३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

सिमलताल बस दुर्घटना: बङ्गलादेशबाट तालिम लिएका १० जना गोताखोरले खोज्दै

नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूलीमा खसेका दुई वटा यात्रुवाहक बस र यात्रीको तीव्र रुपमा खोजी भइरहेको छ।

नेपालका नदीमा खोजतलास गर्नसक्ने अन्तर्राष्ट्रिय तालिम प्राप्त गोताखोर र प्रविधिको प्रयोगगरी खोजतलास भइरहेको हो।

सशस्त्र प्रहरी बल नेपाल एवं विपद् तालिम शिक्षालय कुरिनटारका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक माधव पौडेलका अनुसार बङ्गलादेशबाट तालिम प्राप्त १० जना गोताखोर परिचालन गरिएको छ। गोताखोरसँगै एक सय जनाको शिक्षालयका सशस्त्र प्रहरी परिचालन गरिएको उनले जानकारी दिए।

सशस्त्र प्रहरी बल नेपाल नम्बर तीन गढिमाइ बाहिनी मुख्यालय मकवानपुरका वरिष्ठ उपरीक्षक एवं सूचना अधिकारी तीर्थ पौडेलले एन्कर (फलामे हुक), वाटर ड्रोन (सोनार), पाइप इन्स्पेक्सन स्वेर क्यामरालगायत आधुनिक उपकरणको प्रयोग गरी खोजी कार्य भइरहेको बताए।

'नदीको धमिलो र बगिरहेको पानीमा गोताखोरले आधुनिक उपकरणको प्रयोग गरी खोजी गरिरहेका छन्', उनले भने, 'अन्तर्राष्ट्रिय रुपमा समुन्द्रको सफा पानीका लागि तयार पारिएका उपकरण धमिलो पानीमा प्रभावकारी नहुने भएकाले सोहीअनुसारका उपकरण प्रयोग गरिएको छ।'

यसअघि त्रिशूलीमा खसेको गाडी खोजतलासका लागि बङ्गलादेशबाट गोताखोर आएको भएपनि बगेको धमिलो पानीमा काम गर्न सहज नभएको भन्दै वरिष्ठ उपरीक्षक पौडेलले अहिले जुन जनशक्ति र प्रविधि प्रयोग भएको छ यत्तिको प्रविधि अन्यत्र नभएको दाबी गरे।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्लास्थित सुरक्षाकर्मी एवं सशस्त्र प्रहरी बल, विपद् तालिम शिक्षालय र नेपाली सेनाको विपद् व्यवस्थापन गण, रसौलीलाई खोज तथा उद्धारमा परिचालन गरिएको जानकारी दिए।

उनले भने,'नदी र वरपर बेपत्ता बस यात्रीको खोजी गर्न अधिकतम प्रयास गरिरहेका छौँ।' गृहसचिवसहित सुरक्षा निकायका प्रमुख यहाँ आउन लाग्नुभएको जनाउँदै भन्दै उनले स्थानीय प्रशासनका तर्फबाट सम्पूर्ण प्रयार र जनशक्ति परिचालन गरिएको बताए।  

 हालसम्म तीन वटा शव फेला परेका छन्। असार २८ गते बिहान ३ः३० बजेको समयमा भरतपुर महानगरपालिका वडा नं २९ नारायगढ–मुग्लिन सडकखण्डको सिमलतालमा वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख००१ नम्बरको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका थिए।

प्रकाशित: ३० असार २०८१ १२:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App