१२ भाद्र २०८१ बुधबार
image/svg+xml
समाज

इलाममा अपराधका घटनाको संख्या बढ्दै

प्रहरी कार्यालयको गतिविधिबारे जानकारी दिँदै एसपी प्रभुप्रसाद ढकाल र डिएसपी प्रकाश जबेगू । तस्बिर:भीम/नागरिक

इलाममा अपराधका घटनाको संख्या बढेको छ। अघिल्ला आर्थिक वर्षको तुलनामा भर्खरै बितेको आव २०८०/०८१ मा कर्तव्य ज्यान, लागुऔषध, अभद्र व्यवहार,  भवितव्य ज्यान, सवारी ज्यानलगायत मुद्दाको संख्या बढेको हो ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार गतवर्ष प्रहरीमा तीन सय ७५ मुद्दा दर्ता भएका छन् । तीमध्ये एक सय ८२ फस्र्याेट भए भने एक सय ९३ मुद्दा बाँकी छन् । आव २०७९/०८० मा चाहिँ जम्मा मुद्दाको संख्या तीन सय ५८ रहेको थियो । आव २०७९/०८० मा एक सय ९३ मुद्दा फस्र्याेट भएका थिए भने एक सय ६५ बाँकी थिए । प्रहरीले आव ०८०/०८१ मा कर्तव्य ज्यानका नौ, ज्यान मार्ने उद्योगका दुई मुद्दा दर्ता भएको जनाएको छ । त्यसअघिको वर्ष कर्तव्य ज्यानका ६ र ज्यान मार्ने उद्योगका ८ मुद्दा दर्ता थिए ।

जिल्लामा लागु औषधका घटनाको संख्या पनि बढिरहेको छ । गत आवमा लागु औषधका १८ मुद्दा दर्ता भएकामा अघिल्लो वर्ष १४ थिए । प्रहरीले लागुऔषध चाहिँ जिल्लाको मुख्य समस्या बनिरहेको जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले लागुऔषध नियन्त्रणलाई प्रहरीले प्राथमिकता दिएको बताए । ‘हामीले लागुऔषध नियन्त्रणका लागि चाहिँ अभियानै सञ्चालन गरिरहेका छौँ,’ उनले भने, ‘अहिले मुख्य समस्या नै लागुऔषध भएको छ ।’

इलाम नगरपालिका वडा ६, ८, ९, १२, माई नगरपालिका १, ७, चुलाचुली गाउँपालिका १, ३, ४, सूर्योदय नगरपालिका ५ र ६ लगायत क्षेत्रमा लागुऔषध प्रयोग र कारोबार देखिएको प्रहरी भनाइ छ । ‘१९ देखि ३० वर्षसम्मका युवा लागु औषधमा बढी देखिन्छन्,’ एसपी ढकालले भने, ‘यसको नियन्त्रणका लागि नेपाल–भारत सीमा नाकामा आऊ–जाऊ गर्ने मानिस र सवारी साधनको चेकजाँच बढाइएको छ । स्कुल र गाउँ–टोलमा पनि जनचेतनामूलक कार्यक्रम गरिरहेका छौँ ।’

सवारी दुर्घटनाको संख्या पनि बढेको देखिएको छ । आव ०८०/०८१ मा जिल्लामा ५६ सवारी साधन दुर्घटना भएका छन् । यी घटनामा १५ जनाको मृत्यु भएको छ । अघिल्लो वर्ष दुर्घटनाको संख्या ४५ रहेकामा १२ जनाको मृत्यु भएको थियो । 

महिलाविरुद्ध हुने हिंसाका घटना चाहिँ आव ०८०/०८१ मा प्रहरीमा २५ वटा दर्ता भएका छन् । अघिल्लो वर्ष यो संख्या २७ रहेको प्रहरीले जनाएको छ । भारतसंग सीमा जोडिएको इलाममा सीमा नाकाबाट हुने चोरी निकासी र पैठारीबाट आव ०८०/०८१ मा २५ लाख ४२ हजार  राजस्व संकलन भएको छ । अघिल्लो वर्ष यसबाट ६२ लाख ४४ हजार संकलन भएको थियो । एसपी ढकालले यो वर्ष निर्वाचन पनि परेको र प्रहरीको धेरै जनशक्ति शान्ति–सुरक्षामा खटिँदा सीमामा गस्ती कम भएको बताए । ‘पछिल्लो वर्ष चोरी–पैठारी गर्नेको संख्या पनि कम भएको हुनसक्छ,’ उनले भने ।

अदालतबाट दोषी ठहर भई फरार रहेका ७१ जनालाई गएको वर्ष पक्राउ गरिएको छ । उनीहरूबाट ४० वर्ष सात महिना १३ दिन कैद कार्यान्वयन गराइएको छ । अदालतले उनीहरूलाई ५० लाख १९ हजार  जरिमाना गराएको थियो । ‘हामीले पक्राउ गरेका फरारहरूले भुक्तान गर्नुपर्ने कैद अवधि थोरै–थोरै भए पनि जरिमाना चाहिँ धेरै नै देखियो,’ एसपी ढकाल भन्छन्, ‘कैद धेरै तोकिएकाहरू बढी लुक्न नै खोजिरहेका हुन्छन् ।’

त्यो वर्ष जिल्लाबाट एक सय ६० जना हराएकामा एक सय २१ जना फेला परेका छन् । ३० महिला, ६ पुरुष, दुई बालिका र एक बालक अझै फेला नपरेको प्रहरीले जनाएको छ । 

अपराध, नियन्त्रण र कानुनी सचेतनाका लागि एक वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा एक हजार तीन सय ७५ कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ । यसमा रेडियो कार्यक्रम, चेतनामूलक अभियानलगायत छन् । 

प्रकाशित: २ श्रावण २०८१ १९:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App