१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

विद्युतीय झड्काबाट समुदायलाई जोगाउन साइरन

गत असोज २२ गते चितवनको माडी स्थित कृष्ण नगरमा जनावरलाई छेक्न जडान गरिएको सौर्य ऊर्जाको करेन्ट लागेर २८ वर्षीय विकल्प सुवेदीको मृत्यु भयो। आफ्नै घर नजिकै रहेको बारीमा घाँस काट्ने क्रममा करेन्ट लागेर उनको कलिलै उमेरमा मृत्यु भएको हो।

यसरी वन्यजन्तुबाट जोगिन राखिएको विद्युतीय झड्कामा मानिस परेपछि समुदायलाई  जोगाउन साइरन राखिएको छ। चितवन राष्ट्रिय निकुञ्ज अन्तरगतको अयोध्यापुरी मध्यवर्ती व्यवस्थापन समितिले समुदायलाई विद्युतीय झड्काबाट जोगाउन माडीका चार स्थानमा सात वटा साइरन जडान गरेको छ। ‘जनावरलाई छेक्न राखिएको तारमा परेर एक जनाको मृत्यु भएपछि विद्युत् छोड्नुभन्दा अगाडि साइरन बजाउन थालेका छौँ,’ अयोध्यापुरी मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष शिवजि गायकले भने, ‘समुदायले सुनेपछि अलआउट हुन्छन्।’

विद्युत् प्रवाह भएपछि साइरन बजाउने गरिएको छ। मध्यवर्ती व्यवस्थापन समितिले १० किलोमिटरको दुरीमा साइरन राखेको छ। गोपाल नगरदेखि शिवद्वारसम्मलाई समेट्ने गरी त्रिवेणी मन्दिरमा राखिएको छ। त्यस्तै शिवद्वारदेखि कृष्णनगरसम्मको क्षेत्रलाई समेट्ने गरी कृष्ण नगरमा र बबई क्षेत्रमा साइरन जडान गरिएको छ। चार ठाउँमा सात वटा मेसिन रहेका छन्। हरेक दिन बेलुका सात बजेदेखि साइरन बजाउने गरिएको छ। यसका लागि सात जना हेरालु राखिएको मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष गायकले जानकारी दिए। दिउँसो वनमा मानिसहरूको आवतजावत बढी हुने भएकाले रातिमा करेन्ट प्रवाह गर्ने गरिएको छ। 

माडीलाई चारै तिर चितवन राष्ट्रिय निकुञ्जले घेरेको छ। यहाँबाट निस्कने वन्यजन्तुले मानिसलाई आक्रमण गर्नेदेखि अन्नबालीसमेत नष्ट गरिदिने गर्दछन्। माडी ८ की झनमाया शाहीलाई पनि घर आडको खेतमा काम गर्दा भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो। अहिले पनि उनी पुर्णरुपमा ठिक भएकी छैनन्। ‘भालुले २५ वर्षअघि आक्रमण गरेर घाइते भए । उपचारका लागि पटक पटक काठमाण्डौँसम्म गइयो, २५ वर्षअघिको स्मरण गर्दै झनमायाँले भनिन् ‘आक्रमण गरेको दाहिने खुट्टाको घुँडा खुम्चनै छाड्यो।’

वन्यजन्तुबाट मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्नका लागि विद्युतीय तार सहितको मेसजाली १० बर्ष अगाडि जडान गरिएको हो। तर, मानवीय क्षती भने पहिलो पटक भएको उनले बताए। यसअघि घरपालुवा जनावर र वन्यजन्तु यस तारमा परेका थिए। विशेष गरी हात्ती, बाघ, गैँडा लगायतका वन्यजन्तुलाई रोक्नका लागि विद्युतीय तार लगाइएको हो। यसले झड्का दिएर वन्यजन्तु तथा मानिसलाई हत्याउने काम गर्दछ। तर, एक पटक हुत्याएपछि सोही तारमा छुन गएमा करेन्ट लाग्ने अध्यक्ष गायकले बताए। यसले २ सयदेखि ३ सयसम्मको भोल्टको करेन्ट प्रवाह गर्दछ। तर यसले नियमित करेन्ट प्रवाह गर्दैन। एक सेकेन्ड करेन्ट प्रवाह गरेपछि एक सेकेन्ड करेन्ट प्रवाह हुँदैन।

माडीका यी स्थानमा तराई भू–परिधि तालको सहयोगमा साइरन राखिएको छ। यसका लागि यसका लागि एक लाख ४० हजार रुपैयाँ खर्च भएको छ। 

प्रकाशित: १३ असार २०८१ १४:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App