मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँगको सहकार्य र साथ अनिवार्य रहेको सरोकारवालाले बताएका छन्। मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्र सँगसँगै हिँड्नुपर्ने बताए। नेपाल उद्योग वाणिज्य महासंघ ५९ औं वार्षिक साधारणसभा तथा उद्योग दिवसको अवसरमा बोल्ने वक्ताहरूले यस्तो धारणा राखेका हुन्।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक विकास र समृद्धिका लागि सरकार र निजी क्षेत्र सँगसँगै रहेको बताए। सरकार निजी क्षेत्रसँग साझेदारीमा काम गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको धारणा प्रधानमन्त्रीले व्यक्त गरे। ‘निजी क्षेत्रकै सुझावका आधारमा पछिल्ला नीतिगत सुधारहरू गरेका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘देश विकास सबै मिलेर गर्ने हो।’
लगानीको वातावरण सुधार गर्न विभिन्न कानुनमा परिवर्तन गरेको र स्वदेशी तथा विदेशी लगानीकर्ताको विश्वास बढेको प्रधानमन्त्रीले बताए।
प्रधानन्त्री ओलीले देश विकासको लागि सरकारको एकल प्रयास मात्र पर्याप्त नहुने बताउँदै महासंघको पहलमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडिपिएल) कम्पनी स्थापना राम्रो सराहनीय कुरा भएको बताए।
ओलीले निजी क्षेत्रको छाता संगठनको रूपमा रहेको महासंघले औद्योगिक तथा व्यावसायिक समुदायको व्यवसाय प्रवद्र्धनमा मात्र नभई नेपालको आर्थिक विकास र समृद्धिलाई अघि बढाउन आफ्नो सक्रिय भूमिका निर्वाह गरेको धारणा राखे।
कार्यक्रममा परराष्ट मन्त्री आरजु राणा देउवाले सिंगो सरकार नै देशको समग्र आर्थिक विकास र समृद्धिका लागि काम गरिरहेको बताइन्। देउवाले मुलुकको आर्थिक विकासका लागि औद्योगिक विकास अपरिहार्य रहेको उल्लेख गर्दै नेपालको तुलनात्मक लाभ भएका र प्रतिस्पर्धी क्षमता भएका वस्तु तथा सेवाहरूको उत्पादन, उत्पादकत्व तथा निर्यात वृद्धि गर्ने प्रमुख उद्देश्य राखेर काम गर्नुपर्ने धारणा राखिन्।
‘सरकार र निजी क्षेत्र मिलेर देशभित्र भएका स्रोत साधनको अधिकतम प्रयोग गरी विकासको गति तीव्र बनाउनुपर्छ,’ उनले भनिन्।
कार्यक्रममा वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योग क्षेत्रको विकास सरकारको उच्च प्राथमिकतामा रहेको बताए। मन्त्री भण्डारीले विकास र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताए।
कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्नेे धारणा राखे। सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न निजी क्षेत्रले निर्वाध रूपमा काम गर्न पाउने विषय पहिलो प्राथमिकता हुनुपर्ने बताए। ‘अर्थतन्त्र, विकास र समृद्धिमा राजनीतिक दलहरूको साझा धारणा बनाउनु पर्छ,’ ढकालले भने, ‘नीति तथा कार्यक्रम एवम् बजेटलाई सुधारको प्रस्थान बिन्दुका रूपमा ल्याउनु पर्छ।’
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सरकारले निजी क्षेत्रलाई साक्षी मात्र होइन सहयात्रीको रूपमा लिनुपर्ने बताए। उनले आर्थिक समृद्धिका लागि निजी क्षेत्रको सहकार्य अपरिहार्य भएको बताउँदै सरकारले गरेका नीतिगत सुधार सकारात्मक भए पनि कार्यान्वयनमा हुने ढिलासुस्तिले विश्वासमा संकट आउने गरेको धारणा राखे।
संस्था तथा व्यक्ति सम्मानित
महासंघको साधारणसभाको अवसरमा विभिन्न व्यक्ति तथा संस्था सम्मानित भएका छन्। पाँचथर, पर्वत र चितवन उद्योग वाणिज्य संघ सम्मानित भएका छन्। त्यसैगरी संस्थागत सामाजिक उत्तरदायित्वमा उल्लेखनीय भूमिका निर्वाह गरेबापत सिन्धुली उद्योग वाणिज्य संघलाई सम्मान गर्न सिफारिस गरिएको छ।
वस्तुगत समूहबाट उत्कृट देखिएको नेपाल हस्तकला महासंघ, द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट नेपाल–भारत उद्योग वाणिज्य संघ महासंघका प्रादेशिक शाखाहरूमध्ये उत्कृष्ट देखिएको ‘नेपाल उद्योग वाणिज्य महासंघ, कोसी प्रदेश, वस्तु निर्यातको कारोबार गर्ने मध्येबाट डावर नेपाल प्रालि, बैंक वित्तीय संस्था र बिमाको कारोबार गर्नेमध्ये नविल बैंक लिमिटेड, पर्यटन व्यवसाय गर्नेमध्ये तारागाउँ रिजेन्सी होटल लिमिटेड, वस्तु व्यापारको कारोबार गर्नेमध्ये भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालि, ऊर्जामूलक उद्योगमध्ये भोटेकोसी पावर कम्पनी प्रालि, रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोबार गर्नेमध्ये सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालि, विशेष उद्योगहरू मध्ये वरूण वेभरेज नेपाल प्रालि सम्मानित भएका छन्।
यसैगरी महासंघमा २५ वर्ष सेवा अवधि पूरा गरेका निर्देशक सूर्यराज पौडेल र उपनिर्देशक विदुरचन्द्र लामिछानेलाई प्रशंसा पत्र प्रदान गरिएको थियो।
प्रकाशित: २९ चैत्र २०८१ १०:१८ शुक्रबार





