२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

भारी वर्षाको राति गाडी चलाउन रोक

फाइल तस्वीर

अबदेखि भारी र अति भारी वर्षा हुने तथा पहिरो जान सक्ने भनी जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको दिनमा रातको समयमा कुनै पनि गाडी चलाउन नपाइने भएको छ। शुक्रबार गृह मन्त्रालय, यातायात व्यवस्था विभाग तथा यातायात व्यावसायीहरूबीच भएको छलफलमा यस्तो सहमति जुटेको हो।

गृह मन्त्रालयका सहसचिव तथा विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा. भीष्म भुसालका अनुसार जल तथा मौसम विज्ञान विभागले यो–यो ठाउँमा र यो–यो दिन भारी तथा अति भारी वर्षा तथा पहिरो जान सक्ने सम्भावना रहेको भनी अनुमान गरेको दिन तत्–तत् ठाउँ र तत्–तत् दिनमा रातिबसलगायत राति कुनै गाडी चलाउन नपाउने सहमति भएको हो। यसको प्रभावकारी कार्यान्वयन र अनुगमन यातायात व्यवस्था विभाग र यातायात व्यावासायीहरूले गर्ने भएका छन्।

‘हामीले जल तथा मौसम विज्ञान विभागसँग डाटा माग्नेछौं। विभागले उपलब्ध गराएको डाटा यातायात विभाग र यातायात व्यवसायीहरूलाई दिनेछौं,’ भुसालले भने, ‘सोही डाटाअनुसार यातायात व्यावसायीहरूले तत्–तत् दिन र तत्–तत् ठाउँमा रातको समयमा गाडी चलाउने छैनन्। यसको कार्यान्वयन भए÷नभएको बारेमा यातायात व्यवस्था विभागले अनुगमन गर्नेछ।’

भारी तथा अति भारी वर्षा भएको दिन र पहिरो जान सक्ने भनी अनुमान गरिएको दिनमा राति गाडी चलाउँदा बढी जोखिम हुने भएकाले यस्तो निर्णय गर्नुपरेको भुसालको भनाइ छ। ‘दिउँसो भन्दा राति बढी जोखिम देखियो,’ उनले भने, ‘त्यसैले जोखिम भएको दिन रात्रिबस लगायत रातको समयमा अरू गाडी चलाउन पूर्ण रूपमा निषेध गर्ने सहमति भएको हो।’

मन्त्रालय स्रोतका अनुसार गृह मन्त्रालयले सुरुमा वर्षायामभरि रात्रिकालीन गाडी गुडाउन पुरै निषेध गर्ने प्रस्ताव गरेको थियो तर सो प्रस्तावमा यातायात व्यवासायीहरूले असहमति जनाए।

वर्षायामभरि रात्रिकालीन गाडी चलाउन निषेध गर्दा आफूहरूको व्यवसाय चौपट हुने र बैंकलाई किस्तासमेत तिर्न नसक्ने अवस्था आउने गुनासो गरेपछि वर्षा तथा पहिरोको जोखिम भएको दिन र ठाउँमा मात्र रात्रिकालीन गाडी नचलाउने सहमति जुटेको हो।

यसैगरी मन्त्रालय, यातायात व्यावसायी र विभागबीच भएको सहमतिमा अबदेखि पहिरो आउन सक्ने तथा डुबान हुन सक्ने सम्भावित ठाउँहरूमा ट्राफिक प्रहरीले छुट्टै संकेत चिह्न राख्ने सहमति भएको छ।

यसैगरी गाडी चलाउँदा सडक अवरोध भए सवारी चालक (ड्राइभर) ले सडक अवरुद्ध भएको ठाउँबारे पहिले नै जानकारी लिनुपर्ने र गाडीलाई त्यस ठाउँमा लानुअगावै खाद्यान्न, शौचालय, सुरक्षालगायत विभिन्न कारणले सुरक्षित देखिएको ठाउँमा गाडी रोक्नुपर्ने सहमति भएको छ।

सडक अवरुद्ध भई बाटो जाम भएको अवस्थामा स्थानीय व्यापारीले कालोबजारी गरे त्यसको कडा निगरानी गर्न र चोरीलगायत घटना हुन नदिन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले तत्काल अनुमगन र नियमन गर्ने सहमति भएको छ।

प्रकाशित: २९ असार २०८१ ०८:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App