१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

भेपले हृदयघात

यस्ताे पनि!

इ-सिगरेट (भेप)को अत्यधिक प्रयोगले १९ प्रतिशतले हृदयघात   बढाउने अमेरिकामा गरिएको एक अध्ययनले देखाएको छ। अमेरिकाका एक लाख ७५ हजार वयस्कमाझ गरिएको अध्ययनले सो खतरा देखाएको हो। त्यसो त यस्तो खतरा अन्य विषयले पनि हुन्छ तर अन्य खतराका ती सूचकहरू घटाउँदै जाँदा र भेपले ल्याउने खतरा मूल्याङ्कन गर्दा यस्तो प्रतिशत देखिएको हो। धूमपान गर्ने र मोटोपनको शिकार व्यक्तिलाई जस्तै भेप प्रयोगकर्ताहरूलाई पनि हृदयघात हुने देखिएको हो।

हृदयघात उपचार गर्न नसकिने एउटा समस्या हो। यो समस्याले रगतलाई शरीरभरि फैलाउन मुटु असफल हुन्छ र त्यस्ता व्यक्तिको मृत्यु हुने सम्भावना हुन्छ। इसिगरेटको नियमित प्रयोगले रक्तसञ्चार प्रणालीमा दबाब बढाउने, रक्तचाप बढ्ने, मुटुको धडकनको दर बढ्ने, मुटुका पर्खालहरू कडा बनाउने र यसले लचकता घटाउने समस्या बढाउँछ।

अत्यधिक इसिगरेटको प्रयोगले लामो समयसम्म स्वास्थ्यमा असर पुर्‍याउने भएपछि अमेरिकी सरकारले यसमा प्रतिबन्ध लगाउने र हालसम्म उत्पादित भेपलाई नष्ट गर्ने आदेश दिएको छ। यस्ता भेपहरू विभिन्न स्वादमा पनि निकालिने भएका कारण तत्काल त्यस्ता कुरामा प्रतिबन्ध लगाउनसमेत भेप कमपनीहरूलाई सरकारले आदेश दिएको द टाइम्सले जनाएको छ।

द टाइम्सले सुर्ती उद्योगहरूले वर्षौंसम्म भेप खपतका खतराहरूलाई लुकाउन भूमिका खेलियो भन्नेबारे खुलासा गरेर लेखेको थियो। त्यसपछि स्वास्थ्य मन्त्रालय लगायतले यसलाई प्रतिबन्ध लगाउन दबाब सिर्जना गरेको थियो। भेपको खराबीका बारेमा पछिल्ला समयमा धेरै वटा खतरनाक परिणाम देखिएका छन्।

धूमपानको विकल्पमा बजारीकरण गर्दा यो धूमपानजस्तो खतरनाक नहोला भन्ने अपेक्षा गरिएको डा. याकुबु बेनी अल हसनले बताए। उनी अमेरिकाको बाल्टिमोरस्थित मेडस्टार हेल्थका अनुसन्धानकर्ता हुन्।

उनी भन्छन्, ‘भेप प्रयोगको खतरा देखिँदै गर्दा हामीले अहिल्यै यसमाथि प्रतिबन्ध लगाएनौँ भने भविष्यमा यस्तो समस्या नियन्त्रणबाहिर जान सक्छ भन्ने देखिइसक्यो।’

चार वर्षमा एक लाख ७५ हजार ६ सय ६७ जना ५२ वर्ष उमेर समूहका वयस्क अमेरिकीको स्वास्थ्य परीक्षण गर्दा विगत चार वर्ष तिनको स्वास्थ्य नियमित जाँच गर्दा हृदयघातको समस्या ३ हजार दुई सय ४२ जनामा देखिएको थियो। यी सबैमा देखिएको हृदयघात एकै किसिमको अर्थात मुटु अररो हुँदा रगतलाई राम्रोसँग सर्वत्र फैलाउन नसक्ने समस्या देखिएको थियो।

बेलायतमा वार्षिक १० लाखभन्दा बढीमा हृदयघातको समस्या देखिन्छ। यहाँ ४५ लाखले भेप प्रयोग गर्छन्। तीमध्ये अधिकांश १६ देखि २४ वर्षको उमेरमा यसको कुलतमा पर्ने गर्छन्। भेपले धूमपानले झैँ फोक्सोको क्यान्सर बनाउने समस्या देखिएको थियो।

भेपमा निकोटिनको मात्रा उच्च हुने हुँदा यसले मुटुको गति तीव्र बनाउने गरेको देखिएको छ। भेपमाथि यो सबैभन्दा बढी संख्यामा र वृहद् स्तरमा भएको अध्ययन भएको ब्रिटिस हार्ट फाउन्डेसनका जेम्स लेपर बताउँछन्।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: २२ चैत्र २०८० ०७:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App