सर्लाहीको बारा उधोरणका अग्निपीडित लालबाबु राउत पछिल्ला केही दिन आफ्ना पशु चौपायासँगै रात बिताउने गरेका छन्। आगलागीबाट घर गोठ खरानी भएपछि उनीसँगै उनका पशु चौपाया पनि खुल्ला आकाश मुनी छन्।
चौपाया चोरी नहोस् भन्नका लागि पनि उनी यही सुत्नुपर्ने बाध्यता छ। उसो त यस बाहेक रात बिताउन उनीसँग अर्को कुनै विकल्प पनि छैन।
राउत भन्छन् ‘म दिनभरि जहाँ भएपनि राति भने आफैले पालेको गाईबस्तुसँगै सुत्ने गरेको छु। अरु काहीँ सुत्ने ठाउँ पनि छैन। र बस्तु चोरी हुने डर पनि उत्तिकै छ।’
आगलागीका कारण यहाँका ८० बढी घरहरू खरानी भएका छन्। यो समस्या राउतको मात्र होइन, यहाँका सबै पीडितहरूका दु:ख यस्तै यस्तै नै छन्।

स्थानीय राधादेवी तराईको चर्को घाममा मात्र त्रिपालको साहारमा दिन र रात कटाउन बाध्य छिन्। त्यही माथि गर्भवती छिन् उनी। उनका पीडा त अनेकौँ छन्। न त घाममा ओत लाग्न गतिलो ठाउँ छ न त पानी पर्दा । जब उनी आकाशमा बादल देख्छिन् तब उनलाई कहाँ ओत लाग्ने भन्ने चिन्ताले सताउँछ थाल्छ।

‘आँधी हुरी आइहाल्यो भने तत्कालै दौडेर कतै जान पनि सक्दिन’ उनी भन्छिन् ‘सुरक्षित ठाउँ खोज्न यो अवस्थामा कहाँ र कसरी जाऊँ ?’
यो ठाउँ सर्लाही जिल्लाकाे बिष्णु गाउँपालिका-१ मा पर्दछ। गाउँपालिका र रेडक्रसले उपलब्ध गराएको पाल नै यहाँका अग्निपीडितको बास र संसार बनेको छ।
गाउँपालिकाले पीडितहरूको खानालाई राष्ट्रिय प्राथमिक विद्यालयमा सार्वजनिक मेसको व्यवस्था गरिदिएको छ। बस यही मेसकाे दुई छाक खाना र चीउरा भूजाकै भरमा उनीहरुले आफ्नो भोक र प्यास मेटाइरहेका छन्।

यस वर्ष हालसम्म सर्लाहीमा १०३ भन्दा बढी घर गोठ जलेर नष्ट भएको प्रहरीको तथ्याङ्क छ। जसबाट करोडौँ भन्दा बढीको क्षति आङ्कलन गरिएको छ।

यही वैशाख २२ प्रधानमन्त्री पुष्पकमल दाहालले सर्लाहीको बलरा नगरपालिका-८ डुमरियामा आगलागी पीडितलाई गृह मन्त्रालयको विपद् व्यवस्थापन कोषबाट हरेक घरधुरीलाई पचास हजार रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा गरेका थिए।
यसै गरी पुनर्स्थापनाको लागि तीन लाख रुपैयाँ दिने सरकारले निर्णय गरेको सुनाएका थिए। तर अग्नि पीडामा रहेकाहरूसम्म अहिलेसम्म कुनै राहत पुगेको छैन। प्रधानमन्त्रीको बोलीले उनीहरुमा केही राहतको आसा पलाएपछि बिस्तारै आसा निराशमा बदलिएको छ।
बारा उधोरणका स्थानीय अगुवा हिमांशु सिंहले प्रधानमन्त्रीको रासन, भाषणमै सीमित हुन नहुने बताउँछन्। सरकार भाषणमै अल्झिरहँदा अग्निपीडित गर्भवती महिला, सुत्केरी, बालबालिका तथा ज्येष्ठ नागरिकलाई भने गर्मीले पिरोलिरहेको छ।
प्रकाशित: २९ वैशाख २०८१ १९:०५ शनिबार





