२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

२२ बुँदे माग सम्बोधनको प्रतिबद्धता

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानविरुद्ध आन्दोलनमा उत्रिएको नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र तरुण दल पछाडि हटेका छन्। प्रतिष्ठानभित्र भएका बेथितिबारे विभिन्न २२ बुँदे माग राखेर प्रतिष्ठान विरुद्ध आन्दोलनमा उत्रिएका हुन्। गत असार १६ गते नेपाल विद्यार्थी संघ र नेपाल तरूण दलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई २२ बुँदे ध्यानाकर्षण बुझाएका थिए।

प्रतिष्ठानले गठन गरेको वार्ता समिति र आन्दोलनरत पक्षको बिहीबार बिहान भएको संयुक्त रूपमा गरिएको पत्रकार सम्मेलनमार्फत आन्दोलन स्थगित भएको जानकारी गराइएको हो।

नेविसंघका जिल्ला सभापति महेश हमालले प्रतिष्ठानका उपकुलपति डा. मंगल रावललाई प्रतिष्ठानको सेवा प्रवाह र सेवासुविधाका विषयमा ध्यानाकर्षण गराएपछि आन्दोलनका कार्यक्रम अगाडि बढाइएको बताए।

यता तरुण दलका अध्यक्ष हेम बुढथापाकाका अनुसार नेविसंघ र तरुण दलको मागको सम्बन्धमा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यको नेतृत्वमा सर्वदलीय कार्यदल गठनसमेत गरिएको थियो।

विभिन्न चरणमा भएका छलफल र वार्तापछि आन्दोलनबाट पछि हट्नुपर्ने टुंगोमा पुगेको छ। २२ बुँदे ज्ञापनपत्रका सम्बन्धमा प्रतिष्ठानले गम्भीरतापूर्वक लिँदै कार्यकारी समितिको बैंठकले रजिस्ट्रार नृपेन्द्र महतको संयोजकत्वमा तीन सदस्यीय संयोजन तथा वार्ता समिति गठन गरेको थियो। रजिस्ट्रार महतका अनुसार प्रतिष्ठानले पत्रकार सम्मेलन गर्दै नेविसंघ र तरुण दलले उठाएका २२ बुँदे मागका सम्बन्धमा प्रतिष्ठानले २२ बुँदे प्रतिबद्वता जनाएको छ।

गत १६ गते नेविसंघ र नेपाल तरूण दलले संयुक्त रूपमा बुझाएको ध्यानाकर्षण पत्रमा किड्नी डाइलासिस सेवा सुचारु हुनुपर्ने, भिडियो एक्सरे सेवा सुरु हुनुपर्ने, इन्डेस्कोपी सेवा नियमित सञ्चालन गर्ने र एम्बुलेन्स सेवा सुरु हुनुपर्नेलगायत माग राखेका थिए। यी समस्याहरू चरणबद्ध रूपमा काम गर्दै र सुधार्दै जाने प्रतिबद्धता जनाइएको छ।

 रजिस्ट्रार महतले भने, ‘नेविसंघ र तरूण दलका मागहरू यथार्थपरक थिए। मागहरूलाई गम्भीरतापूर्वक लिइएको छ।’

रजिस्ट्रार महतले पत्रकार सम्मेलनमा उठेका प्रश्न र जिज्ञासामाथि उचित सम्बोधन गरिने दाबीसमेत गरे।

यस्तै प्रतिष्ठानका निर्देशक डा. पुजन रोकायाले ओपिडी, बिमा, फोहोर व्यवस्थापन र ब्लड बैंकका बारेमा उठेका प्रश्नमा जिज्ञासा जायज भएको भन्दै कार्यान्वयन गरिने बताए। नेपाल तरूण दल जुम्लाका संयोजक हेम बुढथापाले प्रतिष्ठानले गरेका प्रतिबद्धता यथाशीघ्र कार्यान्वयन हुनुपर्ने औंल्याए। आन्दोलन रोकिएको छैन। प्रतिबद्धताअनुसार काम नभए फेरि आन्दोलन हुनेछ।

यता नेपाल विद्यार्थी संघ जुम्लाका सभापति हमालले प्रतिबद्धता सकारात्मक रहे पनि कार्यान्वयन प्रक्रियामा इमानदारीपूर्वक हुनुपर्ने बताए। उनले भने, ‘प्रतिबद्धता पुूरा हुनेमा आशावादी छौं। आधिकारिकता त कार्यान्वयन भएपछि हुनेछ। खबरदारी गर्न पछि हट्नेछैनौं।’

पत्रकार सम्मेलनको अध्यक्षता गरिरहेको प्रतिष्ठानका शिक्षाध्यक्ष डा. डबल धामी प्रतिष्ठानका गतिविधिमाथि सचेत तवरबाट प्रश्न उठ्नु स्वाभाविक भएको बताउँछन्। ‘नेविसंघ र तरुण दलले हामीलाई खबरदारी गर्नु हाम्रो गतिविधिमा निगरानी गर्नु हो,’ उनले भने, ‘यसले हामीलाई सेवा प्रवाहमा सचेत हुनुपर्छ। यता नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाहीले कर्णाली प्रतिष्ठान बनाउन सबैको भूमिका महत्त्वपूर्ण हुने बताए।  

प्रकाशित: २८ असार २०८१ १०:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App