३१ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

मिस युनिभर्स नेपालसँगै खासै नसुनिएको डिस्अर्डरको चर्चा पनि चुलिंदै

सन् २०२३ मा मिस युनिभर्स नेपालमा सहभागी भएर यसको ताज पहिरेकी जेन दिपिका ग्यारेट । तस्बिर : यामकुमारी कंडेल, जिपिजे नेपाल । 

जेन दिपिका ग्यारेटले मिस युनिभर्स नेपालमा भाग लिंदैछिन् भन्ने थाहा पाएपछि उनका परिवारले यसलाई हाँसोको रुपमा उडाए । 'कसैलाई पनि विश्वास थिएन मैले जित्छु भनेर,' उनी भन्छिन् ।

आफू किशोरी छँदा ग्यारेटले मोटोपनाकै कारण बर्षौंसम्म दुर्व्यवहार सहेकी थिइन् । उनले कुनै साथी बनाइनन् र मानिसहरुबाट पनि सकेसम्म टाढै बसिन् । पछि उनले बारम्बार आत्महत्याको प्रयास पनि गरिन् । सन् २०२२ मा औषधिको अधिक सेवन गरेपछि, उनले काठमाडौंको नर्भिक अस्पतालमा ५ दिनसम्म उपचार गराएकी थिइन् ।

तर सन् २०२३ मा मिस युनिभर्समा भाग लिने र विशेष स्थानमा पुग्ने पहिलो प्लस साइज महिला बनेपछि भने उनले इतिहास रचिन् । सो प्लेटफर्मको प्रयोग गरी हाल उनी आफ्नो जीवन बदल्ने डिप्रेसन र पोलिसिस्टिक ओभेरियन सिन्ड्रोमजस्ता रोगहरुका बारेमा चेतना फैलाउने गर्छिन् । उनी बडी पोजिटिभिटी (शारीरिक सकारात्मकता) र समावेशिताको प्रतिक बनेकी छिन् । उनी विशेष गरी दुब्ला महिलालाई सुन्दरताको मानक मान्न असहमत महिलाहरुकी आइकन हुन् ।

पिसिओएस के हो ?

जितको केही महिनापछि पाँच फिट सात इन्च अग्ली ग्यारेट मुस्कुराउँदै होटेलको कार्यक्रम हलमा प्रवेश गर्छिन् । उनले गुलाबी गाउन र 'मिस युनिभर्स नेपाल' लेखिएको छड्के सेतो रिबन (स्यास) लगाएकी छिन् । भिडमा उत्सुकताका जाग्छ । धेरैजसोले उनलाई सामाजिक सञ्जाल र टेलिभिजनको माध्यमबाट चिनेका छन् । पिसिओएस सोसाइटी अफ नेपालले आयोजना गरेको कार्यक्रमकी सम्मानित अतिथि ग्यारेट पोलिसिस्टिक ओभेरियन सिन्ड्रोमसँगका आफ्ना संघर्षहरु सुनाउन त्यहाँ उपस्थित भएकी हुन् ।

उनी दर्शकसँग बडी सेमिङ (शरीरबारे नकारात्मक टिप्पणी), मानसिक स्वास्थ्य समस्या, आफूले आफूलाई गर्ने माया र पिसिओएसबारे आफ्ना अनुभव बाँड्छिन् । पिसिओएसले प्रजनन उमेर समूहका अनुमानित ८ प्रतिशतदेखि १३ प्रतिशत महिलालाई असर पार्ने र यसका ७० प्रतिशत केसहरु पत्ता नै नलाग्ने विश्व स्वास्थ्य संगठनले बताएको छ ।

पिसिओएस सोसाइटी अफ नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा जेन दिपिका ग्यारेट । तस्बिर : यामकुमारी कंडेल, जिपिजे नेपाल । 

किशोरावस्थामा ग्यारेटको महिनावारी अनियमित थियो । धेरै मुड स्विंग र मानसिक स्वास्थ्य समस्या पनि झेलेकी थिइन् तर उनी यसका कारणबारे भने अनविज्ञ थिइन् । डाक्टरलाई भेट्न जाँदा सबै कुरा नर्मल रहेको बताउँथे ।

“तर म नर्मल थिइनँ,' ग्यारेट दर्शकलाई बताउँछिन् । 'मानसिक स्वास्थ्य समस्या र पिसिओएसको समस्या जोडिएको थियो ।'

मानिसहरुलाई विभिन्न तरिकाले असर गर्ने पिसिओएस एक हर्मोनल डिस्अर्डर हो । अनियमित महिनावारी, बाँझोपन, डन्डीफोर, वजन बढ्ने, धेरै रौं उम्रिने वा झर्ने आदि यसका लक्षणहरु हुन् । पिसिओएस हुँदा टाइप २ मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरोल बढ्ने, मुटु रोग र इन्डोमेट्रियल क्यान्सरको पनि धेरै जोखिम हुन्छ ।

पिसिओएसको कारण भने अझै पत्ता लागेको छैन तर परिवारमा टाइप २ मधुमेह भएका महिलाहरुमा यसको बढी जोखिम हुन्छ । साथै, डब्लुएचओका अनुसार, पिसिओएसलाई निको पार्न नसकिए पनि लक्षणहरुलाई भने व्यायाम, स्वस्थ्यकर खाना, गर्भ निरोधक वा अन्य औषधिद्वारा व्यवस्थापन गर्न सकिन्छ ।

ग्यारेटलाई सन् २०२० मा २० वर्षको उमेरमा पिसिओएस भएको निदान गरिएको थियो ।

“यसले ममा आशा जगायो किनभने अब मलाई समस्या के हो थाहा छ र मैले यसमा काम पनि गर्न सक्छु,” उनी भन्छिन् ।

सो कार्यक्रममा पिसिओएस भएकी १६ वर्षीया सहभागी स्वेता शाही आफ्नो अवस्थालाई ग्यारेटले सामान्य बनाइदिएको बताउँछिन् । “उनलाई भेटेर आफूलाई प्रेरित गर्न आएकी हुँ,” उनी भन्छिन् ।

पिसिओएस र डिप्रेसन

सन् २०१३ मा ग्यारेटलाई डिप्रेसनको निदान गरिएको थियो । उनले वर्षौंसम्म आत्महत्याको सोचविरुद्ध संघर्ष गरेकी थिइन् । पिसिओएस भएका महिलाहरु चार गुणा बढी डिप्रेसनको जोखिममा हुने सन् २०११ मा अब्स्टेट्रिक्स एण्ड गाइनोकोलोजी जर्नलमा प्रकाशित एक अध्ययनले बताएको छ ।

सन् २०२२ मा अधिक औषधि सेवन गरे पश्चात् ग्यारेटले निरन्तररुपमा साइकोथेरापीका सेसनहरु लिन थालिन् । चुरोट-रक्सी खान पनि छोडिन् । त्यसपछि उनले स्वतन्त्र भएको अनुभव गरिन् । बाँच्ने इच्छा जागेसँगै उनी बिहान जिम जाने र साँझमा ध्यान गर्ने गर्न थालिन् । मिस युनिभर्स बन्ने आफ्नो बाल्यकालदेखिको सपनालाई पनि उनले पछ्याउने निर्णय गरिन् ।

त्यसैले, सन् २०२३ को जुलाईमा उनले आवेदन दिइन् । त्यसको दुई महिनापछि, ५०० सहभागीहरुसँग प्रतिस्पर्धा गर्दै उनले सो ताज जितिन् । त्यसलगत्तै, एल साल्भाडोरमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि भाग लिंदै उनी ७ हजार दर्शक सामु टप २० घोषित भइन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पनि उनको स्टोरी कभर गरेका थिए । त्यसपछि उनलाई किशोरावस्थाका तीता अनुभव सबै बिलाएझैं लाग्यो ।

'लज्जाजति सबै हरायो,' उनी भन्छिन् । 'मेरो लागि यही नै सफलता हो ।'

काठमाडौंको टोखास्थित ग्राण्डी अस्पतालकी अब्स्टेट्रिक्स एण्ड गाइनोकोलोजी कन्सल्टेन्ट डा. बन्दना श्रेष्ठसँग जेन दिपिका ग्यारेट (दाँया) को फलो-अप अपोइन्टमेन्ट हुँदै । तस्बिर : यामकुमारी कंडेल, जिपिजे नेपाल । 

सानैमा पिसिओएस हुनु

पिसिओएस सोसाइटी अफ नेपालकी अध्यक्ष अचला वैद्य भन्छिन्, “जेनले पिसिओएसको समस्या सेयर गर्न थालेपछि धेरै किशोरीहरु उपचार गर्न आउन थालेका छन् ।”

नेपालमा स्त्रीरोग विशेषज्ञलाई जचाउन जाने १० मध्ये १ महिलामा पिसिओएस भेटिन्छ । तर किशोरावस्थामा पिसिओएसको निदान गर्न गाह्रो हुने गरेको छ । पिसिओएस र यौवनावस्था दुबैमा अनियमित महिनावारी र डन्डीफोरजस्ता लक्षणहरु देखिन्छन् । वैद्यको भनाइमा, १६(१७ उमेर समूहका किशोरीहरु डाएग्नोसिसको कारण समस्याको ज्यादा जोखिममा रहन्छन् । उनीहरु शरीरमा आउने रौं र सामाजिक कलङ्कसंग सम्बन्धित अन्य लक्षणका कारण समाजमा घुलमिल हुन रुचाउँदैनन् ।

तर पिसिओएसको डाएग्नोसिस छिट्टै गर्नु भने नितान्त आवश्यक छ ।

पिसिओएस एनोभुलेसन (अनियमित महिनावारी हुनु वा महिनावारी नहुनु) को सबैभन्दा सामान्य कारण र बाँझोपनको प्रमुख कारण भएको डब्लुएचओले बताएको छ । सन् २०१५ मा २८ देखि ३३ वर्षका ९ हजार महिलामा गरिएको एक अध्ययनले पिसिओएस भएका महिलामा बाँझोपन हुनसक्ने सम्भावना १५ गुणाले बढी हुने देखाएको छ ।

युनाइटेड स्टेट्स नेसनल इन्स्टिट्युट्स अफ हेल्थको सन् २०१९ को एक रिपोर्ट अनुसार, पिसिओएस भएका ५० प्रतिशतदेखि ८० प्रतिशत महिलाले इन्सुलिन प्रतिरोधको सामना गर्छन्, जसले रगतमा ग्लुकोजको मात्रा बढाउने गर्दछ । त्यस्तै, ६१ प्रतिशतमा वजन बढ्ने वा मोटोपना हुने हुन्छ भने आधालाई ४० वर्ष पुग्नुअगाडि नै मधुमेह रोग वा पूर्व(मधुमेह हुने गर्दछ । पिसिओएसले मुटु रोगको जोखिम पनि बढाउँछ ।  

मिस युनिभर्स नेपालको प्रभाव

ग्यारेटले विभिन्न विद्यालय, स्वास्थ्य संस्था र कार्यक्रमहरुमा गएर र बिरामीहरुसँग अन्तरक्रिया गरेर मानसिक स्वास्थ्य तथा पिसिओएसको बारेमा सचेतना फैलाइरहेकी छिन् । उनी टिकटक, फेसबुक र युट्युबमार्फत् आफूले आफूलाई माया गर्न प्रोत्साहित गर्छिन् । तर यो व्यापक समस्यामा बारेमा बोल्ने उनी एक्लो आवाज हुन् ।

नेपालकी सामाजिक सञ्जाल इन्फ्लुएन्सर र मिस युनिभर्स नेपाल २०२३ की निर्णायक सुरक्षा पन्त भन्छिन्, “उनले आफ्नो आवाजलाई नेपाली परिवेश र नेपालीपनसँग प्रतिध्वनि गर्न सक्छिन् कि सक्दिनन् भन्ने कुरा हेर्न बाँकी छ ।”

पिसिओएस सोसाइटी अफ नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा जेन दिपिका ग्यारेट । तस्बिर : यामकुमारी कंडेल, जिपिजे नेपाल । 

तथापि, ग्यारेटले पिसिओएस र डिप्रेसनबाट पीडित भएका, प्लस साइजका महिला र स्वयं आफूलाई पनि उत्प्रेरणा दिएकी छिन् । उनी बारम्बार दोहोर्याउँछिन्, 'मैले आफूले आफैलाई, आफ्नो शरीर र आफ्नो मनलाई माया गर्न सिकें ।'

काठमाडौंकी भगवती थापा ४८ वर्षिया प्लस साइज महिला हुन् । सामाजिक सञ्जालमा ग्यारेटको चर्चा चुलिएपछि उनले पनि आफ्नो शरीरलाई माया गर्न थालेको उनी बताउँछिन् । ग्यारेटको जितपछि उनी आफूलाई मन परेको फेशन गरेर हिंड्न थालिन् । उनी भन्छिन्, 'अब म अरुले के भन्लान् भनेर डराउन छोडेको छु ।'

(यो कथा मूल रूपमा ग्लोबल प्रेस जर्नलद्वारा प्रकाशित गरिएको थियो।)

प्रकाशित: २९ जेष्ठ २०८१ १६:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App