२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

अझै खुलेन कर्णाली राजमार्ग, सयौँ यात्रु अलपत्र

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग र करिडोर अझै सुचारु हुन सकेको छैन। जसका कारण २ सय बढी यात्रु तथा मालवाहक गाडी अलपत्र परेका छन्।

तीन दिनदेखि अवरुद्ध रहेको राजमार्गको विभिन्न ६ स्थान र करिडोरको ३ स्थानमा पहिरो खसेर पूर्ण रूपले बन्द भएको हो।

कर्णाली करिडोरको भुराबगर, भात्तडी लगायतका ठाउँको पहिरो हटाइए पनि रेगिंल भीरको पहिरो हटाउन नसकिएकोले सडक खुल्न नसकेको प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए।

कर्णाली राजमार्ग सुर्खेत-जुम्ला सडक अन्तर्गत कालीकोटको मान्मदेखि जुम्ला खण्डमा पनि पहिरो हटाइए तापनि गगने खोला नजिक खसेको ठूलो ढुंगा विष्फोट गर्नुपर्ने भएकोले सडक खुल्न सकेको छैन।

प्रजिअ नेपालीले भने, "ठूलो ढुंगा खसेकोले डोजरले पनि फाल्न सकिएन, ब्रेकरले फुटाउँदा पनि सम्भव भएन। कम्प्रेसर मेसिनले १५ वटा होल खोपेर नेपाली सेनामार्फत विष्फोट गराउनु पर्नेछ।"

सडक विभागका ३ वटै डोजर हुल्म दैखोला सडक खण्डमा गगने खोला नजिकैको पहिरो र ढुंगा पन्छाउन व्यस्त छन्।

डिएसपी अर्जुन केसीले कर्णाली करिडोरको रेगिंलमा पनि पहिरो पन्छाउने काम भइरहेको बताए। नेपाली सेनाको हेडक्वाटरबाट आदेश लिएर भोलिसम्म विष्फोटको काम सकेर सडक सुचारु गर्न सकिने सेनानी रन्जित कार्कीले बताए।

कर्णाली राजमार्ग र करिडोर दुवै अवरुद्ध हुँदा यात्रुहरू पहिरो खसेको ठाउँदेखि पैदल हिँडेर गन्तव्यतिर जान बाध्य छन्।

असार लागे यता कर्णाली राजमार्ग सुर्खेत-जुम्ला सडक १७ पटक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले जानकारी दिए। "मानवीय क्षति भएको छैन," उनले भने, "तर १६ वटा घर, गोठ र घट्टमा क्षति पुगेको छ।"

प्रकाशित: २४ असार २०८१ २२:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App