२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

प्लास्टिकको भर, पहिरोको डर, जाग्रम रातभर

‘राती पानी दर्किदा मन थर्किन्छ’

पोखरा महानगरपालिका वडा नम्बर–१९ लामाचौर र हरिपाउँ जोड्ने अमलाबिसौनी–घार्मी–अम्बरेश्वर सडकखण्ड २०७७ सालमा स्तरोन्नति भयो। सडक बिस्तारसँगै स्तरोन्नति गरेको एक वर्ष नबित्दै घार्मी मैदान क्षेत्रको सडकमा चिरा पर्‍यो। घरमाथिको सडक चिरा परेर पहिरो खस्न लागेपछि बस्ती जोगाउनका लागि स्थानीयले वडा सरकार गुहारे। वडाले तत्काल सडकलाई प्लाष्टिकले ढाकेर पहिरो जानबाट रोक्ने प्रयास गर्‍यो।

तर तत्कालका लागि प्लाष्टिकले ढाकेर पहिरो रोक्न प्रयास भएकाे तीन वर्ष बितिसक्याे। आज हुन्छ, भोलि हुन्छ भन्दाभन्दै तीन वर्ष बित्दापनि सडक भने बनेन। अहिले त्यहाँका स्थानीय त्रसित छन्। घरका बलियाबाङ्गा सबै विदेश छन्। घरमा अधिकांश महिला र केटाकेटी मात्र छन्।

अविरल वर्षा भइरहँदा उनीहरु जाग्राम बसेर रात कटाउँछन्। अझ असार २७ गते राती छिमेकी गाउँ पोखरा–१९ तल्लाकोटमा पहिरो गएर एकै परिवारका ६ जनासहित ७ जनाको ज्यान गएपछि उनीहरुको जीवन त्रासैत्रासमा बितिरहेको छ। भन्छन्, ‍‘कतै तल्लाकोटकोजस्तै घटना आफ्नो ठाउँमा पनि दोहोरिन्छ कि भनेर सुत्नै सक्दैनौं।’

सडक नबन्दा पाँच घर जोखिममा पर्दा उनीहरुका ३० जना प्रभावित बनेको स्थानीय कृष्णप्रसाद पौडेलले बताए। ‘रातदिन हारगुहार गर्दा पनि सडक बनाउने तत्परता देखाएनन्।’ उनले भने, ‘वडाले बर्सेनि सडकलाई पाल ओढाउँदै राखेको छ। यो आँखामा छारो हाल्ने काम मात्र भयो। हामी जोखिममा पर्‍यौं।’

बाटोको उचाई र चौंडाई बढाउँदा सडक चिरा परेको उनको दाबी छ। ‘बाटो ठाडै बनाएपछि पहिरोको जोखिम त परिहाल्छ नि ! ’ उनले भने, सडक बनाउनुपर्‍यो। हाम्रो जमिन सुरक्षित गरिदिनु पर्‍यो।’

स्थानीय रञ्जु पौडेलले कतिखेर पहिरो आएर लैजान्छ भन्ने अत्यासले रातभर सुत्न नसकेको बताउँछिन्। ‘बाटोको भल कोठामै पस्छ’, उनले भनिन्, ‘श्रीमान् विदेश हुनुहुन्छ। हामी रातभर अत्यासिन्छौं। दिनभर काम गरेर रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ।’

उमेरले बुढ्यौली लागेकी ७० वर्षिया वृद्धा ईन्द्रमाया पौडेल ज्यानको खतरा मोलेर घरमा बस्नुपरेको गुनासो गर्छिन्। ‘राती पानी दर्किदा मन थर्किन्छ। थरथर ज्यान काम्छ। तर के गर्नु ? नजिकमा आफन्त छैनन् कहाँ जानु ? बसौं ज्यानको खतरा छ।’ उनले भनिन्।

पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे वडाको बजेटले नधान्ने भएकाले सडक बनाउन नसकिएको निरीहता पोख्छन्। वडाले सक्ने पाल टाँगेर समस्याको अस्थायी समाधान गरेको भन्दै उनी भन्छन्, ‘हाम्रो बजेटले धान्दैन। प्रदेशमा योजना पठाएका थियौं तर बजेट परेन।’

उनले स्थानीयलाई केही समय अन्तै स्थानान्तरण गर्नुपर्ने बताए। ‘उहाँहरुलाई ठाउँ छाडेर अन्तै जानुस् भनेर आग्रह गरेका छौं, उनले भने, ‘तर उहाँहरु छाड्न मान्नु हुँदैन। जोखिम मोलेर बस्दा कुनैपनि समय दुर्घटना हुनसक्छ।’

स्थानीय कृष्णप्रसाद पौडेल थातथलो छाडेर नसकिने बताउँछन्। ‘कसैले जा भन्दैमा जान सकिँदैन’, उनले भने, ‘बर्खाभरीको समय करिब २ महिनाका लागि अस्थायी सर्छौँ। तर सँधैका लागि थातथलो छाड्दैनौं। यसैलाई सुरक्षित बनाइदिनुस्।’

प्रकाशित: ५ श्रावण २०८१ १५:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App