२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

दिक्तेल रुपाकोट मझुवागढीले थाल्यो बाँसजन्य वस्तु प्रवर्द्धन

जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बाँसजन्य वस्तुको उत्पादन तथा प्रवर्द्धन गर्न सुरु गरेको छ। बाँसबाट बन्ने फर्निचर, भवनलगायत विभिन्न सामान उत्पादन गर्दै स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न नगरपालिकाले बाँसजन्य वस्तुको प्रवर्द्धन गर्न सुरु गरेको हो।

नगरपालिकामा बाँस प्रशस्त पाइने भएकाले विभिन्न किसिमका सामग्री उत्पादन गरेर रोजगारीका अवसर सिर्जना गर्नुका साथै बाँसजन्य वस्तुको प्रवर्द्धनमा जोड दिइएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए। “यसका लागि नीतिगत योजना पारित गरिसकेका छौँ। चालु आर्थिक वर्षमा विनियोजित १० लाख रूपैयाँबाट बाँसजन्य वस्तुको उत्पादन तथा प्रवर्द्धन सुरु गर्नेछौँ”, उनले भने।

नगरप्रमुख भट्टराईले पालिकाले यसअघि पनि बाँसको उपयोग गरेर स्तनपान कक्ष बनाएको छ। “यहाँ ११ प्रजातिका बाँस पाइन्छन्। यसबाट विभिन्न किसिमका घरायसी सामान तथा भवन बनाउन सकिन्छ। यसैको उदाहरणस्वरूप नगरपालिकाको प्राङ्गणमा स्तनपान कक्ष बनाएका छौँ”, उनले भने।

बाँसबाट विभिन्न घरायसी सामग्री निर्माण, उत्पादन तथा प्रवद्र्धनका लागि नगरपालिकाकोतर्फबाट तालिम दिने तयारी गरिएको नगरप्रमुख भट्टराईले बताए। नगर मातहतका विभिन्न सरकारी तथा गैरसरकारी निकायका कार्यालयमा बाँसका सामान बिक्री गरिने बताउँदै स्थानीय स्तरमा सीप विकासका लागि नीतिगत योजना बनाएर तालिमको व्यवस्था गरिने उनले बताए।

स्थानीयस्तरमा खेर गइरहेका बाँस प्रयोग गरी घरायसी सामग्री बनाएर प्रयोग गर्दा नगरको रकम बाहिर नजाने, सीप विकास हुने, यहाँको पहिचान हुने, स्थानीयको अर्थतन्त्रमा सुधार हुनुका साथै युवा पुस्तामा रोजगारी सिर्जना हुने नगरप्रमुख भट्टराईको विश्वास छ। स्थानीय बासिन्दाले उत्पादन गरेका बाँसका सामग्री बिक्रीका लागि नगरले बजार व्यवस्थापन गर्ने योजना रहेको उनले बताए।

बाँसजन्य वस्तुको प्रवर्द्धनका लागि दिक्तेल बजारमा राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्ने तयारी गरिएको नगर कार्यालयले जनाएको छ। आगामी कात्तिक २, ३ र ४ गते दिक्तेल बजारमा राष्ट्रिय बाँस सम्मेलन गर्ने मिति निर्धारण गरिएको नगरप्रमुख भट्टराईले बताए। उनका अनुसार तीन दिनसम्म सञ्चालन हुने सम्मेलन आयोजना गर्न नगरपालिकाले पाँच लाख रूपैयाँ  बजेट विनियोजन गरेको छ।

सम्मेलनमा विभिन्न देशका बाँससम्बन्धी विज्ञ, विश्वविद्यालय, व्यवसायी, पर्यावरणकर्मी तथा बाँसका पारखीहरू सहभागी हुने जनाइएको छ। नगरप्रमुख भट्टराई र उपप्रमुख विशन राईको कार्यकक्षमा बाँसका कुर्सी, टेबल लगायत फर्निचर प्रयोग गरिएका छन्। नगरप्रमुख र उपप्रमुख बाँसकै कुर्सीमा बसेर काम गर्छन्।

आफूहरू निर्वाचित भएर जनप्रतिनिधिका रूपमा आउनासाथ स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने नीति अनुसार बाँसका सामग्री उपयोग गर्न सुरु गरिएको उपप्रमुख राईले बताए। नगरप्रमुख र उपप्रमुखले आयातीत सुविधायुक्त कुर्सी, टेबल लगायत सामग्री हटाएर बाँसका सामग्री उपयोग गर्न थालेपछि सुरुमा धेरैले असहज महसुस गरे पनि बिस्तारै सकारात्मक प्रतिक्रिया दिन थालेका छन्।

देशमा सङ्घीयता कार्यान्वयन हुनुभन्दा अगाडिबाटै १० स्थानीय तह रहेको जिल्लामा बाँसका सामग्री उत्पादन तथा बिक्रीवितरण हुँदै आएको थियो। जिल्लामा बाँसबाट उत्पादित नाङ्लो, डालो, थुम्से, कोक्रो लगायत घरायसी सामग्री जिल्ला बाहिरका सहरमा निर्यात हुँदै आएको व्यवसायीले बताउने गरेका छन्।

सङ्घीयता लागू भएपछि जिल्लाका सबै स्थानीय तहले घरेलु उत्पादनलाई प्रवर्द्धन गर्न नीति तथा कार्यक्रम बनाएर सहयोग उपलब्ध गराउँदै आएका छन्। निर्वाहमुखी व्यवसाय गर्दै आएका व्यवसायीका लागि स्थानीय तहले आर्थिक, प्राविधिक तथा औजार समेत उपलब्ध गराउन थालेपछि व्यावसायी घरेलु सामग्री उत्पादनमा हौसिएका छन्।  

प्रकाशित: ११ श्रावण २०८१ १३:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App