२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

कुलमानको राजीनामापछि उनले सम्हालेका तीन मन्त्रालय कसको जिम्मा?

प्रधानमन्त्री सुशीला कार्कीले कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिएपछि उनले सम्हालेका तीन मन्त्रालय अन्य तीन मन्त्रीलाई सुम्पेकी छन्। 

जेन–जी आन्दोलनपछि बनेको कार्की नेतृत्वको सरकारमा कुलमानले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय गरी तीन महत्त्वपूर्ण मन्त्रालय सम्हालेका थिए। 

यसैबिच उनी दलीय राजनीतिमा संलग्न रहेको चर्को आरोप खेप्न थालेपछि बुधवार राति राजीनामा दिएका थिए। त्यसपछि प्रधानमन्त्री कार्कीले उनले सम्हालेका तीन मन्त्रालय अन्य मन्त्रीको जिम्मा लगाएकी हुन्। जसको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई दिएपछि राष्ट्रपति पौडेलले जिम्मेवारी तोकिदिएका छन्। 

जसअनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको कार्यभार समेत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हालाई दिइएको छ। उनले कानुन, न्याय तथा संसदीय मामिला र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि जिम्मा सम्हाल्दै आएका छन्।

यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभार वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाई र सहरी विकास मन्त्रालयको कार्यभार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामलाई दिइएको छ। 

प्रकाशित: २४ पुस २०८२ १९:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App