२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

पुनः निर्माण गरिँदै अर्घा दरबार

अर्घाखाँचीको धार्मिक तथा पर्यटकीय स्थल अर्घा दरबार पुनः निर्माण थालिएको छ।

अर्घा अग्लो पहाडको थुम्कोमा अवस्थित प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेको रमणीय थलो हो। बाइसे चौबिसे राज्यका समयमा राजकाज चलाउने स्थानको रुपमा रहेको यहाँ हाल महाकाली मन्दिर र दरबार रहेको छ।

पन्ध्रौँ शताब्दीदेखि अस्तित्वमा रहेको यो मन्दिरमा विजया दशमीको पूर्णिमाको दिन विशेष मेला लाग्छ। सराये नाचको प्रमुख उद्गमस्थलको रुपमा अर्घाको दरबार र अर्घा भगवती मन्दिर रहेको छ। बाइसे चौबिसेराज्य अन्तर्गत पर्ने यस राज्यको दरबार पहिलेकै अवस्थामा रहने गरी पुरानै शैलीमा पुरातत्त्व विभागले निर्माण कार्य अघि बढाएको हो।

पुरातत्त्व विभागको अन्वेषण र खोजीका आधारमा बाइसे चौबिसे राज्य अन्तर्गत पर्ने राज्यकालको अवधिमा भएको डिजाइन र शैलीमानै पुरातत्त्व विभागद्वारा निर्माणकार्य सुरु भएको दरबार संरक्षण समितिका अध्यक्ष सरोज भुसालले बताए।

दरबार पहिला तीन तले रहेको अनुसन्धानबाट पत्ता लागेको छ। दरबार निर्माण सुरु भएपछि अर्घा भगवती मन्दिरमा पर्यटक बढी आउने अपेक्षा गरिएको मन्दिरका पुजारी किशोर आचार्य बताउँछन्।

हाल मन्दिरमा भगवतीको मूर्ति प्रतिस्थापन गरिएको छ। सन्धिखर्क नगरपालिकाले अर्घा दरबार अर्थात् अर्घा भगवती मन्दिरमा १० फिटको बेसमा, २१ फिटको मूर्ति राखेको छ।

मूर्ति प्रतिस्थापनसँगै मन्दिर तथा पौवा निर्माण गरिएको छ। दरबार तथा मन्दिर वरिपरि चिटिक्क पारिएको छ। लिच्छवीकाल देखिनै दरबार तथा मन्दिरमा पूजाआजा हुँदै आएको बताइन्छ।

लुम्बिनीमा आएका पर्यटक तथा अर्घाखाँचीकै धार्मिक पर्यटकीय स्थल सुपा देउरालीमा आएका पर्यटकलाई सदरमुकाम सन्धिखर्क हुँदै अर्घामा लैजान सकिने सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँगै गुल्मीको रेसुङ्गा र प्युठानको स्वर्गद्वारीमा आएका पर्यटकलाई अर्घा दरबारतर्फ आकर्षित गराउने उद्देश्यले मूर्ति स्थापना गरिएको उनी बताउँछन्।

प्रकाशित: १० श्रावण २०८१ १७:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App