१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

यार्सा पाटनमै घुम्ती विद्यालय

बहुमूल्य जडीबुटी यार्सा गुम्बा संकलन गर्न जाने विद्यार्थीहरूका लागि यार्सा पाटनमै घुम्ती शिक्षा प्रदान गरिने भएको छ। यार्सा गुम्बा संकलनको समयमा अधिकांश विद्यार्थी पाटनतिर हुने भएकाले उनीहरूको पढाइ नियमित गर्न डोल्पाको काइके गाउँपालिकाले पाटन क्षेत्रमै घुम्ती विद्यालय सञ्चालन गर्ने भएको हो।

यस वर्ष यार्सा पाटनमा चार घुम्ती विद्यालय सञ्चालन हुने छन्। गत वर्ष परीक्षणका रूपमा सञ्चालन गरिएका घुम्ती विद्यालयको प्रभाव राम्रो देखिएपछि यस वर्ष विस्तारसहित निरन्तरता दिइएको काइके गाउँपालिका शिक्षा शाखाले जनाएको छ।

यार्सागुम्बा संकलन गर्ने समयमा विद्यालय खाली गरेर विद्यार्थी पाटन जाने भएकाले पाटनमै उनीहरूलाई शिक्षा प्रदान गरिने शिक्षा शाखा प्रमुख गोविन्द घर्तीले बताए। ‘यार्सा टिप्ने समयमा विद्यालयमा विद्यार्थी भेटिंदैनन्,’ उनले भने, ‘त्यसैले पाटनमा घुम्ती कक्षा सञ्चालन गर्न थालिएको हो।’

यो समयमा कतिपय विद्यालय त झन् बन्द नै हुने गरेका छन्। गत वर्ष तीन घुम्ती विद्यालय सञ्चालन गरेको काइके गाउँपालिकाले यस वर्ष चारवटा सञ्चालन गर्ने निर्णय गरेको छ। ‘पाटनमा त्रिपालले बारेर विद्यालय बनाउँछौं,’ उनी भन्छन्, ‘यसमा विद्यार्थीको उत्साहपूर्ण सहभागिता हुन्छ।’

दैनिक एक घण्टा घुम्ती विद्यालय सञ्चालन हुने उनको भनाइ छ। यसका लागि निश्चित पारिश्रमिक दिएर स्वयसेवक शिक्षक भर्ना गरिने छ। पालिकाको सशर्त अनुदान बजेटबाट घुम्ती विद्यालय सञ्चालनको तयारी भएको बताइएको छ।

जेठ पहिलो सातादेखि विद्यालय सञ्चालन हुने जानकारी दिंदै उनले भने, ‘एक महिनासम्म पाटनमा बस्दा यसअघि पढाएका कुरा बिर्सिन सक्ने भएकाले पाटनमा उनीहको पढाइ नियमित गराउन खोजिएको हो।’

घुम्ती विद्यालयमा १ देखि ५ कक्षासम्मको पढाइ हुने छ। ‘१ देखि ५ कक्षासम्मका विद्यार्थीलाई मात्र पढाउन सकिन्छ,’ उनले भने, ‘त्योभन्दा माथि कक्षाका विद्यार्थीलाई पढाउन कठिन छ।’

वैशाख तेस्रो सातादेखि नै यार्सा संकलक पाटन जान्छन्। ‘सानो कक्षाका विद्यार्थी यार्सा संकलनका लागि जान त सक्दैनन्,’ उनी भन्छन्, ‘उनीहरूलाई लिएर अभिभावक पाटन जाने गर्छन्।’

घुम्ती विद्यालयमा विद्यार्थीका लागि कापी, कलम लगायतका शैक्षिक सामग्री पालिकाले नै सहयोग गर्ने उनको भनाइ छ। गत वर्ष यहाँ सञ्चालन गरिएका तीन घुम्ती विद्यालयमा एक सय ८० विद्यार्थी सहभागी थिए।

प्रकाशित: ६ वैशाख २०८१ १०:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App