१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

विशेष महाधिवेशनको आह्वान फिर्ता हुँदैन, सभापति पनि सहभागी हुनुपर्छ: थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुस २७ र २८ गतेका लागि आह्वान गरिएको विशेष महाधिवेशन कुनै पनि हालतमा फिर्ता नहुने स्पष्ट पारेका छन्।

बिहीबार साँझ पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पार्टी सभापति शेरबहादुर देउवालाई पनि उक्त महाधिवेशनमा सहभागी हुन आग्रह गरेका हुन्।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन औपचारिक अपिल गर्ने निर्णय गरे पनि महामन्त्री थापाले त्यसलाई अस्वीकार गर्दै महाधिवेशन तोकिएकै मितिमा हुने बताए।

उनले भने, ‘यो महाधिवेशन विधानसम्मत छ। ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरिसकेपछि यसलाई रोक्ने वा फिर्ता लिन लगाउने अधिकार कसैलाई छैन।’

महामन्त्री थापाले विशेष महाधिवेशनलाई सभापतिविरुद्धको कदमका रूपमा नबुझ्न आग्रह गर्दै सभापति देउवा स्वयं उपस्थित भएर यसको अपनत्व लिनुपर्ने बताए।

‘यो पार्टीकै साथीहरूले गरेको आयोजना हो, विधानसम्मत आयोजना हो। त्यसैले पार्टी सभापतिज्यूले यो कुरा बुझिदिनुहोला भन्ने हाम्रो अपेक्षा छ,’ थापाले भने, ‘म आग्रह गर्छु, पुस २७ गते हुने विशेष महाधिवेशनमा सभापतिज्यू पनि सहभागी हुनुहोस्। त्यहाँ सहभागी हुँदा उहाँको मान घट्दैन, बरु बढ्छ।’

उनले विशेष महाधिवेशनको माग गर्ने पक्ष आफूहरू नभई महाधिवेशन प्रतिनिधिहरू भएको र उनीहरूको माग जायज रहेको दाबी गरे।

‘केन्द्रले नबोलाएको अवस्थामा साथीहरूले आफ्नो अधिकार प्रयोग गर्नुभएको हो। यसलाई पार्टी केन्द्रले स्वीकार गरेर जानु नै बुद्धिमानी हुन्छ,’ उनले थपे।

बैठकमा विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन गरिएको प्रस्तावमा महामन्त्री थापा र सहमहामन्त्री फरमुल्लाह मन्सुरले ‘नोट अफ डिसेन्ट’ लेखेका छन्। नियमित महाधिवेशनको कार्यतालिका आएपछि विशेष महाधिवेशन आवश्यक छैन भन्ने तर्क विधानको अपव्याख्या भएको थापाको जिकिर छ।

‘नियमित महाधिवेशन मंसिरमा गर्न नसक्ने अनि विशेष महाधिवेशन पनि गर्न पाइँदैन भन्नु विधानको खिलाफ हो,’ उनले भने, ‘देशको परिस्थिति र नागरिकको असन्तुष्टिलाई सम्बोधन गर्न नीति र नेतृत्व फेर्ने उद्देश्यले यो महाधिवेशन हुन लागेको हो, यो फिर्ता हुँदैन।’

विशेष महाधिवेशनले पार्टी फुट्छ भन्ने तर्कबारे महामन्त्री थापाले भने, ‘हामी पार्टी फुटाउन होइन, जुटाउन लागेका हौं। कार्यकर्ताको भावना नसुन्दा पो पार्टी फुट्ने खतरा हुन्छ। विधि र विधान मान्दा पार्टी बलियो हुन्छ।’

उनले पुस २७ गते हुने विशेष महाधिवेशनमा सहभागी हुन देशभरका प्रतिनिधिलाई आह्वान समेत गरेका छन्।

प्रकाशित: २४ पुस २०८२ २०:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App