६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

टिपताला नाका खुल्ने भएपछि तिब्बततर्फ जान १ सय १० जनाले लिए यात्रा अनुमति

वैशाख २५ गतेबाट खुल्ला हुने उत्तरी क्षेत्रको टिपताला नाका हुुँदै तिब्बत प्रवेशका लागि १ सय १० जना नेपालीहरुले अनुमति लिएका छन्। ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जिल्ला प्रशासन कार्यालयबाट दुई गाउँपालिकाका तीनवटा वडाका १ सय १० जनाले अनुमति लिएको जानकारी दिए।

उनका अनुसार अहिले सम्म फक्ताङ्लुङ गाउँपालिकाको वडा नं ७ ओलाङचुङगोला,वडा नं ६ लेलेप र मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङका नागरिकले अनुमति लिएका छन्। टिपताला नाका कोरोना संक्रमण पछि बन्द छ। कोरोना संक्रमण पछि बन्द रहेको नाका चीनको स्वशासित क्षेत्र तिब्बतले खुलाएको थिएन।

प्रजिअ आचार्यका अनुसार नेपाली पक्षबाट यो नाका बन्द नभएकोले तिब्बती नागरिकले त्यहाँको सरकारबाट अनुमति लिएर नेपाली क्षेत्र प्रवेश गर्न सक्ने वातावरण भने खुल्लै थियो। तिब्बत सरकारबाट नाका बन्द कायम रहेकोले आवात–जावत भने हुन सकेको थिएन। प्रजिअ आचार्यको नेतृत्वमा ५ हजार १ सय मिटर उचाईको नेपाल–चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानाका टिपताला पुगेको नेपाली अधिकारीको टोलीले नाका सञ्चालन र यातायात सहजताका बिषयमा त्यहाँका अधिकारीसँग छलफल पनि गरेको छ।

७ मे अर्थात् वैशाख २५ बाट टिपताला नाका सञ्चालन हुने प्रतिबद्धता उहाँहरुका तर्फबाट व्यक्त भएको छ’ तिब्बतको डिङजी काउन्टी सरकारका अधिकारीप्रति संकेत गर्दै प्रजिअ आचार्यले भने। 

उनले सोही अनुसार तिब्बत प्रवेश गर्न चाहने नागरिकहरुका लागि यात्रा अनुमति प्रदान भएको समेत जानकारी दिए। फक्ताङलुङ गाउँपालिका वडा नं ७ का वडाध्यक्ष छेतेन लामा शेर्पाले नाका खुल्ला भएको पहिलो दिननै ३० जना नेपालीहरु तिब्बततर्फ जाने तयारीमा रहेको सुनाए। 

अनुमति लिएकाहरुले अनुमति अवधि सम्ममा आवत–जावत गर्न पाउने भएकोले अनुकूल समय मिलाएर यात्रा तय गर्ने शेर्पाले जानकारी दिए। तिब्बती अधिकारीका विश्वासपात्र र दोभाषे समेत रहेका वडाध्यक्ष शेर्पा बन्द नाका खुल्ला हुने पहिलो दिन आफैं टिपताला सम्म जाँदै छन्। लामो समय देखि बन्द रहेको नाका खुलेर आवत–जावत सुरु हुने खुसीमा स्थानीय नागरिकसंग आफुहरु पनि सँगै टिपताला पुग्ने उनले जानकारी दिए। 

ओलाङचुङगोला,लेलेप र पापुङमा गरी करिव २४ जना नागरिक नाका बन्दका कारण लामो समय देखि आफ्नो माइतीघर सम्म जान पाएका छैनन्। टिपताला पुगेर शनिबार राति मात्र फुङलिङ आइपुगेका प्रजिअ आचार्यले टिपताला नेपाल–तिब्बतको महत्वको व्यवसायिक नाका समेत भएकोले द्धिदेशीय व्यपार प्रवद्र्धनमा समेत यो नाकालाई भरपूर उपयोग गर्नुपर्ने बताउँछन्। 

‘व्यवसायिक हिसावले यो नाका महत्वको छ,यसलाई उपयोग गर्नेगरी सबै पक्षबाट सहयोग र समन्वय जरुरी छ’उनले भने। 

प्रकाशित: २३ वैशाख २०८१ १५:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App