चौदण्डीगढी नगरपालिका ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा आन्तरिक राजश्वतर्फ १ करोड ८६ लाख ८१ हजार ५ सय ३ रुपैयाँ संकलन गरेको छ। साउनदेखि चैत अन्तिम सातासम्मको अवधिमा उक्त राजश्व संकलन भएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले विभिन्न ३२ वटा शीर्षकमार्फत राजश्व उठाउँदै आएको छ। चालु आर्थिक वर्षमा कुल ३ करोड ८ लाख ३० हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखिएकोमा हालसम्म ६० दशमलव ५९ प्रतिशत राजश्व उठिसकेको नगरपालिकाका लेखा अधिकृत महेश राना मगर ले जानकारी दिए।
उनका अनुसार सबैभन्दा बढी राजश्व “अन्य दस्तुर” शीर्षकमा संकलन भएको छ। यस शीर्षकमा हालसम्म ३६ लाख ८१ हजार ६ सय ४३ रुपैयाँ उठेको छ, जबकि नगरसभाले यसबाट ५८ लाख ४० हजार रुपैयाँ उठाउने लक्ष्य निर्धारण गरेको थियो।
त्यसैगरी, सम्पत्ति करवापत ३१ लाख १२ हजार ४ सय ९२ रुपैयाँ संकलन भएको छ। यस शीर्षकमा ४५ लाख रुपैयाँ उठाउने लक्ष्य राखिएको छ। बहाल बिरौती करवापत ३० लाख रुपैयाँ उठाउने लक्ष्य लिइएकोमा हालसम्म २४ लाख १८ हजार २ सय १० रुपैयाँ संकलन भएको छ।
प्रशासनिक दण्ड, जरिवाना तथा दस्तुर शीर्षकमा नगरपालिकाले १७ लाख ३५ हजार रुपैयाँ उठाएको छ। यो शीर्षकमा नगरसभाले ६ लाख रुपैयाँ मात्रै उठ्ने अनुमान गरेको थियो। सिफारिस दस्तुरतर्फ २५ लाख रुपैयाँ लक्ष्य राखिएकोमा १० महिना नपुग्दै १७ लाख १९ हजार ३ सय ५२ रुपैयाँ संकलन भइसकेको छ।
बहाल करवापत ९ लाख ८१ हजार ७ सय ४४ रुपैयाँ राजश्व उठेको छ। यस शीर्षकमा ८ लाख रुपैयाँ उठ्ने अनुमान गरिएको थियो। अन्य क्षेत्रको आय शीर्षकमा ९ लाख ६ हजार १ सय १० रुपैयाँ संकलन भएको छ, जुन अनुमानित ८ लाखभन्दा बढी हो।
व्यवसाय कर शीर्षकमा भने अपेक्षाअनुसार राजश्व उठ्न सकेको छैन। नगरसभाले ३० लाख रुपैयाँ उठ्ने अनुमान गरे पनि हालसम्म ९ लाख ४ हजार ७ सय रुपैयाँ मात्र संकलन भएको छ।
व्यक्तिगत घटना दर्ता शुल्कबाट ७ लाख ८० हजार ६ सय ४७ रुपैयाँ उठेको छ। यस शीर्षकमा ५ लाख रुपैयाँ मात्र उठ्ने अनुमान गरिएको थियो। नक्शापास दस्तुरतर्फ २५ लाख रुपैयाँ उठ्ने अनुमान गरिए पनि हालसम्म ६ लाख ८५ हजार २ सय ८३ रुपैयाँ मात्र संकलन भएको छ।
अन्य दस्तुर शीर्षकमा १५ लाख रुपैयाँ उठ्ने अनुमान गरिएकोमा ४ लाख ४० हजार रुपैयाँ मात्र संकलन भएको छ। अन्य प्रशासनिक सेवा शुल्कतर्फ ६ लाख ६४ हजार रुपैयाँ लक्ष्य राखिएकोमा ४ लाख ३७ हजार २ सय ५० रुपैयाँ उठेको छ।
अन्य कर शीर्षकमा ७ लाख ५० हजार रुपैयाँ उठ्ने अनुमान गरिए पनि हालसम्म ३ लाख १३ हजार १ सय रुपैयाँ मात्र संकलन भएको छ। नाता प्रमाणित दस्तुरबाट १ लाख ८६ हजार ३ सय रुपैयाँ उठेको छ भने यस शीर्षकमा ३ लाख रुपैयाँ उठाउने लक्ष्य राखिएको छ।
बेरुजु शीर्षकमा १ लाख ७३ हजार ७ सय ४२ रुपैयाँ तथा व्यवसायिक रजिस्ट्रेशन शुल्कबाट १ लाख २६ हजार २ सय २५ रुपैयाँ संकलन भएको छ। व्यवसायिक रजिस्ट्रेशन शुल्कबाट १५ लाख रुपैयाँ उठ्ने अनुमान गरिएको थियो।
नगरसभाले अनुमान गरेका केही आयस्रोतबाट भने हालसम्म कुनै पनि राजश्व संकलन हुन सकेको छैन। अखेटोपहार कर, पर्यटन शुल्क, कृषि उत्पादन बिक्री, अन्य सेवा शुल्क तथा बिक्री, पार्किङ शुल्क, रेडियो एफएम सञ्चालन शुल्क र विद्युतसम्बन्धी दस्तुर शीर्षकमा राजश्व उठ्न बाँकी रहेको नगरपालिकाले जनाएको छ।
लेखा अधिकृत मगरका अनुसार यी शीर्षकबाट चालु आर्थिक वर्षमा १२ लाख ११ हजार रुपैयाँ राजश्व प्राप्त हुने प्रक्षेपण गरिएको छ।
प्रकाशित: ३० वैशाख २०८३ १६:५७ बुधबार





