२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

भाडा नतिर्ने टहरामा लगायो गुठीले ताला

जुम्लाको चन्दननाथ भैरवनाथ गुठीले भाडा दिएका ७ टहरामा ताला लगाएको छ। जिल्ला प्रशासन कार्यालय,सुरक्षा निकाय र सरोकारवालाहरूको अगुवाइमा ताला लगाएको हो। करिब सात महिनादेखि १८ महिना सम्मको भाडा नतिर्ने टहरामा गुठी व्यवस्थापन समितिले ताला लगाएको बताइएकाे छ।

चन्दननाथ भैरबनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष अम्मर बहादुर थापाका अनुसार चन्दननाथ भैरबनाथ गुठी व्यवस्थापन समितिसँग भएको सम्झौता अनुसार विभिन्न व्यापार व्यवसाय संचालन गरेर लामो समय सम्म भाडा नतिर्ने व्यापारीको टहरामा ताला लगाइएको हो।

सम्झौतानुसार लामो समयसम्म भाडा नदिने र ताकेता गर्दा पनि अटेरी गर्ने व्यापारीको टहरामा तालाबन्दी गरिएको चन्दननाथ भैरबनाथ गुठीका कोषाअध्यक्ष नवराज श्रेष्ठले बताए। उक्त टहराबाट २१ लाख २१ हजार ५ सय ३६ रुपैयाँ उठ्नुपर्नेछ। चन्दननाथ नगरपालिका-५ स्थित कालेखोली लाईनमा रहेका ७ वटा टहरामा ताला लगाइएको हो।

उनले भने, ‘कालेखोली क्षेत्रमा गुठीको जग्गामा ३६ वटा टहरा संचालन छन्। ३६ वटा मध्ये १० वटा टहराले लामो समयदेखि भाडा तिरेका छैनन्। उनीरुलाई पनि अल्टीमेटम दिइएको छ। भनेको समयभित्र भाडा नबुझाए त्यहाँ पनि ताला लगाइनेछ।’

खाली जग्गा राख्नु भन्दा स्थानीयको जीविको पार्जन पनि होस भनेर टहरा भाडामा दिएका  गुठीका अध्यक्ष थापा बताउँछन्। एउटै टहराबाट लाखौ रकम उठन बाकीँ छ। ३/३ महिनामा भाडा बुझाउने सम्झौता भएपनि अटेरी गरेका छन्।

न्युनतम सात महिनादेखि अधिकतम १८ महिनासम्मका भाडा तिर्न बाँकी छन्। भाडा तिर्नको पटकपटक ताकेता गर्दासम्म अटेरी गरेपछि बाध्य भएर तालाबन्दी गर्नु परेको गुठीले जनाएको छ।  कर्णालीकै प्रसिद्ध चन्दननाथ भैरब नाथ मन्दिरको संरक्षण तथा प्रर्बद्धनका लागि बजेट अभाव छ। गुठीभित्र पुजापाठ गर्न र कर्मचारीलाई तलब खुवाउन कठिनाइ छ।

गुठीको जग्गामा व्यापार गरिसकेपछि भाडा तिर्न नमान्नु हदैसम्म ढिला गुर्न राम्रो पक्ष नभएको नागरिक अगुवा राज बहादुर महतको भनाई छ। उनी चन्दननाथ मन्दिरको प्रर्वद्धनका लागि सबै सरोकारवाला एकजुट हुनुपर्ने बताउँछन्।

प्रकाशित: २६ असार २०८१ १३:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App