला हुलाक कार्यालय उदयपुरका  हुलाकी (पत्र बाहक) भीमबहादुर बुढाथोकी अहिले उमेरले ५५ वर्ष पुगे। यतिका वर्ष खाएको जागिर यो उमेरमा ‘छाडौँ कि समाऔँ’को भएको छ। जागिरकै सिलसिलामा २०६० सालमा त्रियुगा नदीको बाढीले उनलाई बगायो। गम्भीर घाइते भएका उनी सो पछि अहिलेसम्म उच्च रक्तचाप र बाथ रोगले ग्रस्त छन्।

रोगी भएकै कारण १९ वर्षदेखि कार्यालयमै दर्ता चलानी फाँट सम्हाल्दै आएका बुढाथोकी अहिले पुनः हुलाकी भएर बाहिर खटिनुपर्ने भएपछि जागिरको उत्तरार्द्धमा चिन्तित बनेका छन्। कार्यालयले डाक बोक्न फिल्ड खटाएपछि ‘नगरौँ जागिर जाने, गरौँ शरीरले नधान्ने’ अवस्था भएको उनी बताउँछन्।

बुढाथोकी जस्तै २९ वर्षदेखि कार्यरत अर्का हुलाकी भीमबहादुर थापाको पीडा पनि उस्तै छ।  मुटु रोगी उनले केही वर्षअघि ‘ओपन हार्ट सर्जरी (अप्रेसन)’ गराएका थिए। परिवार धान्ने अन्य उपाय नभएपछि बिरामी भएर जागिर खाइरहेको बताउने उनी उमेर र जागिर उत्तरार्द्धमा यस्तो आपत् आई परेको बताउँछन्। थापा र बुढाथोकी मात्र होइन, जिल्ला हुलाकमा कार्यरत १८ जना हुलाकी कर्मचारीको समस्या र पीडा एकै छ। 

हुलाकीहरू गंगबहादुर बानिया, अमृत दनुवार, खड्गबहादुर पुरी, सूर्यबहादुर खत्री, देवेन्द्र बस्नेत, देवराज ढकाल, गौरसिंह राई छन्। त्यस्तै, मानबहादुर खत्री, टेकप्रसाद पोरेल, नरेन्द्र खत्री, भरत कार्की, देवबहादुर श्रेष्ठलगायत १७ जना ‘कि खटाएको ठाउँमा काम गर्न अन्यथा जागिर छाड्न’ कार्यालयले दबाब दिइरहेको गुनासो गरिरहेका छन् । समस्या कतै सल्टिन्छ कि भन्ने आशाले अहिले हाकिमको चाकरी बजाउन बाध्य भएको दुखेसो उनीहरूको छ। 

हुलाक कार्यालयले ठुलो सङ्ख्यामा कर्मचारी दरबन्दी कटौती गर्दा यस्तो समस्या आएको हो। गतवर्ष ९५ जना हुलाकी दरबन्दी रहेकोमा कटौती गरेर ६३ जना कायम गरिएको थियो। चालु वर्ष त्यसलाई घटाएर १७ जना कायम गर्दा उमेर र जागिरको उत्तरार्द्धमा हुलाकीलाई आपत् आइलागेको उनीहरु बताउँछन्।

कर्मचारी घटाउने र करार हटाउने नीति बमोजिम हुलाकले दरबन्दी कटौती गरेको हुलाक अधिकृत हरिलाल खत्री बताउँछन्। उनका अनुसार दरबन्दी कटौती हुँदा करारका ३४ जनाको जागिर गइसकेको छ। रत्न राई, अम्बिका पुडासैनी, खगेन्द्र राई, गौरव श्रेष्ठ, विनोद दनुवार, मीना चौधरी, डिगबहादुर कामी, घनकुमारी रोका, अर्जुन पुरी, रेवत रोका, भीमबहादुर राई, राजन कार्की ढोली, अर्जुन खत्री, अर्जुन खड्का, दुर्गा रास्कोटी, माया खड्का, दिलमाया खड्का, मञ्जु खड्का, इन्दिरा भुजेललगायत करारहरू दरबन्दी कटौतीसँगै जागिर छाडिसके।

दरबन्दी कटौतीपछि जनशक्तिको कमीले डाक बोक्ने रुट पनि कार्यालयले गाभेर सङ्ख्या घटाएको खत्रीले बताए। पहिला ४ जनाले बोक्ने रुटमा २ जना, ३ जनाको जिम्मेवारी १ जनालाई सुम्पिनु परेपछि स्वाभाविक रुपमा हुलाकीहरूलाई केही मर्का परेको खत्रीले बताए। तर, विभागको निर्णय भएकाले आफूले केही गर्न नसक्ने उनी बताउँछन्। गाईघाट–बेलटार–रामपुर, गाईघाट–मुर्कुची–कटारीजस्ता सडकको पहुँच भएको ठाउँमा रुट कटाउँदा खासै समस्या नभए पनि पहाडी भेगमा सडक नपुगेको र पुगे पनि खराव हुनाले डाक बोक्ने समस्या यथावत् हुँदा हुलाकीहरू मार्कामा परेको उनीहरूको गुनासो छ।

‘बजार क्षेत्रमा सडकले सहज भए पनि पहाडी भेगको सडक खराव छ त्यसमाथि रुट दोब्बर  बनाइएको छ’ गाईघाट–डहर खटाइएका बुढाथोकीले भने ‘म बिरामी छु, यतिका वर्ष दर्ता चलानीमा सेवा गरेँ, अव २ वर्ष जागिर बाँकी हुँदा त्यस्तो ठाउँ खटाइयो। सक्दिन भन्दा जागिर छाड्न दबाब दिइन्छ।’ यत्तिका वर्षको सेवा कार्यालयले नबुझ्दा अन्यायमा परेको गुनासो बुढाथोकीको छ ।

हुलाकीहरूले कार्यालयले गलत नजर राखेको अर्थाएका छन्। बल, बैँस सेवा गरेर बिताए पनि वृद्धावस्थाका दोहोरो मारमा पर्दा कार्यालयले बुझ्नुपर्ने अपेक्षा उनीहरूको छ। ‘धेरैजसो हुलाकी २÷३ वर्ष मात्र जागिर बाँकी रहेका छौँ’ हुलाकी भीम थापाले भने ‘यो उमेरमा हाकिम सा’वले सहज बनाइ दिनुपर्नेमा दरबन्दी कटौती गरेर थप झन्झटिलो बनाइ दिनुभयो ।’ पुराना कर्मचारीले जागिर छाडे नयाँ भर्ना गर्ने उद्देश्यले यस्तो गरेको हुनसक्ने आशङ्का खत्रीप्रति तेर्स्याएका छन् उनीहरुले।

अधिकृत खत्री पनि उमेर हदका कारण केही महिना मात्र सेवा अवधि बाँकी रहेको स्रोतले जनाएको छ। ‘उहाँ पनि हामीजस्तै जागिरको उत्तरार्द्धमै हो’ एक कर्मचारीले भने ‘तर, यो बेला दरबन्दी कटौतीको सिफारिस गर्दा हामीलाई दुःख भयो। फिल्ड नखटे जागिर छाड भन्नुहुन्छ । हामीले छाड्यौँ भने नयाँ कर्मचारी भर्ना गर्ने दाउमा हुनुहुन्छ कि!’ 

कार्यालय प्रमुख खत्रीले भने दरबन्दी कटौतीको निर्णय विभागले गरेको भन्दै यसमा आफ्नो कुनै भूमिका नहुने बताए। विभागले दरबन्दी कटौती गरेपछि करार कर्मचारीहरू सेवा सुविधा नलिई बिदा भइसकेको भन्दै उनले कायम दरबन्दीमा स्थायी हुलाकी मात्र रहेको र उनीहरूबाटै काम चलाउन रुट घटाइएको बताए। 

प्रकाशित: ११ श्रावण २०८१ १७:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App