२ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

कान्ति तालमा दुर्लभ सारशकोबासस्थान

बच्चा हुर्काउँदै सारश जोडी, तालमा बढ्न थाल्यो चहल पहल

नेपालगन्जस्थित कान्ति ताललाई बासस्थान बनाएका सारश।

विश्वमै दुर्लभ मानिने सारशले नेपालगन्जस्थित कान्ति ताललाई आफ्नो बासस्थान बनाएको छ। दुर्लभ पक्षीका रुपमा रहेको सारशलाई नेपाल सरकारले संरक्षित पक्षीको सूचीमा समेत राखेको छ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ र २२ मा पर्ने २५ बिघा क्षेत्रफल रहेको उक्त ताल प्राकृतिक सिमसारका रुपमा रहेको छ।

तालमा ठेकेदारले मोटर बोट चलाउन खोजेपछि यसअघि चौतर्फी रुपमा विरोध भएको थियो। नेपालगन्ज उपमहानगरपालिकाले अहिले ठेकेदारलाई मोटर बोट चलाउन रोक लगाएको छ। दुर्लभ पक्षी सारशले वासस्थान बनाएपछि तालमा अवलोकन गर्ने मानिसहरूको चहल पहल बढ्न थालेको छ।

सारश संरक्षण अभियानमा लामो समयदेखि लागेका वरिष्ठ संरक्षणकर्मी राजेन्द्र सुवाल कान्ति तालमा सारशको बास स्थान देखेर दङ्ग परे। ‘कान्ति ताल सारशका लागि राम्रो बास स्थान बनेको रहेछ,’ उनले नागरिक न्युजसँग भने ‘अहिले सारशको एउटा जोडीले बच्चा हुकाईरहेको हामीले देख्न पायौँ।’ संरक्षणकर्मी सुवालका अनुसार सारश सिमसार क्षेत्रमा बस्न रुचाउने सबैभन्दा ठुलो उड्ने पक्षी हो। यो चराको विशेषता भगवान गौतम बुद्धसँग जोडिएकाले आफैमा महत्त्वपूर्ण पक्षी मानिन्छ।

‘सारश जहिले पनि जोडी बनाएर बस्ने भएको हुँदा यसलाई प्रेमको प्रतिक पनि मानिन्छ, यसले तलाउका अलवा धान खेतमा पनि गुड बनाउँछ, तर प्रायःजसो सिमसार क्षेत्रमै गुड बनाएर अण्डा कोरल्छ,’ उनले थपे। सारशका जोडी(भाले र पोथी) ले करिब एक महिनासम्म पालैपालो अण्डा कोरल्छन्। कान्ति ताल सारशका लागि निकै राम्रो वासस्थान रहेकाले यहाँ अझ यसको संख्या बढ्न सक्ने सुवाल बताउँछन्।

सारशका लागि बाँके र बर्दियामै सबैभन्दा राम्रो वासस्थान कान्ति ताल भएको संरक्षणकर्मीको भनाई छ। कान्ति ताल बाहेक बाँकेस्थित राप्ती नदीको तल्लो तटीय क्षेत्र, बाँके र बर्दियाको सिमा क्षेत्र मानखोला लगायत स्थानमा पनि सारशको बसोबास छिटपुट रुपमा देखिने गरेको छ। 

पछिल्लो तथ्याङ्क अनुसार नेपालमा ८ सय ९५ प्रजातिका चराहरू पाइन्छन्। नेपालमा हिउँद महिनामा १ सय ५३ र गर्मी याममा ६२ प्रजातिका चरा आगन्तुक चरा देश बाहिरबाट आउँछन्।

तर, सारशको संख्या भने यकिन छैन। नेपाल पक्षी संरक्षण संघका अभियन्ताहरु डंगौरा प्राकृतिक सिमसार मासिँदै जाँदा नेपालभर सिमसारमा आश्रित चराहरू खतरामा रहेको बताउँछन्। चराहरूको अनुसन्धान, खोज र चराहरूमा परेको अप्ठ्यारा र न्यूनीकरणका क्षेत्रमा काम गर्दै आएको उनले सुनाए। डंगौराले भने, ‘हरेक ठाउँको सिमसार क्षेत्र त्यतिकै महत्त्वपूर्ण हुन्छन्, कान्ति ताल त झन् नेपालगन्जको बिचमा अवस्थित छ, यहाँ कान्ति ताल हुनु नै महत्त्वपूर्ण कुरा हो, किनकि यहाँ विभिन्न प्रजातिका चरा छन्।’

कान्ति तालमा सारश सहित विभिन्न प्रजातिका चराको पनि बसोबास छ। तालमा दुर्लभ पक्षी सारश सहित जलअप्सरा, विभिन्न प्रजातिका रैथाने चरा, सरीसृप, दुर्लभ प्रजातिको मलाहा बिरालो (फिसिङ क्याट) लगायतको वासस्थान रहेको छ। यहाँ गर्मीयाममा युरोप, मध्यपुर्वी एसिया, इन्डोनेशियाबाट र जाडो याममा साइबेरिया, उत्तरी चिन लगायत देशबाट चराहरू आउँछन्। बसाई सरेर आउने आगन्तुक चराले पनि तालमै बच्चा उत्पादन गर्ने गर्छन्।

पक्षी विद् रामबहादुर शाहीले बाँके र बर्दियामा रहेका प्राकृतिक सिमसार मध्ये कान्ति ताल सबैभन्दा राम्रो सिमसार क्षेत्र रहेको बताए। नेपालमा संरक्षित चरा मध्ये सारश प्रजातिको चरा कान्ति तालमै पाइने भएकाले यो आफैमा महत्त्वपूर्ण सिमसार क्षेत्र रहेको बताए। ‘कान्ति तालमा पुगेपछि हामीले तीन वटा सारश प्रत्यक्ष आँखाले देख्न पायौंं, यो एकदमै लोपोन्मुख प्रजातिको चरा हो, नेपाल सरकारले यसलाई संरक्षित सूचीमा राखेको छ,’ उनले भने।

प्रकाशित: २७ भाद्र २०८१ १५:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App