२९ भाद्र २०८१ शनिबार
image/svg+xml
राजनीति

दाहाललाई एमालेको प्रश्न: प्रधानमन्त्री पद गएको औडाहा र छटपटी यति छिटो ?

नेकपा एमालेका सांसद रघुजी पन्तले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि प्रश्नै–प्रश्न तेर्स्याएका छन्।

आइतबार प्रतिनिधिसभालाई सम्बोधन गरेका अध्यक्ष दाहालको अभिव्यक्तिको प्रतिवाद गर्दै सांसद पन्तले प्रधानमन्त्री पद गएको औडाहा र छटपटी भन्दै प्रश्नले घेर्ने कोसिस गरेका हुन्।

माओवादी अध्यक्ष दाहालले सार्वजनिक लेखा समितिको पद विपक्षी दललाई नदिएको भन्दै प्रमुख प्रतिपक्षी दलको नेताको पद पनि सत्ता पक्षलाई लिन भन्दै आक्रोश पोखेका थिए।

त्यसको विपक्षमा एमाले सांसद पन्तले एक पटक संविधान पढ्न सुझाव दिए। ‘संविधान त पढ्नुस् नेता ज्यु। प्रमुख पद तपाईँले खोजेर हामीले खोजेर पाउने पद होइन। संविधानले तपाईँको पार्टीलाई दिएको छ,’ उनले भने,‘आफूलाई नचाहिए छेउमै जनार्दनजी (जनार्दन शर्मा) हुनुहुन्छ उहाँलाई दिनुस्।’

त्यसपछि प्रधानमन्त्री पद गएकामा औडाहा र छटपटी भन्दै प्रश्न गरे। उनले भने, ‘प्रधानमन्त्री पद गएको यति औडाहा र छटपटी यति छिटो देखाउनुपरेको ?’

अध्यक्ष दाहालले सत्ता खोज्दै नहिँड्ने भन्ने अभिव्यक्तिमाथि पनि सांसद पन्तले खरो टिप्पणी गरे।

‘चाहिँदैन सत्ता भन्नुहुन्छ, चाहिँदैन सत्ता भन्नुहुन्छ। हिजो तीनचोटी घरी यता घरी उता, जता सत्ता उतै प्रचण्ड भन्ने व्यक्ति तपाईँ होइन ? यो कुरा संसदभित्र स्थापित गर्ने व्यक्ति को ? तपाईँ स्वयम् होइन। तपाईँका कारण यो देशले अस्थिरता भोगेको होइन ?,’ सांसद पन्तले भने,‘तपाईँका कारण राजनीतिज्ञले विश्वसनीयता गुमाउन थालेका थिए। बाहिर मानिसहरू भन्न थालेका थिए नक्कली र नक्कलेले लुगा फेरेको जस्तो प्रचण्डले दल फेर्छन्, समीकरण फेर्छन्। त्यसैले फर्केर हेर्नुस्, आज ठुला दल मिलेर सरकार बनाउँदा मलाई सत्ता चाहिँदैन भन्ने बेला होइन।’

प्रकाशित: ११ भाद्र २०८१ १५:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App