६ माघ २०८२ मंगलबार
image/svg+xml
समाज

गिद्ध संरक्षणमा विषालु औषधि नियन्त्रण अनिवार्य

प्रकृतिको कुचीकार मानिने गिद्धको संरक्षणका लागि विषालु औषधिको कडाईका साथ नियन्त्रण गर्नु आवश्यक रहेकोमा जोड दिइएको छ।

नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन, जिल्ला कार्यसमिति कपिलवस्तु, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहकार्यमा र बर्ड कन्जर्भेसन नेपालको आयोजनामा भएको कार्यक्रममा गिद्धको जीवन संकटमा परेको मुख्य कारण डाईक्लोफेमिन र मानवीय अतिक्रमण भएको बताइएको छ।

सरकारले गिद्ध संरक्षणका लागि पशु उपचारमा प्रयोग हुने डाईक्लोफेमिनको उत्पादन, बिक्री–बितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ। जिल्ला १२ वर्षअघि नै डाईक्लोफेमिनमुक्त क्षेत्र घोषणा गरिएको थियो। तर अझै केही कृषकले आफ्ना पशुलाई उक्त औषधि प्रयोग गराइरहेको पाइन्छ।

एसोसिएसन कपिलवस्तुका जिल्ला अध्यक्ष परमेश्वर यादवका अनुसार नेपाल सरकारले प्रतिबन्ध लगाएका औषधिको ९५ प्रतिशत प्रयोग नियन्त्रणमा आएको छ। तर पनि जोखिम अझै कायम रहेको र निरन्तर अनुगमन तथा सबै पक्षको सहकार्य आवश्यक रहेको उनले बताए।

डिभिजन वन कार्यालयका वन अधिकृत जयप्रकाश गुप्ताले सिनोमा विष प्रयोग, विद्युत् प्रसारण लाइन, मानवीय गतिविधि, डढेलो, हावाहुरी र रोगका कारण गिद्धको जीवन संकटमा परेको उल्लेख गरे।

पन्छी संरक्षण संघका कार्यक्रम अधिकृत भूपाल नेपालीले सन् २००९ देखि गिद्ध संरक्षण कार्ययोजना कार्यान्वयनमा आएको जानकारी दिए। सन् २०१७ देखि सुरु गरिएको गिद्ध स्वास्थ्य परीक्षण र स्याटेलाइट ट्यागिङले गिद्धको अवस्थाको अध्ययन सहज बनाएको छ। सुरक्षित मापदण्ड पूरा भएपछि गण्डकी र लुम्बिनी क्षेत्रलाई विश्वकै पहिलो गिद्ध सुरक्षित क्षेत्र घोषणा गरिएको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रकी डा. उर्मिला भट्टराईले विषालु औषधिले गिद्धको कलेजो र मिर्गौलामा गम्भीर असर पुर्‍याउने भएकाले पशु उपचारमा सुरक्षित औषधिको प्रयोग आवश्यक रहेको बताइन्।

कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि अधिकृत शिवलाल घिमिरेले गिद्ध संरक्षणकालागि सचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिए। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख सुकई प्रसाद थारुले गिद्ध प्रकृतिको कुचीकार भएकोले वातावरणीय सन्तुलन, सार्वजनिक स्वास्थ्य र जैविक विविधता संरक्षणमा महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरे।

कार्यक्रममा पालिकाका पशु शाखा प्रमुख, प्रतिनिधि, एग्रोभेट सञ्चालक लगायत सहभागी थिए।

सामान्यतया एउटा गिद्ध तीन दिनमा १ किलो सिनो खाने र वर्षमा करिब १ सय २० किलो सिनो खाएर वातावरण सफा राख्न सहयोग गर्छ।

विश्वमा करिब २३ प्रजातिका गिद्ध पाइन्छन्, जसमा दक्षिण एशियामा ९ र नेपालमा ९ प्रजाती भेटिन्छन्। नेपालमा पाइने गिद्ध प्रजाति: सानो खैरो, राज, हिमाली, खैरो, हाडफोर, डंगर, सुन र गोब्रे हुन्। जसमध्ये डंगर, सानो खैरो, लामो ठुडे र सुन गिद्ध अति संकटपूर्ण अवस्थामा छन्।

प्रकाशित: २४ पुस २०८२ २०:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App